
काठमाडौंमा टिपरका कारण भएको दुर्घटनाले दुई जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका कागेश्वरी मनहरा र शनिबार बिहान काठमाडौंको तीनकुनेमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन्।
काठमाडौं महानगरपालिका ३२ तीनकुने गौरीगाउँमा शनिबार बिहान साढे चार बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र३–०२ –००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोक पनौती ११ का सुकराम तामाङको मृत्यु भएको र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का रमेश तामाङ घाइते भएका छन्। दुर्घटनापछि फरार भएको टिपर विमानस्थल भन्सार कार्गाेभित्र भेटिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
उता, कागेश्वरी मनहरा वडा नम्बर १ स्थित सानीटारीमा पनि टिपरकै कारण मोटरसाइकल चालकले ज्यान गुमाएका छन्। बा ५ ख ११६८ नम्बरको टिपरले एक बोलेरो गाडी टुचिन लगाएर तान्दै गरेकोमा सो गाडीमा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अनुज ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो। टिपर चालक अशोक रोक्कालाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना शुक्रबार बेलुका साढे सात बजेको समयमा भएको हो।
पछिल्लो एक महिनायता काठमाडौंमा टिपरका कारण दुर्घटना बढेको छ। एक साताअघि साँखुको एक अनाथालयमा टिपर छिर्दा तीन जनाले ज्यान गुमाएका थिए। त्यस्तै, दुई साताअघि तीनकुनेमै टिपरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको थियो।