मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Wednesday, 02 April, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ चैत ३ आइतबार o६:३३:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साढे २९ हजार कैदीबन्दीमा साढे १८ हजार बिरामी

६ हजार २८३ लाई विभिन्न दीर्घरोग, १२ हजार ३७५ जना दाँत, आँखा र छालाका बिरामी

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार o६:३३:oo
  • केन्द्रीय कारागार अस्पतालमा सीमित रोगको मात्रै उपचार, छैन आइसियू र भेन्टिलेटर
  • गृहमै थन्कियो कारागार सुधार कार्यदलले दिएको प्रतिवेदन

देशभरका ७६ कारागारमा एक हजार ६३० महिलासहित २९ हजार ४३५ कैदीबन्दी छन् । जसको ६३ प्रतिशतभन्दा धेरै अर्थात् १८ हजार ६५८ कैदीबन्दी बिरामी छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार क्यान्सर, मिर्गौला फेल, एचआइभी, दमजस्ता दीर्घरोग लागेका कैदी ६ हजार २८३ छन् भने १२ हजार ३७५ कैदीमा दाँत, आँखा र छालाको समस्या छ । 

क्यान्सरका ३२, मिर्गौला फेल भएका २९, प्रेसरका एक हजार ९७८, मधुमेहका एक हजार १२ र मुटुरोगका १०९ बिरामी कैदीबन्दी रहेको केन्द्रीय कारागार अस्पतालको तथ्यांक छ । त्यस्तै, हेपाटाइटिस बी र सी १५४, मानसिक रोग एक हजार ६७, क्षयरोग १५६, एचआइभी १३३ र दम ३२८ कैन्दीबन्दीलाई छ । १५० लाई पत्थरी, ३३० लाई हाडजोर्नी तथा नसासम्बन्धी रोग, ११० लाई यौन तथा भिरिंगी, १४४ लाई थाइराइड र १२१ जनालाई कुष्ठरोग छ भने बाँकी ४३० जनामा अन्य विभिन्न दीर्घरोग छ । विभिन्न दीर्घरोगबाट ग्रसित ६ हजार २८३ कैदीबन्दीको उपचारमा सरकारले ठुलो रकम खर्च गर्दै आएको छ । 

स्वास्थ्य बिमा केन्द्रीय कारागार अस्पतालमा उपचार गर्दा मात्रै लागू हुन्छ । तर, यहाँ सीमित रोगको मात्रै उपचार हुन्छ । अन्य अस्पतालमा उपचार गर्दा सरकारले पैसा तिर्नुपर्छ । त्यसो त बिमा गरेका कैदीबन्दी बिरामी पनि ९३३ मात्रै छन् । अरूका लागि सरकारले नै पैसा तिर्नुपर्छ । उनीहरूको उपचारमै सरकारले वार्षिक औसत १५ करोड विनियोजन गर्ने गरेको छ । तर, यो रकम कहिलेकाहीँ अपुगसमेत हुने गरेको केन्द्रीय कारागारका सूचना अधिकारी डा. कमल ढुंगानाले बताए । 

‘सरकारले छुट्याएको रकम र बिमाबाट कैदीबन्दीलाई उपचार गराइन्छ, तर बिमा ९३३ जनाको मात्रै छ, अन्यको उपचारमा खर्च गर्नुपर्छ, अझ जटिल रोग लागेकामा ठुलो रकम खर्च हुन्छ,’ उनले भने, ‘त्यसकारण उनीहरूलाई रोग लाग्न नदिन के गर्ने भन्नेबारे पनि सोच्नुपर्छ, कैदीबन्दीको उपचारमा करोडौँ खर्च हुनु राज्यका लागि घाटा पनि हो ।’ 

कारागार व्यवस्थापन विभागका अनुसार रोगको अवस्था हेरेर उपचारमा सहजीकरणका लागि बिरामी कैदीबन्दीलाई कारागार स्थानान्तरण पनि गरिन्छ । उपत्यकाबाहिरका कारागारका बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्‍यो भने केन्द्रीय कारागार अस्पताल वा यो अस्पतालले समन्वय गरेका अन्य अस्पतालमा पुर्‍याइन्छ । मानसिक रोगीलाई उपचार गर्न नक्खु कारागार लगिन्छ र त्यहाँबाट समन्वय भएको अस्पतालमा उपचार गर्न लगिन्छ । त्यस्तै, क्यान्सर भएकालाई भरतपुर क्यान्सर अस्पताल लगिन्छ भने अन्य जटिल रोग देखिएकालाई केन्द्रीय कारागार अस्पतालमा लगिन्छ । यहाँबाट कारागार अस्पतालले अन्य अस्पतालमा आवश्यकताअनुसार रेफर गर्छ । 

