
खैरो पाइन्ट, निलो सर्ट अनि स्टकोटको खल्तीमा टाँसिएका कालो र रातो कलम । यिनै पहिचानसहित टाउकोमा सिउरिएको कागजको बुट्टेटोपी । टोपीकै बुट्टामा ठुला अक्षरमा लेखिएको छ– हाम्रो माग पूरा होस्, शिक्षक आन्दोलन जिन्दावाद !
शिक्षक देवेनप्रसाद साह जादु देखाउँदै भिडको बिचमा चम्किरहेका छन् । उनी कुनै रंगमञ्चका कलाकारजस्ता देखिन्छन्, तर यो कुनै नाटकचाहिँ होइन । यो शिक्षकमाथिको बेवास्ताविरुद्धको संघर्षको स्वरूप हो ।
शिक्षक आन्दोलनको छैटौँ दिन सोमबार पनि उनले आफ्नो कला देखाए । जादु देख्ने भिड सडकमै उम्लियो । उनी शिक्षक आन्दोलनका ‘पोस्टरम्यान’ भइसकेका छन् ।
मधेशी लवजमा मिठो नेपाली भाषा उनको कलामा भिड बटुल्ने अर्को शक्ति हो । उनको जादु हेर्न मात्र होइन, सुन्न पनि भिड जम्मा हुन्छ । त्यसमाथि ‘शिक्षकको कलममा ताकत छ !’ साहको यो वाक्यले झन् धेरैको ध्यान तान्छ । साथी शिक्षकहरू त झन् उनका फ्यानजस्तै । हिँड्ने बाटोका यात्रु पनि रोकिन्छन्, मोबाइल निकालेर भिडियो बनाउन थाल्छन् ।
साह बिहान ११ बजेदेखि जादु देखाउन थाल्छन्, यो उनको दैनिकी हो । बिचबिचमा सरकारमाथि व्यंग्य गरिन्छ । ती व्यंग्यले कहिलेकाहीँ हाँसो उठाउँछ, कहिलेकाहीँ गहिरो चोट दिन्छ । ‘हामी ऐन माग्न आएका हौँ, दिनभरि चिच्याउँछौँ, तर सरकारले सुन्दैन । यहाँ सहभागी साथीहरूले पनि आफ्नो कला प्रस्तुत गर्दै आन्दोलनलाई जीवन्त बनाइरहनुभएको छ । म पनि त्यही प्रयास गर्दै छु,’ उनले नयाँ पत्रिकासँग भने ।
आन्दोलनकै क्रममा जादु देखाउँदा उनी अहिले भाइरल छन् । उनी पर्साको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका राहत शिक्षक हुन् । विद्यालय शिक्षा ऐन माग्दै काठमाडौं आइपुगेका उनी आन्दोलन सुरु भएदेखि नै जादु देखाउन व्यस्त छन् । उनले आफूले विद्यार्थीलाई कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापको क्रममा समय–समयमा यस्ता किसिमका जादु देखाउँथे ।
‘यहाँ आउनुभएका हरेक शिक्षकमा आ–आफ्नै कला र क्षमता छ, आफूमा भएका कला र क्षमताहरू शिक्षकहरूले आन्दोलनका क्रममा प्रस्तुत गरिरहनुभएको छ,’ उनी भन्छन्, ‘काठमाडौं आएपछि जादु देखाउँदादेखाउँदै दिन बित्न थाल्यो ।’
आफूले देखाएको जादुका कारण आन्दोलनमा सहभागी शिक्षकलाई पनि मनोरञ्जन भएको उनको भनाइ छ । पछिल्लो समय शिक्षक र शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण हेपाह भएको उनको बुझाइ छ । विद्यालय शिक्षा ऐन आएर शिक्षा क्षेत्र व्यवस्थित होला भन्ने विश्वासमा काठमाडौं आएका साह यसभन्दा अघिका आन्दोलनमा पनि सहभागी भएका थिए । ‘मैले यसभन्दा अघिको शिक्षक आन्दोलनमा पनि जादुहरू देखाएँ । सरोकारवाला मानिसहरूलाई ढुंगाको चकलेट बनाएर पनि ख्वाएँ, तर हाम्रो विषयलाई सरकारले गम्भीर रूपमा लिएको छैन,’ उनले सुनाए ।
उनी शिक्षकहरूमा धेरै किसिमका ज्ञान र खुबी हुने भएकाले पनि त्यस्ता ज्ञान बाँड्नुपर्ने तर्क राख्छन् । ‘शिक्षकहरू ज्ञानका खानी हुन्, ज्ञाता हुन्, शिक्षकको कलममा ताकत छ,’ उनी भन्छन्, ‘जब हाम्रो माग पूरा हुन्छ तब मात्रै हाम्रो कलमले एसइईको कापी चेक गर्छ ।’
आन्दोलनमा भोकभोकै पनि खटिनुपरेको शिक्षक साह बताउँछन् । उनका अनुसार काठमाडौंमा महँगो भएकाले धेरै शिक्षकलाई बस्न र खान समस्या छ । तर, अभाव भए पनि आन्दोलनमा उत्रिन बाध्य भएको उनी बताउँछन् । ‘आन्दोलन कहिलेसम्म चल्ने हो थाहा छैन, त्यसैले अहिले नै भएको पैसा सकियो भने भोलि के गर्ने ?’ उनले सुनाए, ‘त्यसैले अलिअलि खाएर भए पनि आन्दोलनमा छौँ ।’
त्यस्तै, आन्दोलनमा सहभागी शिक्षकहरूले सडकमै आफूभित्र भएका कला पनि प्रस्तुत गर्दै आइरहेका छन् । सोही कारण शिक्षक आन्दोलन रोचक बनिरहेको छ । सोमबार पनि शिक्षकहरूले सडकमै विभिन्न कलात्मक प्रस्तुति देखाए । हरेक प्रदेशका शिक्षकहरूले आ–आफ्नो ठाउँको पहिचानसहितका नाचगान गरे ।
सोमबार सडकको दृश्य हेर्दा कतै देउडा नाचिरहेका थिए भने कतै कवितावाचन चलिरहेको थियो । कतिपय शिक्षक जादु हेर्न व्यस्त देखिन्थे भने कतिपयले आफ्नो क्षेत्रका मादल र बाजा बजाइरहेका थिए । शिक्षक आन्दोलन मनोरञ्जनात्मक हुने भएपछि हेर्न आउनेहरूको भिड बढ्न थालेको छ ।