मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Friday, 28 March, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८१ चैत १३ बुधबार ११:५७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन सातामा ३०० अंक घट्यो नेप्से

राजावादीको गतिविधि र सरकार परिवर्तनको हल्लाले लगानीकर्ता सशंकित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार ११:५७:oo
  • तरंगित राजनीतिले गुम्यो लगानीकर्ताको आत्मविश्वास, २४ दिनमै गुमाए ५ खर्ब १० अर्ब, कमजोर वित्तीय अवस्था भएको कम्पनीको सेयरमा चलखेल भइरहेकाले बजार अझै घट्न सक्ने

सेयर बजार परिसूचक नेप्से तीन सातामा तीन सयभन्दा बढी अंकले घटेको छ । जसकारण पुँजी बजारका लगानीकर्ताले पाँच खर्ब १० अर्ब रुपैयाँ गुमाएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १८ फागुनयता सेयर बजारमा गिरावट जारी छ । त्यतिवेला २८ सय ९०.२८ विन्दुसम्म पुगेको बजार मंगलबार एकै दिन ५८.०५ अंकले घटेर २५ सय ८२.७३ अंक कायम भएको छ । २४ दिनमा नेप्से परिसूचक तीन सय ७.५५ अंकले घट्दा लगानीकर्तामा पनि निराशा छाएको छ । १८ फागुनमा ४८ खर्ब ९९ अर्ब रहेको सेयर पुँजीकरण मंगलबार ४२ खर्ब ८८ अर्बमा झरेको छ ।

यो अवधिमा फाइनान्स, विकास बैंक र जलविद्युत् समूहका कम्पनीको सेयरमा धेरै गिरावट आएको छ । सूचीकृत कम्पनीहरूको आधारभूत विश्लेषण नै नगरी लगानी गरेका साधारण सेयरधनीले ठुलो रकम गुमाएको विज्ञहरूको भनाइ छ । विगतमा ‘लो क्याप’का सेयरको प्रलोभन देखाएर उचालिएका फाइनान्स र विकास बैंकको सेयर मूल्य घट्न थालेपछि सर्वसाधारणले सेयर बजारमा ठुलो मूल्य चुकाउनुपरेको लगानीकर्ता आफैँ स्विकार्छन् । वित्तीय अवस्था बलियो नभएका कम्पनीको सेयर मूल्य छोटो अवधिमै घटबढ हुने भएकाले सेयर बजारको जोखिम अझै पनि उच्च रहेको जानकारहरूको विश्लेषण छ ।

सेयर लगानीकर्ता छोटेलाल रौनियारले सीमित लगानीकर्ताले लो क्यापको प्रलोभन देखाएर विगतमा नेप्सेलाई माथि उठाएको बताए । ‘विगतमा हामीले राजनीतिक नेतृत्वलाई सेयर बजारलाई जुवाघर नभन्न सुझाव दिने गरेका थियौँ । तर, अहिले त सेयर कारोबारीले नै यसलाई जुवाघर बनाइरहेका छन्,’ उनले भने, ‘लाभांश दिन नसक्ने र वित्तीय विवरण नै खराब भएका फाइनान्स र विकास बैंकको समेत सेयर मूल्य उचालेर छोटो अवधिको कारोबारमा रमाउने प्रवृत्ति हाबी भएको छ ।’

पछिल्लो समय राजनीतिक घटनाक्रमलाई अस्थिर बनाउने खालका गतिविधि बढ्दै गइरहेकाले लगानीकर्ताको मनोबल घटेको र बजारमा असर परेको उनको विश्लेषण छ । ‘बजारलाई राजनीतिक अस्थिरताले प्रत्यक्ष प्रभाव पार्छ । यस्तो वेलामा घट्ने भनेको यस्तै अस्वाभाविक रूपमा उचालिएका कम्पनीहरूको सेयर मूल्य हो,’ रौनियारले भने । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारप्रति राख्ने सकारात्मक धारणाले पनि पछिल्लो समय परिसूचक उकास्न मद्दत मिल्न छाडेको लगानीकर्ताको बुझाइ छ । बजार सुधारका लागि नीति नबनाउने, तर कुरा मात्रै गर्ने प्रवृत्तिका कारण अर्थमन्त्री पौडेलले चाहेर पनि नेप्से परिसूचक उचाल्न नसकेको रौनियारको टिप्पणी छ ।

राजावादीको गतिविधि र सरकार परिवर्तनको हल्लाले लगानीकर्ता सशंकित
गणतन्त्रात्मक व्यवस्थालाई नै असर पर्ने गरी केही समयदेखि राजावादी गतिविधि सक्रिय हुनु र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयपछि राजनीतिक क्षेत्र तरंगित छ । राजनीतिमा अस्थिरता देखिन थालेकाले लगानीकर्ताको मनोबल घटेर नेप्सेमा गिरावट आएको स्टक ब्रोकर व्यवसायी धर्मराज सापकोटाको विश्लेषण छ । ‘आउँदो शुक्रबार राजावादी र प्रमुख प्रतिपक्षी दलहरूले शक्ति प्रदर्शनको घोषणा गरिसकेका छन् । यस्ता राजनीतिक गतिविधिले बजार थप घट्छजस्तो लाग्छ,’ सापकोटाले भने ।

कुलमान हटाएपछि सत्ता साझेदर नेपाली कांग्रेसकै नेताहरूले सरकारको विरोध गर्दा सत्ता गठबन्धभित्रको खटपट उदांगिएको छ । ‘राजनीतिक क्षेत्र अन्योलतर्फ गएकाले लगानीकर्ता त्रसित भएर बजार घट्नु स्वाभाविक हो,’ उनले भने । मंगलबार नेप्सेका १३ वटै समूहको सूचकमा गिरावट आएको छ । फाइनान्स समूहको परिसूचक ३.५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको परिसूचक २.९९ प्रतिशतले घटेको छ । जलविद्युत् समूह ३.३१ प्रतिशतले घटेको छ । 

यी तीन ‘सिजनल’ असरले पनि सेयर बजार प्रभावित
- पछिल्लो समय अधिकांश सूचीकृत कम्पनीहरूले साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरिसकेका छन् । जसकारण आउँदा दिनमा सेयर खरिद गर्दा लाभांश नपाइने भएकाले पनि बजारमा लगानीकर्ताको आकर्षण घटेको हो ।

- चैत मसान्तसम्म राजस्वअन्तर्गत आयकरको दोस्रो किस्ता बुझाउने समय भएकाले बजारमा लगाएको पैसा झिकेर कर तिर्ने प्रवृत्तिले पनि बजारलाई सिजनल प्रभाव पार्ने गरेको छ । 

- बैंक तथा वित्तीय संस्थाका लागि चैत ऋण असुलीको समय पनि हो । यो समयमा बैंकहरू नयाँ ऋण प्रवाह नगरी असुलीमा केन्द्रित हुन्छन् । बैंकको साँवा–ब्याज तिर्न सेयर बिक्री गरेर भए पनि पैसा जुटाउने प्रवृत्ति छ ।