मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २२ शुक्रबार १४:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १४:१९:oo

प्रधानमन्त्री केपी ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको बताएका छन् । थाइल्यान्डको बैंककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे ।

‘यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्‍याइरहेका छन्, तर हाम्रोतर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभई तराई र तटीय क्षेत्रहरूमा पनि परेको बताए। ‘हिमालहरूको पीडा र हिमाल तथा समुद्रबिचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दै छ र म यहाँहरू धेरैलाई त्यहाँ देख्न उत्सुक छु,’ उनले भने।

जलवायुको प्रभावका कारण तटीय क्षेत्रहरूमा पनि समुद्री सतह बढिरहेको र आँधीका घटना तीव्र हुँदै गइरहेको उल्लेख गर्दै उनले बिमस्टेक क्षेत्रले हिमपहिरो, चक्रवात, मेघगर्जनसहितको वर्षा, तातो हावा र खडेरीजस्ता चरम मौसमी घटनाहरूको सामना गरिरहेको बताए । ‘हाम्रा जनता र हाम्रो भविष्यको रक्षा गर्न हामीले निर्णायक रूपमा कार्य गर्नु अनिवार्य छ, जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सामूहिक रूपमा काम गर्न जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले जलविद्युत् क्षेत्रमा लगानी गरेर सीमापार ऊर्जा ग्रिड र नवीकरणीय ऊर्जा परियोजनामार्फत क्षेत्रीय ऊर्जा व्यापार बढाउनुपर्ने आवश्यकता औँल्याए । साथै उनले बढ्दो व्यापार तनाव र आपूर्ति शृंखला अवरोध हटाउँदै द्रुत प्राविधिक परिवर्तनलाई आत्मसात् गरी सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘विपत् पूर्वतयारी, सार्वजनिक स्वास्थ्य सेवा र समावेशी आर्थिक नीतिहरू हाम्रो क्षेत्रीय मुद्दाको केन्द्रमा रहनुपर्छ, सामाजिक र सांस्कृतिक सदभावलाई प्रवर्द्धन गरिनुपर्छ र समुदायको बलियो भावनालाई बढावा दिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘दिगो विकास लक्ष्यहरूलाई राष्ट्रिय र क्षेत्रीय नीतिगत ढाँचाहरूसँग एकीकृत गरी न्यायपूर्ण, समावेशी ढंगबाट सम्बोधन गर्नुपर्छ ।’

सम्मेलनको सफलता र बिमस्टेक सदस्य राष्ट्रका जनताको चिरस्थायी शान्ति, कल्याण र समृद्धिका लागि आफू तीन करोड नेपाली जनताको सन्देश लिएर यहाँ आएको उल्लेख गर्दै उनले थाइल्यान्डका प्रधानमन्त्री पे थोङथान शिनावात्रा र सरकारलाई न्यानो आतिथ्यता र शिखर सम्मेलन आयोजनाका लागि प्रशंसा र आभार व्यक्त गरे । साथै उनले विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट म्यानमार तथा थाइल्यान्डका सरकार एवं जनताप्रति समवेदना र सहानुभूति व्यक्त गरे ।

‘बिमस्टेकको सुरुआत यही सहरबाट भएको पनि दुई दशकभन्दा बढी भइसकेको छ । यस अवधिमा हामीले बंगालको खाडी क्षेत्र र त्यसभन्दा पर आमूल परिवर्तन र रूपान्तरण देखेका छौँ,’ उनले भने, ‘यी दुई दशकमा बंगालको खाडी विश्वव्यापी आर्थिक परिदृश्यमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेका क्षेत्रमा परेको छ, तथापि चुनौतीहरू कायमै छन्। शान्ति र समृद्धिको खोजी जारी छ ।’