मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Friday, 28 March, 2025
२o८१ चैत १३ बुधबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टुकी र दियालोको भरमा रहेका मकवानपुरका चेपाङका घरमा बल्यो बिजुली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार o६:o७:oo

घरमा बिजुली बलेपछि खुसी हुँदै टुलकुमारी प्रजाले भनिन्–हाम्रै पालामा गाउँमा बिजुली आयो 
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका– ९, डनटारकी टुलकुमारी प्रजाले ७० वसन्त पार गरेपछि बल्ल आफ्नै घरमा बिजुलीको उज्यालो पाइन् । टुकी र दियालोको भरमा जीवन गुजारा गरेकी प्रजाले सोमबार बिजुलीको स्विच अन गर्दा घर मात्रै उज्यालो भएन, टुलकुमारीको अनुहार पनि उज्यालो भयो ।  

नेपाल विद्युत् प्राधिकरणको ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत सोमबारबाट राक्सिराङ– ६, ७ र ९ मा एकैपटक बिजुली बालिएको हो । योसँगै नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले राक्सिराङलाई पूर्ण वडा विद्युतीकरण भएको घोषणा गरे । त्यसअघि घिसिङले ट्रान्समिटरको स्विच अन गरेका थिए । घिसिङको घोषणासँगै टुलकुमारीजस्ता थुप्रै चेपाङ र तामाङ परिवारको घरमा बिजुली बलेको छ । 

‘बिजुली बलेपछि साँझ–बिहान घरभित्र र बाहिरको काममा सजिलो हुने भयो,’ खुसी हुँदै टुलकुमारीले भनिन्, ‘हाम्रै पालामा गाउँमा बिजुली आयो ।’ वर्षौँदेखि सल्लाको दियालो र टुकीमा साँझ–बिहान गर्दै आएकी टुलकुमारीलाई यति सजिलै गाउँमा बिजुली आउँछ भन्ने विश्वास रहेनछ । तर, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष वनस्तम थिङसहित पूर्वजनप्रतिनिधिसमेत लागेपछि राक्सिराङ पूर्ण वडा विद्युतीकरण भएको हो ।

पूर्ण वडा विद्युतीकरण कार्यक्रमअन्तर्गत घिसिङले वडा नम्बर ६, ७ र ९ का ३३० घरधुरीलाई निःशुल्क बिजुलीको मिटरसमेत वितरण गरेका छन् । टुकी र दियालोको भरमा जीवनयापन गर्दै आएका विपन्न र आर्थिक अवस्था कमजोर भएकाका लागि विद्युत् मिटर वितरण गरिएको हो । झन्डै ५ हजार पर्ने ती विद्युत् मिटर प्राधिकरणले अति सीमान्तकृत जाति चेपाङका लागि निःशुल्क प्रदान गरेको हो ।

अब नौवटै वडाका हरेक घरमा बिजुली पुर्‍याइने गाउँपालिका अध्यक्ष मल्लले बताए । ‘विद्युतीकरण हुन बाँकी तीनवटा वडामा सोमबार पहिलोपटक बिजुली त ल्यायौँ, तर वडाका सम्पूर्ण भागमा बिजुली पुर्‍याउन अझै समय लाग्छ,’ उनले भने, ‘गाउँपालिकाभित्रका झन्डै १५ सय घरधुरी अझै बिजुलीको पहुँचबाट बाहिर छन् । आगामी दुई आर्थिक वर्षभित्र सबैको घरमा बिजुली पुर्‍याउने लक्ष्य छ ।’ ०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसंख्या रहेको राक्सिराङमा पाँच हजार ४४ घरधुरी छन् । जसमध्ये झन्डै ४४ प्रतिशत बढी चेपाङ समुदायको बसोबास छ । 

राक्सिराङ पूर्ण वडा विद्युतीकरण घोषणा
३३० घरधुरीलाई झन्डै पाँच हजार पर्ने विद्युत् मिटर प्राधिकरणले अति सीमान्तकृत जाति चेपाङका लागि निःशुल्क दिएको हो

यसरी सुरु भएको थियो बिजुली पुर्‍याउने अभियान

मकवानपुरकै दुर्गम रहेको राक्सिराङमा ०७६/७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतमा सञ्चालन गर्दै आएको विद्युतीकरणको कामलाई विद्युत् प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रममार्फत सम्पन्न गरेको अध्यक्ष मल्लले बताए ।

उनका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड र पछि बागमती प्रदेश सरकारले एक करोड थप गरी अन्य प्राधिकरणको सहयोगमा ६ करोडले वडामा बत्ती पुर्‍याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम भएको थियो । पछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत् कार्यक्रममार्फत ३० करोड रुपैयाँ थप गरिदिएपछि अभियानलाई अघि बढाएको हो ।

यो कार्यक्रममार्फत सबै वडामा विद्युत्को पहुँच पुगे पनि अझै सबै नागरिकको पहुँचमा विद्युत् सेवा पुर्‍याउन बाँकी रहेको उनले बताए । अहिले पनि बिजुली नपुगेका स्थानमा विद्युतीकरण गर्न आठ करोड रुपैयाँमा ठेक्का लागेको र काम सुरु भइसकेको अध्यक्ष मल्लले बताए ।