सुन्धाराका तीन कारागार भवनभित्र मात्रै एक हजार ६३१ बिरामी छन् । महिला बन्दी बसेको भवनमा २१३, बन्दीगृहमा ९२३ र जगन्नाथ देवल भवनमा ४९५ कैदीबन्दी बिरामी छन् । 

  • नारायणप्रसाद भट्टराई महानिर्देशक, कारागार व्यवस्थापन विभाग
  • चिन्ताले जिउँदो शरीर जलाउँछ भन्छन् । कैन्दीबन्दीहरू अलि चिन्तामै हुन्छन्, त्यसैले पनि रोग बढेको हुन सक्छ । धेरैमा मानसिक रोग बढेको देखिन्छ । शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने गरी काम गर्नुपर्छ, विभागले एक वर्षमा ४० कारागारमा मनोसामाजिक परामर्श दिने गरी काम गरिरहेको छ । त्यस्तै, कैदीबन्दीलाई योग, ध्यान र अभ्यास पनि गराउन थालेका छौँ । कारागारभित्र इलम (विभिन्न काम) गर्नेमा रोग कम देखिएको छ भने काम नगर्नेमा बढी समस्या देखिएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई अधिकांश कैदीबन्दी चिन्ताका कारण रोगी बन्ने गरेको बताउँछन् । ‘चिन्ताले जिउँदो शरीर जलाउँछ भन्छन् । कैन्दीबन्दीहरू अलि चिन्तामै हुन्छन्, त्यसैले पनि रोग बढेको हुन सक्छ । धेरैमा मानसिक रोग बढेको देखिन्छ,’ उनले भने, ‘शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने गरी काम गर्नुपर्छ, विभागले एक वर्षमा ४० कारागारमा मनोसामाजिक परामर्श दिने गरी काम गरिरहेको छ । त्यस्तै, कैदीबन्दीलाई योग, ध्यान र अभ्यास पनि गराउन थालेका छौँ । कारागारभित्र इलम (विभिन्न काम) गर्नेमा रोग कम देखिएको छ भने काम नगर्नेमा बढी समस्या देखिएको छ ।’

केन्द्रीय कारागार अस्पतालमा सीमित रोगको मात्रै उपचार, छैन आइसियू र भेन्टिलेटर
देशभरका कैदीबन्दीलाई लक्षित गरेर सुन्धारामा खोलिएको केन्द्रीय कारागार अस्पतालमा सीमित रोगको मात्रै उपचार हुन्छ । अस्पतालमा ३० वटा ओपिडी बेड छन् । इमर्जेन्सी बेड तीनवटा मात्रै छन् । 

आइसियू र भेन्टिलेटरको सुविधा अस्पतालमा नभएकाले गम्भीर खालका बिरामीको उपचार यहाँ सम्भव छैन । छालासम्बन्धी उपचारका लागि सामान्य अप्रेसनबाहेक अन्य कुनै पनि अप्रेसन हुँदैन । अप्रेसन गर्नुपर्ने वा अन्य जटिल समस्या भएका कैदीबन्दीलाई अर्कै अस्पताल दौडाउनुपर्छ । 

अन्यत्र लैजानुपर्ने बिरामीलाई पनि सरकारी अस्पतालमै लगिन्छ । हाल केन्द्रीय कारागार अस्पतालले वीर, त्रिवि शिक्षण, ट्रमा सेन्टरसहित देशभरका १९ अस्पतालसँग समन्वय गरेको छ । केन्द्रीय कारागार अस्पतालमा उपचार गराइरहेकालाई रेफर गर्नुपर्‍यो भने यही अस्पतालले समन्वय गरिएका अस्पतालमा पठाउँछ ।

केन्द्रीय कारागार अस्पतालमा मेडिकल जनशक्ति पनि अभाव छ । हाल पाँच विशेषज्ञ चिकित्सक र अन्य ६ एमबिबिएस चिकित्सक छन् । त्यस्तै, सातजना नर्स छन् भने अन्य सहयोगी छन् । जम्मा ६७ जनाको दरबन्दी रहेको अस्पतालमा हाल ७० जना जनशक्ति छ । अस्पतालको ओपिडी सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सञ्चालन हुन्छ भने इमर्जेन्सी २४सै घण्टा खुला रहन्छ । एक बिरामीबराबर कम्तीमा दुई सुरक्षाकर्मी खटाइएको हुन्छ । उनीहरूको कुरुवाका रूपमा समेत सुरक्षाकर्मीले नै सेवा गर्छन् । 

