
समाजवादी मोर्चा र राजावादी पक्षले आज काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्दै छन् । माओवादी, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको जनसभा प्रदर्शनीमार्गमा र पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तिनकुनेमा सभा गर्दै छन् । दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
समाजवादी मोर्चाको जनप्रदर्शन प्रदर्शनीमार्गमा : प्रचण्ड, माधव, विप्लवलगायतले सम्बोधन गर्ने
एक लाखभन्दा धेरै जनता उतार्ने मोर्चाको दाबी
प्रमुख प्रतिपक्षी दल माओवादीसहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले शुक्रबार राजधानीमा बृहत् जनप्रदर्शन गर्दै छ । सरकारको कुशासन र व्यवस्थाको रक्षाका निम्ति भन्दै मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा जनप्रदर्शन गर्न लागेको हो ।
राजसंस्था पुनस्र्थापनाको माग लिएर राजावादीको सक्रियता बढेपछि मोर्चाले पनि व्यवस्थाको रक्षा र सरकारको कुशासनविरुद्ध भन्दै सडकमा आन्दोलन रोजेको छ । सरकारको कुशासनका कारण पनि राजावादीलाई बल मिलेको मोर्चाको ठहर छ । मोर्चाका नेताहरूले जनप्रदर्शनमा एक लाखभन्दा बढी सहभागी हुने दाबी गरेका छन् । प्रदर्शनीमार्ग प्रवेश गर्ने मुख्य सडकमा हुने सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नेछन् ।
एसइई परीक्षालाई लक्षित गर्दै पूर्वनिर्धारित समय केही धकेलेर मोर्चाले १२ बजेपछि जनप्रदर्शन सुरु गर्ने जनाएको छ । जनप्रदर्शनलाई व्यवस्थित बनाउन भन्दै मोर्चाले मुख्य तीन रुट निर्धारण गरेको छ । उपत्यकाका विभिन्न ठाउँबाट जनप्रदर्शनसहित प्रदर्शनीमार्ग प्रवेश गर्ने मुख्य सडकमा ‘टी’ आकारमा सभा हुँदै छ । रत्नपार्क, भद्रकाली र भृकुटीमण्डपतर्फको सडकमा सहभागी बस्नेछन् । कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली हुँदै भृकुटीमण्डप पुग्ने र्याली भद्रकालीतर्फ मुख्य सडकमा रहनेछ । त्यस्तै, अर्को रुट कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिवाटिका हुँदै भृकुटीमण्डप पुग्नेछ र रत्नपार्कतर्फ मुख्य सडकमा रहनेछ । तेस्रो रुट सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछ र प्रदर्शनीमार्गको सडकमा रहनेछ ।
प्रदर्शनअघि पार्टीगत रूपमा जम्मा हुने स्थान पनि तोकिएको छ । माओवादीका कोटेश्वर हुँदै पूर्वबाट आउनेहरू बबरमहलमा, ललितपुर हुँदै दक्षिणबाट आउनेहरू कुपन्डोल, कलंकी हुँदै पश्चिमबाट आउनेहरू त्रिपुरेश्वर र बालाजु हुँदै उत्तर–पश्चिमबाट आउनेहरू सोह्रखुट्टेमा जम्मा भएर प्रदर्शनमा सहभागी हुनेछन् । एकीकृत समाजवादीका मैतीदेवी, डिल्लीबजार चोक र शान्तिवाटिकामा जम्मा भएर प्रदर्शनमा सहभागी हुनेछन् । नेकपाका सुन्धारा र नेसपाका न्युरोड गेटमा जम्मा भएर प्रदर्शनमा सहभागी हुने तय गरिएको छ । जनप्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।
मोर्चाले ‘यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ, गणतन्त्रको संवर्द्धन र राष्ट्रियताको संरक्षण गरौँ’ भन्ने मूल नारा तय गरेको छ । राष्ट्रिय परिस्थिति, सरकारको नालायकीपन, इतिहासमा थन्किसकेको प्रतिगामीबारे जनतालाई सुसूचित गर्न जनप्रदर्शन र जनसभा आयोजना गरिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध, जनजीविका, राष्ट्रियता र व्यवस्थाको रक्षाका निम्ति शक्तिको स्रोत जनतामै जानुपर्छ भनेर जनप्रदर्शन गर्न लागिएको उनको भनाइ छ ।
