
हाम्रा सहायताकर्मी आघातसँग जुध्न तालिमप्राप्त छन्, तर आफ्नै कामकै कारण उनीहरू आघात भोग्न बाध्य छन्
सबैभन्दा भयावह अवस्था कुन थियो होला ? बेपत्ता भएपछि सात दिनसम्मको पीडादायक प्रतीक्षा वा शव फेला परेको पुष्टि हुँदा वा त्यसयता सुनिएको उनीहरूको भयावह मृत्यु विवरण ? हाम्रा सहकर्मीका शव एम्बुलेन्सले किचिएका थिए, आंशिक रूपमा गाडिएका थिए, उनीहरूका शरीर रेड क्रेसेन्टको भेस्टमै फेला परे । वास्तवमा उनीहरूको जीवनमा जोगाउने यो भेष मृत्युको कफन नै बन्यो । मुस्तफा खुुफागा, सालेह मुआमर, एज्जेदिन, मोहम्मद बहलुल, मोहम्मद अल–हेइला, असरफ अबु लाब्दा, रायद अल–सरिफ र रिफात रदवान यी सबै समर्पित मानवीय सहायताकर्मी थिए । त्यसैगरी, असआद अल–नसास्रालगायत सहायताकर्मी अझै बेपत्ता छन् । निःसन्देह युद्धविरामपछिको गाजा खतरनाक छ । तर, यी सहकर्मी लापरवाह थिएनन् । उनीहरूले रेड क्रेसेन्ट चिह्नले आफू सुरक्षित हुने विश्वास गरेका थिए । तर, त्यो विश्वास भयावह रूपमा गलत साबित भयो । गाजामा भएका यी दर्दनाक मृत्यु एक विश्वव्यापी संकटका संकेत हुन् जहाँ मानवीय सहायता कार्यकर्ता थप जोखिममा छन् । तर, अब यो प्रवृत्ति अब रोकिनुपर्छ ।
विश्वव्यापी मानवीय महासंघ अर्थात् एक सय ९१ रेडक्रस र रेड क्रेसेन्ट संस्थाको सञ्जाल जसमा एक करोड ६० लाखभन्दा बढी कर्मचारी र स्वयंसेवक छन् त्यसको महासचिवका हैसियतले म आघातप्रति अपरिचित छैन । मानिसलाई संकटको तयारी गराउन र संकट आउँदा त्यसको सामना गर्न मद्दत गर्नु नै हाम्रो काम हो । अहिले म्यानमार रेडक्रसका हजारौँ सहकर्मीले भूकम्पपछि तुरुन्तै आवश्यक पर्ने सहयोग पुर्याइरहेका छन् । रुस र युक्रेनमा हाम्रा सदस्यले दुवै पक्षका पीडितलाई सहयोग गरिरहेका छन् ।
हाम्रा स्वास्थ्यकर्मी र सहायताकर्मी आघातसँग जुध्न तालिमप्राप्त छन्, तर आफ्नो कामका कारण उनीहरू आघात भोग्न बाध्य छन् । अन्तर्राष्ट्रिय मानवीय कानुनले स्वास्थ्यकर्मी र सहायता कार्यकर्तालाई जोगाउन माग गर्छ, तर तिनैमाथि आक्रमण बढ्दै गएका छन् । सन् २०२३ मा दुई सय ८० सहायता कार्यकर्ता मारिए, तीमध्ये १८ जना हाम्रो सञ्जालका थिए । गत वर्ष तीन सय ८२ को मृत्यु भयो, जसमा ३२ जना रेडक्रस वा रेड क्रेसेन्टका थिए र गत वर्ष १८ जना प्यालेस्टाइन र आठजना सुडानमा मारिए । यो वर्ष स्थिति थप भयावह देखिँदै छ । यी मृत्युलाई सामान्य ठान्न सकिन्न, न त यिनलाई ‘जोखिमको हिस्सा’ भनेर स्विकार्नै सकिन्छ । गत महिना देखिएको सार्वजनिक आक्रोश स्वागतयोग्य छ, तर अब ठोस कदम चाल्न जरुरी छ । पहिलो जताततै र जतिवेला पनि कुनै पनि सहायता कार्यकर्ता मारिँदा त्यस्तै महत्व दिइनुपर्छ चाहे उनी स्थानीय हुन् वा अन्तर्राष्ट्रिय । स्थानीय कार्यकर्ताको मृत्युमा प्रायः कम ध्यान दिइन्छ । दोस्रो सरकार जिम्मेवार ठहरिनुपर्छ । यी सरकार कानुनी रूपमा नागरिक र सहायता कार्यकर्तालाई जोगाउन बाध्य छन् । नियत होस् वा लापरबाही, सहायता गर्न खोज्ने मानवीय कार्यकर्ताको हत्या गर्नेलाई दण्डित गरिनुपर्छ । तेस्रो, अन्य सरकारले यस्ता हत्या रोक्न कूटनीतिक र राजनीतिक दबाब दिनुपर्छ ।