केन्द्रीय कारागार अस्पतालमा सामान्य उपचार सेवा मात्रै भएपछि अधिकांश बिरामी अन्य अस्पतालमा जाने गर्छन् । कारागार अस्पतालका सूचना अधिकारी डा. ढुंगानाले केन्द्रीय कारागार अस्पतालमा सीमितलाई मात्रै उपचार गर्न सकिने बताए । ‘कारागारभित्र रहेकामा विभिन्न प्रकारका रोग देखिएको छ, अहिलेको अवस्थामा कैदीबन्दीको उपचार गर्ने विशेष अस्पताल यही अस्पताल हो,’ उनले भने, ‘तर, यहाँ सीमितलाई मात्रै उपचार गर्न सकिन्छ । अलि जटिल र समस्याग्रस्त बिरामी भएमा समन्वय भएका अस्पतालमा लैजान्छौँ ।’ उनका अनुसार केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि आउने अधिकांश उपत्यकाभित्र कैद भुक्तानी गरिरहेका बिरामी नै हुन्छन् । त्यसमा पनि केन्द्रीय कारागारकै धेरै हुने उनले बताए । कतिपयलाई काठमाडौंमै राखेर उपचार गर्नुपरेमा केन्द्रीय कारागारमा सारेर उपचारको प्रबन्ध पनि मिलाउने गरिन्छ ।

यस्तै, उपत्यकाबाहिर रहेका कारागार कार्यालयले पनि नजिकको सरकारी अस्पतालमै समन्वय गरेर कैदीबन्दीको उपचार गराउँछन् । ती कारागारले जिल्ला, प्रादेशिक र संघीय अस्पतालमा उपचार गराउन लैजान्छन् । कोही बिरामीले आफैँले पैसा तिर्ने प्रतिबद्धता जनाएमा भने उसको इच्छाअनुसार निजी अस्पताल पनि लैजाने गरिएको छ ।

गृहमै थन्कियो कारागार सुधार कार्यदलले दिएको प्रतिवेदन
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा कारागार व्यवस्थित गर्न र त्यहाँका समस्या समाधान गर्न कारागार सुधार कार्यदल गठन भएको थियो । कारागार व्यवस्थापन विभागका पूर्वमहानिर्देशक काशीराज दाहाल पनि उक्त कार्यदलमा सदस्य थिए । कार्यदलले अध्ययन गरेर कारागार सुधारका सुझावसहित प्रतिवेदन बुझायो । कैदीबन्दीलाई सीप सिकाएर उद्यममा जोड्नुपर्ने र सक्रिय जीवनशैलीले मानसिक तथा शारीरिक दुवै रूपमा स्वस्थ रहने सुझाव दिइएको थियो । तर, अहिलेसम्म पनि प्रतिवेदन गृहमै थन्किएको छ । 

‘मसमेत सदस्य रहेको कार्यदलले त्यतिवेलै कारागार सुधारका लागि सुझावसहितका प्रतिवेदन बुझाएको थियो, तर कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘कैदीबन्दीलाई सीप सिकाएर उद्यममा लगाउनुपर्ने, त्यसलाई घरेलु उद्योगकै रूपमा विकास गर्न सकिनेलगायत सुझाव थियो । तर, अहिले प्रतिवेदन कहाँ छ थाहा छैन ।’

कारागारमै एकोहोरिन्छन् रायमाझी
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगीसम्बन्धी मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका टोपबहादुर रायमाझी पनि समय–समयमा कारागार अस्पतालमा उपचारका लागि आउँछन् । तर, कहिले कारागार अस्पतालसँग अनुमति लिएर वीर अस्पताल जान्छन् । ‘उहाँलाई ढाडको समस्या छ, कहिलेकाहीँ यहाँ उपचारका लागि आउनुहुन्छ, कहिलेकाहीँ वीरमा जानुहुन्छ,’ सूचना अधिकारी डा. ढुंगानाले भने । 

कारागारमा रहेका रायमाझी पछिल्लो समय अलि फरक देखिएका छन् । सुरुसुरुमा आउँदा ठिकै देखिने उनी अचेल बढी नै निराश देखिने र एकोहोरिने गर्छन् । कारागारका जेलर कृष्णबहादुर कटुवालका अनुसार रायमाझी बिहान पत्रपत्रिका पढ्ने, आगन्तुकसँग भेट्ने र कुराकानी गर्ने गर्छन् । तर, उनले कतिपय कुरा बिर्सने गर्छन् । वेलावेलामा एकोहोरिन्छन् । सुरुमा आउँदा कारागारका कर्मचारीसँग हाँस्ने, बोल्ने उनी अचेल त्यति धेरै बोल्दैनन् । 

‘उहाँ यहाँ बस्न थालेको पनि धेरै नै भयो, अचेल अलि बिर्सिने बानी भएजस्तो लाग्छ, कारागारमा आउने आफन्तसँग उहाँले कुराकानी गर्नुहुन्छ, कुनै–कुनै वेला पत्रपत्रिका पनि पढ्नुहुन्छ,’ कटुवालले भने । अचेल रायमाझीलाई भेट्न शीर्ष नेताहरू नआएको उनको भनाइ छ । परिवार र कार्यकर्ता भने पालैपालो भेट्न पुग्छन् । 

