मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २५ सोमबार o८:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला भलिबल विजेतालाई पाँच लाख 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o८:५५:oo

आगामी १० देखि १३ वैशाखसम्म हुने आठौँ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आठौँ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने प्रतियोगिता आगामी १० देखि १३ वैशाखसम्म हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए । ‘प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन्,’ खड्काले भने । राष्ट्रिय महिला भलिबलमा तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ पाउनेछ । 

महिला भलिबल खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले ०७२ देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा साबिक विजेता नेपाल एपिएफ, न्यु डायमन्ड युथ स्पोर्टस्, नेपाल पुलिस, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेस्ट भलिबल क्लबले भाग लिनेछन् । पछिल्ला संस्करणमा चार टोलीले प्रतिस्पर्धा गरेका थिए । 

यस वर्षदेखि सहभागी संख्या बढाइएको खड्काले बताए । ‘यो संस्करणदेखि सहभागी संख्या चारबाट ६ टोली पु¥याइएको छ,’ उनले भने, ‘चार टोलीको सहभागिता पक्का भइसकेको छ, एभरेस्ट भलिबल क्लबसँग पनि छलफल भइरहेको छ ।’ 

लिगकम नकआउटअनुसार प्रतिस्पर्धा हुने
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ रहेको खड्काले बताए । हरेक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ जित्नेछन् । यसैबिच आठौँ संस्करण प्रतियोगिताको उद्घटनको दिन एकजना उत्कृष्ट राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने अध्यक्ष खड्काले बताए । यसपटक पुरस्कार राशि १३ लाखभन्दा बढी रहेको छ । प्रतियोगितालाई केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ । आयोजक र प्रायोजकबिच आइतबारै सम्झौता भएको छ । 

सहभागी हुन खेलाडी प्रतीक्षारत
नेपाल भलिबल संघका अध्यक्ष तथा काभाका उपाध्यक्ष जितेन्द्रबहादुर चन्दले केएनभी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन खेलाडीहरू सधैँ प्रतीक्षारत हुने बताए । ‘यसमा पुरस्कार धनराशि अन्यको तुलनामा धेरै छ, यसकारण प्रतियोगितामा भाग लिन खेलाडी प्रतीक्षामा रहन्छन्,’ चन्दले भने, ‘पुरस्कार राशि पनि राम्रो रहेकाले खेलाडीहरू आर्थिक रूपमा लाभान्वित हुनेछन् ।’ उनले भलिबल अब व्यावसायिक रूपमा अघि बढिरहेको बताए । ‘संघले महिलाको फ्रेन्चाइज लिग सुरु गरिरहेको छ,’ चन्दले भने, ‘केही प्राविधिक कारण पुरुष भलिबलको फ्रेन्चाइज लिग केही ढिला भएको हो ।’ उनले सन् २०२५ को वर्ष नेपाली भलिबलका लागि ऐतिहासिक हुने जनाए ।