मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format १o:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४४ वर्षपहिले नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ कलात्मक वस्तु फिर्ता 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३३:oo

नेपालबाट विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु फिर्ता भएका छन् । आइतबारपुरातत्व विभागमा आयोजित कार्यक्रममा कलात्मक वस्तुहरू सार्वजनिक गर्दै स्थानीयवासी र गुठीहरूलाई जानकारी गराइएको छ ।

अमेरिकाबाट फर्काइएका कलात्मक वस्तुमध्ये तीनवटा पौवा चित्र छन् । जुन चित्र १५–१८औँ शताब्दीका हुन् । यी वस्तु ललितपुरको इटुम्बहालबाट ०३७ मा हराएका थिए । अमेरिकाबाट फर्काइएको एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति पनि छ । सो मूर्ति नवौँ शताब्दीको हो । यो मूर्ति ललितपुरको बुङमतीको मच्छिन्द्रबहालपरिसरको चैत्यबाट हराएको थियो । पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुलिन्द बुद्धको मूर्ति पनि फिर्ता भएको छ । सो मूर्ति १२–१३औँ शताब्दी तथा अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९औँ शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए । 

अमेरिकाको विभिन्न संग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत संग्रहमा रहेका उक्त वस्तुहरू न्युयोर्कस्थित विभिन्न संघसंस्थाको सहयोगमा नेपाली वाणिज्य दूतावासले सहजीकरण गर्दै नेपाल ल्याइएको हो । अमेरिकाले नेपाली वाणिज्य दूतावासलाई गत ११ फागुनमा उक्त कलात्मक वस्तु हस्तान्तरण गरेको थियो । पुरातत्व विभागले ती कलात्मक वस्तुको उत्पत्तिस्थल नेपाल भएको प्रमाणितसमेत गरेको थियो । त्यसपछि नेपाल ल्याइएको विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले जानकारी दिइन् । उनका अनुसार उपत्यकाका ऐतिहासिक कलावस्तु लामो अन्तरालपछि फर्किनु निकै खुसीको कुरा रहेको र यहाँको सभ्यता थप बलियो बनेको बताइन् । ‘यी मूर्तिकला हाम्रा संस्कार हुन्, विभिन्न समस्या र चुनौतीका बाबजुद फिर्ता ल्याउन सकेका छौँ,’ उनले भनिन्, ‘विभिन्न कालखण्डमा नेपालबाट ऐतिहासिक मूर्तिहरू चोरी भएर अमेरिकालगायत देशमा पुगेका थिए ।’ 

नेपालबाट १९९० देखि कलात्मक मूर्तिहरू हराउन थालेको पाइन्छ । ९० को दशकपछि समुदायमा जागरण भएकाले मूर्ति चोरी रोकिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । ‘पछिल्लो समय सांस्कृतिक सम्पदाहरू फिर्ता आउने क्रम बढेको छ । सांस्कृतिक वस्तुको महत्व त्यहाँ हुन्छ, जहाँ त्यसको उत्पत्ति भएको छ,’ उनले भने, ‘यसअघि भारत, बेलायत, चीन, अस्टे«लिया, अस्ट्रियालगायत देशबाट पनि थुप्रै मूर्ति फिर्ता भएका छन् ।’ कुँवरका अनुसार हालसम्म चोरी भएर विभिन्न देश पुगेका १९८ वटा कलात्मक वस्तु फिर्ता भइसकेका छन् । 

गत असारमा एक अमेरिकी महिलाले नेपालबाट हराएका २४ वटा मूर्ति फिर्ता गरेकी थिइन् । हवाई राज्यमा बसोबास गर्ने सुसन ब्राडफोर्डले वासिङटनस्थित नेपाली दूतावाससँग समन्वय गरेर ती कलाकृति फिर्ता गरेकी थिइन् । विभागले नेपालबाट हराएकामध्ये सबैभन्दा बढी मूर्ति तथा कलात्मक वस्तु अमेरिका नै पुगेको जनाएको छ । 

यी हुन् फिर्ता भएका कलात्मक वस्तु
माटोको भैरवको मुकुन्डो, अपारमिताको मूर्ति, कालीको मूर्ति, ताराको मूर्ति, पुरुष देवताको शिर, मुकुट लगाएको बुद्धको मूर्ति, अर्धनारीश्वरको मूर्ति, थप एक ताराको मूर्ति, बालगोपालको मूर्ति, कुवेरको मूर्ति, विष्णुको मूर्ति, पदमपाणि लोकेश्वरको मूर्ति, बुद्धको मूर्ति, लोकेश्वर ताराको चित्र भएको पौभा चित्र, देवीको पौभा चित्र, प्रस्थर स्थानक बुद्धको मूर्ति, प्रस्थर तारा लक्ष्मीको शिर, पदमपाणि लोकेश्वरको मूर्ति र मुछलिन्द बुद्धको मूर्ति ।