
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल लाई नियुक्त गरेको छ । क्यानको भैरहवामा बसेको केन्द्रिय कार्यकारी समितीको वैठकले स्टुअर्टलाई दुई वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको प्रवक्ता छुम्बी लामाले बताएका छन् । ‘क्यानले आगामी २ वर्षका लागि स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो,’ लामाले भने ।
गत माघमा भारतका मोन्टी देसाइसँगको सम्झौता नविकरण नगरेपछि क्यानले ३ फागुनमा नयाँ प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । २८ फेब्रुअरीसम्मको मिति राखेर खुलाइएको आवेदनमा ७० जनाभन्दा बढीले आवेदन दिएका थिए । क्यानले त्यसमध्येबाट अन्तिम १० जनासँग सर्ट लिस्ट बनाएर अन्तरवार्ता लिएको थियो । यसै १० जनामध्येबाट स्टुअर्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
अस्ट्रेलियाबाट एकमात्र टेस्टको अनुभव
नेपालका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्टले अस्ट्रेलियाबाट एकपटक मात्र टेस्ट खेल खेलेका छन् । उनले सन् १९९५ मा श्रीलंकाविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । करिअरकै एकमात्र टेस्टमा उनले ५४ रनको नटआउट इनिङ्स खेले । एकदिवसीय खेलमा अस्ट्रेलियाबाट ५४ खेलमा एक शतक तथा सात अर्धशतकको मद्दतमा उनले एक हजार दुई सय ३७ रन बनाए । पहिलो श्रेणीमा उनले ३६७ खेलमा २७ हजार ८० रन बटुले । उनले अन्तिमपटक अस्ट्रेलियाबाट सन् १९९९ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । उनीसँग इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई प्रशिक्षण दिएको अनुभव छ । सन् २०११ को एकदिवसीय विश्वकपछि उनलाई श्रीलंकाले कार्यवाहाक प्रशिक्षक बनाएको थियो । त्यसपछि उनले बंगलादेशको क्रिकेट हेरेका थिए ।