यस साताको सुरुवातमा प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका नेता वेस्ट ब्यांकबाट न्युयोर्क गएका छन्, जहाँ यिनले राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफ्नो अवस्थाबारे जानकारी दिएका छन् र मानवीय सहायता कार्यकर्ताको सुरक्षाका लागि कडा माग गरेका छन् । जेनेभामा मैले सरकारहरूसँग सार्वजनिक एवं निजी रूपमा गरेको संवादमा ‘मानवताको संरक्षण’लाई केन्द्रमा राखेको छु । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रेसेन्ट महासंघ (आइएफआरसी)मा हामी एक नाजुक सन्तुलनमा हिँडिरहेका हुन्छौँ । तटस्थता र निष्पक्षता हाम्रो संगठनको संविधानमा उल्लिखित आधारभूत मूल्य हुन् । तीबाट विचलित हुँदा हाम्रो काम प्रभावित हुन सक्छ । हाम्रो काम कारणतर्फ औँला ठड्याउनु होइन, बरु परिणाम व्यवस्थापन गर्नु हो । गाजाको जस्तै भयावह परिस्थिति होस् वा १८ महिनाअघि इजरायलमा भएको घटनाजस्तै म वा मेरो संस्थाले कसैलाई, कुनै समूह, संस्था वा सरकारलाई दोषारोपण गर्दैनौँ ।
यस लेखमा मैले कसैलाई दोष दिएको छैन । किन ? किनभने हामी हाम्रो सिद्धान्तमा दृढ रहन्छौँ, ठिक त्यसैगरी जसरी हामी अरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न आग्रह गर्छौँ । हाम्रो तटस्थता र निष्पक्षताले नै हाम्रो न्यायको मागलाई थप बलियो बनाउँछ । र, निश्चित रूपमा हामी न्यायको माग गर्छौँ । गाजामा स्वतन्त्र अनुसन्धानकर्तालाई पूर्ण पहुँच दिइनुपर्छ चाहे त्यो असहज नै किन नहोस् । मर्नेप्रति सम्मान जनाउने उपाय भनेको हत्यारालाई जवाफदेही बनाउनु हो । कुनै ठाउँमा दण्डहीनता स्विकारियो भने त्यो प्रवृत्ति अन्य ठाउँमा पनि फैलिन्छ, तसर्थ यसलाई कहिल्यै स्विकार्न सकिँदैन ।
अतः साता मैले र आइएफआरसीका अध्यक्षले कंगो र सिरियामा मारिएका हाम्रा सदस्यका परिवारलाई समवेदना पत्र पठायौँ । युरोपियन युनियन समर्थित रेड फ्यामिली फन्डमार्फत सानो आर्थिक सहयोग पनि प्रस्ताव गरेका थियौँ । वास्तवमा हामी आर्थिक सहयोगको आवश्यकता नै नपरोस् भन्ने चाहन्छौँ । चाँडै गाजाका शोकमा रहेका परिवारलाई पनि यस्तै पत्र पठाइनेछ । र, ढिला पुग्ने समवेदनापत्र पनि अपर्याप्त छ । साँचो परिवर्तन त त्यतिवेला आउँछ जब अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति भइरहेको अवहेलना रोकिन्छ ।
(चापागाईं अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रेसेन्ट महासंघका महासचिव हुन्)
द गार्डियनबाट