
पञ्चकन्या समूहले कविता नेपालीलाई एभरेस्ट र लोत्से हिमाल आरोहण गर्न आर्थिक सहयोग गर्ने भएको छ । समूहले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोडेल नेपालीको लक्ष्यमा हातेमालो गर्ने गरी आर्थिक सहयोग गरेको जनाएको छ ।
उनलाई एक कलाकारका रूपमा मात्र नभई बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकका रूपमा सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बताए । सन् २०१८ मा बुगी–बुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल नेपालीले हिमालयमा नेपाली महिलाको स्थायी शक्तिलाई लिएर जाने विश्वास समूहले गरेको छ ।
यो साझेदारी समूहको लामो समयदेखि विभिन्न विशिष्ट क्षेत्रमा नयाँ उचाइ चुम्न प्रयासरत नेपाली महिलालाई सहयोग गर्ने परम्पराको निरन्तरता भएको बताइएको छ । समूहले सन् २०१३ मा माउन्ट किलिमान्जारोमा आरोहण गर्ने सेभेन समिट्स महिला टोलीको समूहलाई सहयोग गरेको थियो ।