कैदीबन्दीको उपचारमा मात्रै वार्षिक १५ करोड खर्च
स्वास्थ्य बिमा केन्द्रीय कारागार अस्पतालमा उपचार गर्दा मात्रै लागू हुन्छ । तर, यहाँ सीमित रोगको मात्रै उपचार हुन्छ । अन्य अस्पतालमा उपचार गर्दा सरकारले पैसा तिर्नुपर्छ । त्यसो त बिमा गरेका कैदीबन्दी बिरामी पनि ९३३ मात्रै छन् । अरूका लागि सरकारले नै पैसा तिर्नुपर्छ । उनीहरूको उपचारमै सरकारले वार्षिक औसत १५ करोड विनियोजन गर्ने गरेको छ । तर, यो रकम कहिलेकाहीँ अपुगसमेत हुने गरेको केन्द्रीय कारागारका सूचना अधिकारी डा. कमल ढुंगानाले बताए । ‘सरकारले छुट्याएको रकम र बिमाबाट कैदीबन्दीलाई उपचार गराइन्छ, तर बिमा ९३३ जनाको मात्रै छ, अन्यको उपचारमा खर्च गर्नुपर्छ, अझ जटिल रोग लागेकामा ठुलो रकम खर्च हुन्छ,’ उनले भने, ‘त्यसकारण उनीहरूलाई रोग लाग्न नदिन के गर्ने भन्नेबारे पनि सोच्नुपर्छ, कैदीबन्दीको उपचारमा करोडौँ खर्च हुनु राज्यका लागि घाटा पनि हो ।’

आठ महिनामै कैदीबन्दीको उपचारमा सात करोड ७८ लाख खर्च 
सरकारले चालू आर्थिक वर्षमा कैन्दीबन्दीको उपचारका लागि केन्द्रीय कारागार अस्पताललाई १४ करोड ९१ लाख २८ हजार बजेट छुट्याएको छ । त्यसमध्ये पछिल्लो आठ महिनामा मात्रै सात करोड ७८ लाख खर्च भएको छ । वीर अस्पताललाई ६० लाख तिर्न बाँकी छ । 

कारागार व्यवस्थापन विभागका पूर्वमहानिर्देशक काशीराज दाहाललाई प्रश्न–कारागारमा बिरामी किन यति धेरै?

- पहिलो त कैदीबन्दीको संख्याअनुसार कारागार छैनन् । क्षमताभन्दा दोब्बर–तेब्बरसम्म कैदीबन्दी राख्नुपर्ने बाध्यता छ । यसले कारागारमा भिड छ । अति भिडका कारण बसाइ र सुताइ सहज छैन । त्यसले कैदीबन्दीमा मानसिकसँगै प्रेसर र सुगरको समस्या बढ्दै छ । यी समस्याले विभिन्न दीर्घरोग निम्त्याउँछ ।

- कैदीबन्दीमा छालासम्बन्धी रोग अझ धेरै छ । क्षमताभन्दा बढी बन्दी भएकै कारण उचित सरसफाइ हुन सकेको छैन । उचित सरसफाइ नहुँदा छालासम्बन्धी रोग निम्तिनु र भिडका कारण एकबाट अर्कोमा फैलिनु कारागारको जटिल समस्या बनेको देखिन्छ । 

- नियमित स्वास्थ्य जाँच नहुनु पनि कारागारभित्रको एक प्रमुख समस्या हो । नियमित स्वास्थ्य जाँच हुने हो भने रोग सामान्य छँदा नै पहिचान भएर समयमै उपचार गर्न सकिन्छ । तर, रोग लागेर जटिल बनेपछि मात्रै थाहा हुँदा ‘क्रोनिक’ भइसकेको हुन्छ । त्यसैले कारागारमा दीर्घरोगी पनि उल्लेख्य छन् ।

- कारागार अस्पतालमा कैदीबन्दीको चापको तुलनामा स्वास्थ्य जनशक्ति न्यून छ । कारागार अस्पतालमा स्वास्थ्यकर्मी जानै मान्दैनन् । त्यसैले बिरामी हुँदा समयमै उपचार पाएका छैनन् । त्यस्तै, औषधि नियमित सेवन गर्न सक्ने अवस्था पनि छैन । 

- कारागारमा बिरामीको संख्या न्यूनीकरण गर्ने हो भने गम्भीर प्रकारका रोगीलाई छुट्टै राख्न पनि आवश्यक छ । पछिल्लो समय त कैदीबन्दीले अधिकारले दिएको सुविधा पनि पाएका छैनन् ।