‘संविधानको मर्म र भावनाविपरीत बनेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गर्यो । सेवा प्रवाह चुस्तदुरुस्त हुन सकेन, जनताप्रतिको उत्तरदायित्व पनि सरकारले निभाउन सकेन । सबैतिर सरकार असफल भइरहेको छ । यो परिस्थितिमा सरकारको कुशासन, नालायकीका कारणले अराजकता फैलाउने एउटा दुष्प्रयत्न भइरहेको छ,’ सापकोटाले भने, ‘तर, नेपाली जनता अब पछाडि फर्किने कल्पना पनि गर्न सक्दैनन् । इतिहासमा थन्क्याइसकेको राजतन्त्र फर्किने कुरा नेपाली जनता सोच्न पनि सक्दैनन् ।’
सरकारले बिचौलिया र दलालहरूको इसारामा देश र जनताको हितविपरीत काम गरिरहेकाले यही मौकामा पानीलाई धमिलो पारेर माछा मार्न सकिन्छ कि भनेर राजावादी र अन्य शक्तिले दुष्प्रयत्न गरेको सापकोटाको आरोप छ । ‘जनता लोकतान्त्रिक मूल्य–मान्यता, आदर्शमा स्पष्ट छन् । हामीले रगत बगाएर बनाएको संविधानमा स्पष्टसँग सार्वभौमसत्तासम्पन्न नेपाली जनता हुन् । त्यो मान्यतामा नेपाली जनता प्रस्ट छन् । जनताले लडेर ल्याएको यो व्यवस्था उल्ट्याउने खालको दुस्साहस भइरहेको वेलामा जनतामै जानुपर्छ भनेर बृहत् जनप्रदर्शनसहित जनसभा गर्दै छौँ,’ उनले भने ।
जनप्रदर्शन शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न हुने मोर्चाले दाबी गरेको छ । ‘कार्यक्रमस्थलमा जनतालाई चारैतिरबाट शान्तिपूर्ण रूपमा लिएर जान्छौँ,’ समाजवादी मोर्चाका सचिवालय सदस्यसचिव खड्गबहादुर विश्वकर्माले भने, ‘कम्युनिस्ट क्रान्तिकारीहरू, वामपन्थीहरू राष्ट्रको स्वाधीनता र जनताको मुक्ति चाहनेहरू प्रतिगमनविरुद्ध, राष्ट्रिय स्वाधीनताको पक्षमा, जनजीविका र अधिकारका निम्ति जनप्रदर्शनमा सहभागी हुनुहुन्छ ।’ मोर्चाले देशलाई मध्ययुगतिर फर्काउन षड्यन्त्र भइरहेको भन्दै सचेत बन्नुपर्ने आवश्यकता औँल्याएको छ ।
राजावादीको शक्ति प्रदर्शन तीनकुनेमा, व्यवसायी दुर्गा प्रसाईंलाई बनाइयो कमान्डर
राप्रपा र राप्रपा नेपाल असन्तुष्ट, तर आन्दोलनलाई सघाउने
काठमाडौंको तीनकुनेमा शुक्रबार हुन लागेको राजावादीको शक्ति प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं जनकमान्डर तोकिएका छन् । पूर्वपञ्चनेता नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रसाईंले आह्वान गरेको आन्दोलनको स्वामित्व लिँदै उनैलाई जनकमान्डर तोकेको हो ।
बिहान ११ बजे तीनकुनेमा जम्मा भएर शक्ति प्रदर्शन गर्ने राजावादीहरूको कार्यक्रम छ । राजसंस्थाको मुद्दा बोकेर राजनीति गर्दै आएका राप्रपा र राप्रपा नेपाल प्रसाईंलाई जनकमान्डर तोकिएकोमा असन्तुष्ट छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले बिहीबार पत्रकार सम्मेलन गरेर जनप्रदर्शनबारे जानकारी गराउँदै प्रसाईंलाई जनकमान्डर घोषणा गरेको हो ।
समिति संयोजक सुवेदीले भने, ‘नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ ।’ उनले एक साताभित्र राजसंस्था पुनर्स्थापनालगायतका लागि वार्ता नभए २१ चैतदेखि आन्दोलन सशक्त बनाउने चेतावनीसमेत दिए ।
राप्रपा र राप्रपा नेपालभित्र भने प्रसाईंलाई जनकमान्डर बनाउने सुवेदीको निर्णयप्रति असन्तुष्टि छ । ‘पार्टीहरूलाई पाखा लगाउनका लागि यो प्रपञ्च रचिएको हो कि भन्ने हाम्रो आशंकामा बल पुगेको छ । यो निर्णय सही होइन भन्नेमा आमपार्टीपंक्ति सहमत छ,’ राप्रपाका एक पदाधिकारीले भने, ‘तर, साझा उद्देश्यका लागि हामी सहयोग गर्छौँ ।’ राप्रपा र राप्रपा नेपालले आन्दोलनलाई भने सघाउने भएका छन् । यसका लागि कार्यकर्ता पंक्तिलाई अपिल गरेका छन् । पत्रकार सम्मेलनमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशमशेर राणालगायत सहभागी थिए ।
