
गत साता एक जनमत सर्वेक्षणले फ्रान्सेली उग्र दक्षिणपन्थी नेतृ मरिन ले पेनले सन् २०२७ मा हुने राष्ट्रपति चुनावमा ३७ प्रतिशतसम्म मत प्राप्त गर्ने देखाएको थियो । यो सन् २०२२ को भन्दा २२ अंकले बढी र अन्य कुनै उम्मेदवारभन्दा १० अंकले अगाडि हो । ‘खेल निश्चित रूपमा बदलिएको छ,’ सर्वेक्षणकर्ता ‘इफोप ओपिनियन’का प्रमुख फ्रेडरिक डाबीले भनेका थिए । उनले यस सर्वेक्षण परिणामलाई ले पेनको ‘रिब्रान्ड’ले काम गरेको प्रमाणको रूपमा हेरे । वर्षौंदेखि उनले फ्रान्समा उग्र दक्षिणपन्थलाई राजनीतिक रूपमा किनारामा रहेको ‘नेसनल फ्रन्ट’ का संस्थापक तथा पिता जाँ म्यारी ले पेनको प्रभावबाट टाढा राख्न खोजिन । तर गत सोमबार, मरिन ले पेन र नेसनल र्याली (एनआर)पार्टीलाई ठुलो झट्का लाग्यो । उनलाई युरोपेली संघको कोष हिनामिना गरेको आरोपमा दोषी ठहर्याइयो । फैसलाले उनलाई आगामी पाँच वर्षसम्म सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य ठहर गर्यो । अर्थात अदालतको निर्णयले उनी सन् २०२७ को राष्ट्रपति चुनावमा भाग लिनबाट रोकेको छ । तथापि, ले पेनले फैसलाविरुद्ध अपिल गर्ने बताएकी छिन् ।
पेरिसको फौजदारी अदालतको फैसलाको ले पेनका समर्थकले आलोचना गरिरहेका छन् भने विपक्षीहरूले न्याय प्रणालीको स्वतन्त्रताको प्रमाण भन्दै केही राहत महसुस गरेका छन् । ले पेनका २९ वर्षीया शिष्य जोर्डन बर्डेलाले सजायलाई ‘एउटा लोकतान्त्रिक घोटाला’को संज्ञा दिए । ‘यो एक जानाजान गरिएको आर्थिक घोटालाको मुद्दा हो । यो फैसलालाई भयानक मान्ने अति दक्षिणपन्थी र दोषी ठहर सामान्य हो भन्ने विपक्षीबिचको सांस्कृतिक लडाइँ हो,’ लियोनकी २९ वर्षीया नाट्यशाला निर्माता ब्याप्टिस्ट कोलिनले भनिन् । विश्लेषकहरूका अनुसार उग्र दक्षिणपन्थीले यस मुद्दालाई सफलतापूर्वक प्रयोग गरे भने फैसलाले फ्रान्सलाई सम्भावित रूपमा थप राजनीतिक अराजकतामा धकेल्न सक्छ ।
‘ले पेन प्रणालीविरुद्ध लड्दा सहिद बनाइएकी पात्रका रूपमा देखिने जोखिम छ । उनी र उनको पार्टीले यो मुद्दालाई हतियार बनाउनेछन्,’ सार्वजनिक कानुनमा पिएचडी गरेकी फ्रान्सेली अनुसन्धानकर्ता रिम–सारा अलौएनले भनिन् । कठोर सीमा नियन्त्रण नीतिका लागि जोड दिने ले पेनको पार्टी आप्रवासनविरुद्ध उभिएको छ । ५६ वर्षीया पेनले बर्डेलाजस्ता नयाँ अनुहारलाई अघि सारेकी छिन्, जो अहिले पार्टी अध्यक्ष छन् । वर्डेला अध्यक्ष भएसँगै पार्टीप्रति युवा मतदाताको आकर्षण बढेको छ ।
बार्डेला होलान् ल पेनका उत्तराधिकारी ?
