
विवाहसम्बन्धी विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३, बेलासपुरमा दुई पक्षबिच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेहरूमध्ये गम्भीर घाइते पाल्हिनन्दन–३ का ३५ वर्षीय विजय धवलको उपचारको क्रममा भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले बताए ।
झडप मंगलबार बिहान पौने १० बजेदेखि सुरु भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीलाई दुई घण्टा लागेको थियो ।
अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउन्ड अश्रु ग्यास र तीन राउन्ड हवाई फायरसमेत गर्नुपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।
उनका अनुसार पाँच सर्वसाधारण, १२ जना प्रहरी र चारजना सशस्त्र प्रहरी गरी २१ जना घाइते भएका थिए। २१ घाइतेमध्ये एकजनाको निधन भएको छ। पाल्हिनन्दन–३ का ४५ वर्षीय बैजनाथ लोहनी र मोहरम सबरियाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ । अन्यको पृथ्वीचन्द अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्। प्रहरीको गाडीमा आगो लगाउने पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
सोमबार साँझ पनि झडप भएको र मंगलबार बिहान पुनः सोही विषयलाई लिएर पुनः झडप भएको थियो । विवादको यकिन कारण भने नखुलेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सयजना परिचालन भएको उनले बताए ।
प्रेम विवाहको विषयलाई लिएर झडप भएको स्थानीयले बताए पनि प्रहरीले भने कारण नखुलेको जनाएको छ ।
प्रहरीको बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको छ । दुई फरक समुदायका केटाकेटीको प्रेम विवाहसम्बन्धी विवाद बढ्दै जाँदा झडपको स्थिति आएको बताइएको छ ।
आक्रोशित केटा पक्षधर समूहले सोही ठाउँमा रहेको मोहरमको कवाड गोदाम र प्रहरीको गाडी जलाएका थिए । उनीहरूले बलेको टायर फालेर प्रहरीको गाडी जलाउन थालेपछि हवाई फायर गरेको थियो । आगजनीबाट इलाका प्रहरी कार्यालय महेशपुरको गाडी बा१झ ७४४८ नम्बरको गाडी जलेर क्षति भएको प्रहरी निरीक्षक थापाले बताए ।
आगजनीमा संलग्न भएको आरोपमा पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।