शुक्रबारको प्रदर्शनपछि आइतबारदेखि आन्दोलनका कार्यक्रम थपिँदै जाने संयोजक सुवेदीले बताए । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ । त्यसबाट सिर्जित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ,’ सुवेदीले भने ।
समितिले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी तथा भ्रष्टाचार नियन्त्रण र सुशासनको माग अघि सारेको छ । ‘देशमा क्रियाशील सबै राजनीतिक दल, संस्था, शक्ति र आमजनसमुदायको सामूहिक इच्छाशक्ति, प्रयास र सहकार्यबाट मात्र अनुकूल एवं अपेक्षित व्यवस्था र अवस्था परिवर्तन सम्भव छ,’ सुवेदीले भने । उनले नेपाली जनताको एकता र अखण्डताको प्रतीकको रूपमा रहिआएको श्रीपेच संविधानसभाको लोकमतलाई शिरोधार्य गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनतालाई सुम्पेको, तर जनमत स्थिर र अपरिवर्तनीय नहुने भएकाले पुनः राजसंस्थाको औचित्य देखिएको दाबी गरे ।
‘हिजो गणतन्त्र खोजेका सार्वभौमसत्ताका मालिक नेपाली जनताले आज पुनः राजसंस्था खोजेका छन् । यो जनमत स्थिर र अपरिवर्तनीय स्वरूप र प्रकृतिको हुँदैन भन्ने ज्वलन्त उदाहरण नेपालको वर्तमान जनमत हो,’ सुवेदीले भने, ‘नेपाली जनताको चाहना राजतन्त्र अथवा राजाको शासन होइन, राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको संवैधानिक राजसंस्था मात्र हो ।’
संवैधानिक राजसंस्थाको परिकल्पना गरिएको भन्दै राजसंस्था सँगसँगै देशमा राजनीतिक दलहरूको अस्तित्व रहनुपर्ने पनि सुवेदीले बताए । ‘त्यसका लागि विना कुनै धनजनको क्षति वर्तमान राजनीतिक दलहरू शान्तिपूर्ण रूपमा सहमतिमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘अहिले केही कोणबाट राजसंस्थावादीहरू सक्रिय राजतन्त्रका निम्ति प्रयासरत छन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । आमनेपाली जनताले विश्वव्यापी मानव अधिकारका मूल्य–मान्यतालाई सम्मान गर्ने र जनताको सर्वोच्चतालाई आत्मसात् गर्ने राजसंस्था खोजेका हुन् भन्नेमा हामी प्रस्ट छौँ ।’
सुवेदीले जनजीविकाका सवाल, गरिब र विपन्नले भोग्नुपरेका पीडा, विदेशमा बस्ने र बिदेसिन बाध्य युवाका भावनालगायत बैंक, लघुवित्त, सहकारी र मिटरब्याज ऋणपीडित तथा सहकारी बचतपीडितको मागलाई उचित रूपमा सम्बोधन गर्न पनि माग गरे । आफ्ना माग सम्बोधन गर्न वर्तमान संविधानमा सानातिना फेरबदल गरेर सम्भव नहुने पनि उनले बताए ।
‘तसर्थ, व्यापक रूपमा सबैले प्रशंसा गरेको २०४७ सालको संविधानलाई आधार मानेर २०७२ सालको संविधानका सकारात्मक प्रावधानहरूलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबिच सहमतिको बाटो बनोस् भन्ने हामी चाहन्छौँ,’ उनले भने, ‘त्यसो गर्दा संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिनेछ । त्यसबाट मात्र नेपालको क्षीण हुँदै गएको राज्य, राजनीति र समाजलाई ट्र्याकमा ल्याउन सम्भव हुनेछ ।’ सुवेदीले अहिंसात्मक एवं शान्तिपूर्ण सहकार्यको प्रक्रिया तथा मार्ग रोजेको, तर आफ्ना माग बेवास्ता भए परिणाम अनुकूल नहुने पनि चेतावनी दिए ।
राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा संयोजक रहेको आन्दोलन परिचालन समितिमा देशभरबाट एक हजार १११ सदस्य समेटिएको जानकारीसमेत दिए । आन्दोलन परिचालन समितिअन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहने संयोजक सुवेदीले बताए ।
राजावादीलक्षित प्रधानमन्त्रीको टिप्पणी– अगाडि बढेको देशलाई कोही फेरि पछाडि फर्काउन खोज्दै छन्
