मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार o६:o७:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : साधुको अनौठो तर्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o६:o७:oo

एक साधु सहरको कोलाहलदेखि पर एकान्तमा कुटी बनाएर बस्थे । सहर र आसपासको इलाकामा उनको नाम निकै चलेको थियो । त्यसैले, टाढाटाढाबाट पनि मानिस उनको कुटीमा आएर साधुसितको सत्संगमा रमाउँथे । उनको कुटीको बाटो हुँदै कैयौँ अपरिचित मानिस पनि यात्रा गर्थे । कैयौँ यात्री कुटीमा आराम गरेर आफ्नो बाटो लाग्थे । उनको आश्रममा आइपुग्ने कैयौँ अपरिचित उनीसित बस्ती पुग्ने बाटो सोध्थे । उनी अगाडिको मार्गतिर संकेत गरिदिन्थे । 

कसैले कुनै अर्को बाटो पनि बस्तीतिर जान्छ कि भनेर सोध्दा उनी होइन, यही बाटो बस्तीतिर जान्छ भनिदिन्थे । जब मानिस उनले बताएको मार्गबाट अघि बढ्थे, उनीहरू मसानघाट पुग्थे । मानिस भित्रभित्रै मुर्मुरिन्थे । साधुलाई गाली गर्दै अर्को बाटो खोजेर बस्तीतिर अघि बढ्थे । बस्तीको साटो मसानघाट पुगेपछि एकपटक एक यात्रीलाई निकै रिस उठ्यो ।

उनी फर्केर साधुको कुटीमै आइपुगे । आफूलाई गलत बाटो बताइदिएको भन्दै उनी साधुसित निकै रिसाए । उनले आफूलाई गाली गरून्जेल साधु मौन रहे । जब यात्री थाकेर शान्त भए, तब साधुले भने— मित्र, तपाईं त निकै रिसाउनुभयो । के मसान बस्ती होइन र ? तपाईंं जसलाई बस्ती भन्नुहुन्छ, त्यहाँ हरेक दिनजसो कसै न कसैको मृत्यु भई नै रहेको हुन्छ ।

परिवारका सदस्यको मृत्यु भएपछि त्यो घर उजाड हुन्छ । र, तिनै उजाड घरका मृतकका कारण मसान बस्तीमा परिणत हुँदै जान्छ । तपाईंले भनेको बस्तीमा मानिसहरू आउँछन्, जान्छन् । तर, मसानमा त मानिसहरू एकपटक पुगेपछि कहिल्यै त्यहाँबाट अन्यत्र जाँदैनन् । मसान त झनै स्थायी बस्ती हो । भोलि तपाईं पनि त्यही बस्तीका सदस्य बन्नुहुन्छ, होइन र ? त्यसैले, मैले तपाईंहरूलाई सही बस्तीको बाटो देखाइदिएको हुँ ।साधुको तर्क सुनेर यात्रुको रिस शान्त भयो । उनी साधुसित बिदा भएर आफ्नो बाटो लागे ।