
जंगली जनावरबाट मकै बाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी १३ वर्षीया बालिकाको मृत्यु भएको ठहरसहित धराप थापेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
सिराहाको गोलबजार नगरपालिका– ९ गोविन्दपुर गाउँका करिब २४ वर्षीय वीरबहादुर सार्कीलाई बालिकाको शव भेटिएको १३औँ दिन २४ चैतमा पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत सिराहाबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।
गत २९ फागुन बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलिकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदाले १ चैतमा खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो । सडेगले पनि मृतककी काका पर्ने सफिजुल रहमानले पहिचान र सनाखत गरिदिएका थिए । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो ।
त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली, मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानको क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रुपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ ।
अनुसन्धानको क्रममा २९ फागुनको बिहान करिब ९ बजेतिर सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ । घटनापछि खैरो कालो सल, कुर्ता–सुरुवाल लगाएकी बालिका तारनजिक लडिरहेको र नजिकै हँसिया, रातो चप्पल, नीलो रंगको बोरा भेटिएपछि सार्कीले बोरामा हालेर शवलाई घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।