अगाडि बढेको देशलाई कोही फेरि पछाडि फर्काउन खोज्दै छन् । एउटा एम्बेसीले त अनावश्यक नोटिस नै जारी गर्यो– कुनै पनि वेला कफ्र्यु हुन सक्ला भनेर । त्यो ग्लोबल्ली अनावश्यक प्रचार मात्र हो । वास्तवमा त्यस्तो केही हुँदैन । १०–१५ हजारको जुलुस त नेपालमा निस्केका निस्क्यै छन् । तिललाई पहाड बनाउनुपर्ने कुनै आवश्यकता छैन । तर, यो नेपाल हो, यस्तो भोँपु बजाइएको छ कि भोलि (शुक्रबार) केही हुँदै छ ।
काठमाडौंको सुरक्षा व्यवस्था कडा : नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय जनशक्ति परिचालन
प्रहरीको १४ सय दस्ता अलर्टमा, सिसि क्यामेरा र ड्रोनबाट सभाको निगरानी
समाजवादी मोर्चा र राजावादी पक्षले आज काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्दै छन् । दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
समाजवादी मोर्चाले सभाका लागि भद्रकाली र पुरानो बसपार्कबिच राष्ट्रिय सभातर्फ प्रवेश गर्ने सडकको मुखमै मञ्च खडा गर्ने भनिएको छ । प्रदर्शनमा सहभागी हुनेलाई उत्तरतर्फ पुरानो बसपार्क हुँदै रत्नपार्कसम्म, पूर्वतर्फ राष्ट्रिय सभा अघिल्लोतर्फको सडक हुँदै पद्मोदय मोडसम्म र दक्षिणतर्फ भद्रकालीसम्म राख्ने योजना प्रहरीले बनाएको छ ।
त्यस्तै, राजसंस्था पक्षधरले सभाका लागि तीनकुनेमा मञ्च खडा गर्ने भनिएको छ । त्यहाँको सुरक्षा प्रबन्ध पनि सोहीअनुसार मिलाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुरक्षाका सबै प्रबन्ध मिलाइएको बताए । ‘एउटा पक्षको भृकुटीमण्डपमा र अर्काे पक्षको तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासनले स्थान तोकेको छ । दुुवै कार्यक्रम शान्तिपूर्ण होस् भन्ने पक्षमा प्रहरी छ,’ उनले भने ।
दुई पक्षलाई जम्काभेट हुन नदिने रणनीतिमा प्रहरी छ । एसपी बोहराका अनुसार दुवै पक्षको भेट हुन नदिन झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरिनेछ र उनीहरूलाई फरक–फरक सडक प्रयोग गरी सभास्थलसम्म लैजान प्रहरीले भूमिका खेल्नेछ । ‘प्रदर्शनकारीलाई फरक–फरक सडक प्रयोग गराउन सुरक्षाकर्मीले सघाउनेछन् । यसका लागि ट्राफिक प्रहरीको सहयोग लिइएको छ । उनीहरूले प्रदर्शनकारी पहिचान गरी सोहीअनुसार सडकको डाइर्भसन खुलाउनेछन् । सम्भावित दुर्घटना रोक्न प्रहरीको अधिकतम प्रयास रहनेछ,’ उनले भने ।
दुवै सभालाई लक्षित गरी काठमाडौंमा मात्र नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय सुरक्षाकर्मी खटिनेछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा प्रहरीको तीन हजार जनशक्ति परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई अलर्टमा राखेको छ । प्रहरीका अनुसार सिभिलमा पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । उनीहरूले सूचना संकलन गर्नेछन् । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि सभामा सहभागी हुनेछन् । दुवै सभाको निगरानी सिसिटिभी क्यामेरा र ड्रोनबाट हुनेछ ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई अपिल गरेको छ । ‘आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार विज्ञप्तिमा भनेका छन् ।
त्यस्तै, उत्पन्न परिस्थितिको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि आयोगले सरकार र सम्बद्ध सुरक्षा अधिकारीलाई आग्रह गरेको छ । प्रवक्ता पोखरेलका अनुसार आयोगले विभिन्न टोली बनाई मानव अधिकारको कोणबाट प्रदर्शनको अनुगमनसमेत गर्नेछ ।
आयोगले बिहीबार मात्र उपत्यकाको सुरक्षा व्यवस्थाका सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको थियो । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य–मान्यतालाई आत्मसाथ गर्न अपिल गरेका छन् ।