मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
रमेश सुवेदी काठमाडाैं
२o८१ चैत २५ सोमबार o८:१८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : लगातार तेस्रो खेलमा झापाले अंक खोस्यो

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o८:१८:oo
  • अन्तिम इन्जुरी समयको दोस्रो मिनेटमा झापाका विदेशी खेलाडी अल्हाजी गेरोले पेनाल्टी गोल गरेपछि चितवन १–१ को बराबरीमा रोकियो

झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)को लगातार तीन खेलमा विपक्षीविरुद्ध अंक खोसेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापाले अपराजित एफसी चितवनसँग आइतबार १–१ को बराबरी खेल्दै १ अंक बटुलेको हो । अन्तिम इन्जुरी सम्हालिन नसक्दा शीर्ष स्थानमा रहेको चितवनले अंक बाँडेको छ । जिततर्फ अग्रसर चितवन इन्जुरी समयमा व्यहोरेको गोलका कारण लगातार तेस्रो जितबाट विमुख भयो । चितवनले तीन खेलमा दुई जित र एक बराबरी नतिजा निकाली ७ अंक जोडेको छ । झापाले तीन बराबरी खेल्दै ३ अंक जोडेको छ । झापा अंकतालिकाको चौथो स्थानमा छ ।

तीन खेलमा ३ अंक जोडेको पोखरा पाँचौ स्थानमा छ । ५ अंक भएको ललितपुर दोस्रो स्थानमा छ । काठमाडौं रेजर्स २ अंकसहित छैटौँ स्थानमा र बुटवल लुम्बिनी १ अंकसहित पुछारमा छ । खेलको ९० मिनेटसम्म चितवन १–० ले अगाडि थियो । चितवनले झापामाथि दबाब बनाइरहेको थियो । तर, प्रतिस्पर्धाकै अन्तिम इन्जुरी समयमा झापाले पेनाल्टी पायो । पेनाल्टीमा गोल गर्दै झापाले चितवनको लगातार तेस्रो जित हात पार्ने योजना विफल बनाएको हो । दोस्रो संस्करणमा चितवनले झापालाई हराएको थियो । 

पहिलो खेलमा झापाले बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि झापाले पहिलो संस्करणको विजेता काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेल्यो । झापाले तेस्रो खेलमा चितवनविरुद्ध फिनिसिङमा सुधार गर्‍यो । तेस्रो संस्करणमा पेनाल्टीबाट झापाले गोलको खाता खोल्यो । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको थियो । चितवनले विपक्षीको पोस्टमा चार गोल गरेको छ । चारमध्ये तीन गोल विदेशी खेलाडीको नाममा छ । टोरिक जेब्रिनले दुई गोल गरेका छन् । जेब्रिनले बुटवलविरुद्धको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । उनीबाहेक विदेशी खेलाडी नोडिर माभ्लोनोभ र नीरज चौधरीले विपक्षी पोस्टमा गोल गरेका छन् । प्रतियोगिताअन्तर्गत सोमबार काठमाडौंले बुटवलको सामना गर्नेछ । 

अन्तिम इन्जुरी समयमा बराबरी गोल
प्रतिस्पर्धाको अन्तिम इन्जुरी समय सात मिनेटको थियो । झापाले निरन्तर बराबरी गोल फर्काउने योजनासहित प्रतिस्पर्धा गरिरहेको थियो । उत्कृष्ट फर्ममा रहेको चितवन भने स्पष्ट जितसहित खेल सकाउने धुनमा थियो । तर, यसै समयमा नसोचेको गोल व्यहोरेपछि चितवनको योजना सफल भएन । यसविपरीत झापाले कम्तीमा १ अंक खोस्ने योजना सार्थक बनायो । इन्जुरी समयको दोस्रो मिनेटमा झापाले पेनाल्टी पायो । चितवनका नीरज चौधरीले झापाका आरोन थापालाई पेनाल्टी क्षेत्रमा लडाएका थिए । 

त्यसपछि विदेशी खेलाडी अल्हाजी गेरोले कुनै गल्ती नगरी पेनाल्टीमा गोल गर्दै झापालाई १–१ को बराबरीमा पुर्‍याए । उनको पेनाल्टी गोलसँगै झापाका खेलाडीले मैदानमा खुसी मनाए । खेलको ८८औँ मिनेटमा झापाले राम्रो बराबरी अवसर चुकाएको थियो । डिबक्सबाहिर झापाका जाजार अर्जिकले प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेको थियो । यसैगरी, खेलको ८२औँ मिनेटमा अविनाशले डिबक्सबाहिरबाट प्रहार गरेको बल पोस्टनजिक हुँदै बाहिरिँदा झापाले अर्को बराबरीको मौका खेर फाल्यो । 

पहिलो हाफमा चितवनको अग्रता
झापाविरुद्धको खेलमा नियन्त्रण बनाएको चितवनले २८औँ मिनेटमा अग्रता लिएको थियो । घानाका खेलाडी जेब्रिनले चितवनलाई १–० को अग्रता दिलाएका हुन् । उनले शिखिर लेखीको पासमा उत्कृष्ट गोल गरेका हुन् । जेब्रिनको प्रहारलाई झापाका गोलकिपर एञ्जल श्रेष्ठले रोक्न सकेनन् । यसअघिका दुई खेलमा एञ्जलले मौका पाएका थिएनन् । यसपटक नियमित विदेशी गोलरक्षक नेमान्जा लेमाजिक बेन्चमा रहे । खेलको आठौँ मिनेटमा चितवनका शिशिरले मौका गुमाएका थिए । उनले जेब्रिनले दिएको पासमा प्रहार गरेको बल बारमा लागेको थियो । पहिलो हाफमा झापा र चितवनका खेलाडीबिच केही भनाभन भएको थियो । खेलको ५८औँ मिनेटमा चितवनका जोनी क्याम्पबेलले झन्डै आत्मघाती गोल गरेका थिए । उनले बल क्लियर गर्ने क्रममा प्रहार गरेको बल बारमा लागेको थियो । 

खेलाडी परिवर्तन
३ अंक निकाल्ने योजनाका साथ मैदानमा प्रवेश गरेको झापाले चितवनविरुद्ध सुरुवातमा चार खेलाडी परिवर्तन गरेको थियो । अघिल्लो दुई खेलमा पहिलो रोजाइमा परेका दुई विदेशी खेलाडी बेन्चमा रहे । गोलरक्षक नेमान्जा, मुखमद इभाए, आर्यन राई र सुजन दानी बेन्चमा बसे । झापाले प्रवीण बस्नेत, अविनाश स्याङ्तान र रोशन पहारीलाई पहिलो रोजाइमा खेलाएको थियो । झापाविरुद्ध चितवनले कुनै पनि खेलाडीलाई परिवर्तन गरेको थिएन । अघिल्लो दुई खेलका पहिलो ११ खेलाडीले नै निरन्तरता पाएका थिए ।