मूल धारका मिडिया र राजनीतिज्ञले फ्रान्सको कानुनी प्रणालीको आलोचना गर्न ले पेन र आरएनलाई अनुपयुक्त स्थान दिन सक्ने अलौएन चिन्ता व्यक्त गर्छिन् । ‘ले पेन एक राजनीतिज्ञ हुन्, जसलाई न्याय प्रणालीले भर्खरै गम्भीर अपराधका लागि निन्दा गरेको छ र उनी पहिले नै आफ्नो बचाउका लागि मुख्य समाचार नेटवर्कमध्ये एक प्रयोग गरिरहेकी छिन्,’ उनले भनिन ।
पेनले पुनरावेदन गरिन् र सजाय मिनाहा भयो भने मात्र उनी २०२७ मा चुनाव लड्न सक्छिन् । तर, फ्रान्समा पुनरावेदन प्रक्रिया सुस्त छ । ‘यो असम्भव देखिन्छ, किनभने अदालतमा पुनरावेदन लिन सामान्यतया लगभग दुई वर्ष लाग्छ,’ राजनीति र इतिहासमा कलम चलाउने फ्रान्सेली पत्रकार डायन डे भिग्नेमोन्टले भने । अझ पुनरावेदन अदालतले पनि दोषी ठहर गर्यो भने पेनको पार्टीले अदालत भ्रष्ट भएको र उनलाई चुनाव लड्नबाट रोकेको आरोप लगाउनेछ । त्यसपछि बर्डेला स्पष्ट उत्तराधिकारी हुनेछन् । बर्डेला आरएनको उदाउँदो तारा मानिन्छन्, यदि पेनको सजाय सदर भयो भने पार्टीको अर्को राष्ट्रपति उम्मेदवारको रूपमा उनले ले पेनको स्थान लिन सक्ने सम्भावना छ । ‘यो पार्टीलाई चाहिने कुरा हो,’ डे भिग्नेमोन्टले भने, ‘बर्डेलाले साँच्चै सामाजिक सञ्जालमा पकड राख्छन्् । र उनी घोटालामा नजोडिएका युवा हुन् ।’ उनको नृतत्वमा युवा मतदाता उग्र दक्षिणपन्थीतर्फ आकर्षित भएका छन् । दुई वर्षमा फ्रान्सेली संसदीय चुनावमा आरएनलाई मतदान गर्ने १८ देखि २४ वर्षका व्यक्तिको अनुपात दोब्बर भएको छ ।
‘आरएनबारे प्रचार भइरहेको छ । बर्डेला युवा छन् र टिकटकमा पनि उत्तिकै सक्रिय छन् । आरएनलाई भोट दिनु राम्रो हो भन्ने विचार छ, जबकि पहिले यसलाई पुरानो जमानाको विचारधार बोक्ने पार्टी मानिन्थ्यो,’ कोलिनले भने । पर्यवेक्षकहरूका अनुसार यदि पेन मुद्दालाई छिटोछरितो बनाउन सफल भइन् र राष्ट्रपति चुनावअघि पुनरावेदन जितिन् भने उनले यो मुद्दा आफ्नो राजनीतिक एजेन्डाविरुद्धको प्रतिशोध भएको दाबी गर्नेछिन् । तर, न्यायाधीश बेनेडिक्ट डे पर्थुइसले पहिले नै त्यो विचारलाई अस्वीकार गरिसकेका छन् । ‘राजनीतिमा संलग्न भएकै कारण कोही पनि व्यक्तिमाथि मुद्दा लगाइएको छैन,’ उनले भने । फैसलाको कारण पार्टीले दुःख पाउने कोलिनको अनुमान छ । ‘यो उनको र पार्टीका लागि विपत्ति हो । बर्डेला ले पेनभन्दा कम सक्षम छन् । उनी धेरै जवान छन् र राजनीतिमा बढी अभ्यस्त छैनन् । बर्डेलाले अहिलेसम्म धेरै बहस गरेका छैनन् । गरेका बहस पनि उनको पक्षमा आएका छैनन् । ले पेनलाई पनि थाहा छ कि बर्डेलाको निर्वाचित हुने सम्भावना उनको भन्दा धेरै कम छ ।’
अदालतको फैसलाले फ्रान्सेली संसद्मा सांसदको रूपमा ले पेनको हालको भूमिकामा कुनै परिवर्तन ल्याउनेछैन । म्याक्रोँले २०२४ मा गरेजस्तै अर्को चरणको मध्यावधि चुनाव आह्वान गरे भने पेनले फेरि चुनाव लड्न पाउनेछैनन् । विद्यमान विभाजन र बजेट अनुमोदन गर्न संसद्को असमर्थतासँगै संसद्को अर्को विघटन सम्भावित परिदृश्य हो । सोमबारको फैसलासँगै ले पेन आर्थिक अपराधको आरोप लागेका अन्य प्रमुख फ्रान्सेली राजनीतिज्ञको समूहमा सामेल भएकी छिन् । त्यस्तै, पूर्वराष्ट्रपति निकोलस सार्कोजी लिबियाली नेता मुअम्मर गद्दाफीबाट अवैध सहयोग स्वीकार गरेकोमा सजायको पर्खाइमा छन् । पूर्वप्रधानमन्त्री फ्रान्स्वा फिलन संसद् सदस्य हुँदा आफ्नी श्रीमतीलाई कर्मचारी सदस्यको रूपमा जालसाजीपूर्वक नियुक्त गरेकोमा दोषी ठहरिएका थिए । ‘राजनीतिज्ञविरुद्ध न्यायिक हावा चलिरहेको छ । व्यक्तिगत रूपमा मलाई यो राम्रो लागेको छ । यसले प्रक्रियाले काम गरेको र हामी अझै पनि प्रभावशाली लोकतन्त्रमा छौँ भन्ने देखाउँछ ,’ कोलिनले भने ।
(स्टबर स्वतन्त्र पत्रकार हुन् )
अलजजिराबाट