मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण ७ बुधबार o८:१o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीका कारण ५९.३८%ले घट्यो निर्जीवन बिमाको नाफा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o८:१o:oo

जीवन बिमा कम्पनीको नाफामा भने वृद्धि

१०–१२ असोजको बाढीपहिरोले दाबी बढाएपछि चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो ६ महिनामा निर्जीवन बिमा कम्पनीहरूको नाफा ५९.३८ प्रतिशतले घटेको छ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले गत आवको पहिलो ६ महिनामा तीन अर्ब नौ करोड ७८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तर, चालू आवको पहिलो ६ महिनामा भने एक अर्ब २५ करोड ८४ लाख ४५ हजार मात्रै नाफा कमाएका छन् । त्यसमा पनि दुई कम्पनी घाटामा देखिएका छन् । 

बिमा कम्पनीले बुधबारसम्म सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । त्यसमा दुई कम्पनी घाटामा नै देखिएका छन् । समीक्षा अवधिमा दी ओरियन्ट इन्स्योरेन्स १९ करोड ७५ लाख ४१ हजार रुपैयाँ र नेसनल इन्स्योरेनस ३६ करोड ९८ लाख ६८ हजार रुपैयाँले घाटामा छन् । यीबाहेक १२ कम्पनी नाफामा छन् । तर, अधिकांशको नाफामा गिरावट आएको वित्तीय विवरणले देखाएको छ । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पछिल्लो बाढीपहिरोकै कारण नाफा प्रभावित भएको बताए । ‘यसै पनि बैंकको ब्याजदर घटेपछि बिमा कम्पनीहरूले मुद्दती निक्षेपबाट गर्ने आम्दानी घटेको छ । त्यसमाथि १०–१२ असोजको बाढीबाट क्षतिग्रस्त भएका क्षेत्रबाट अर्बाैँ रुपैयाँको दाबी परेको छ । त्यसमा हामीले भुक्तानी दिन सुरु गरेका छौँ । साथै, भुक्तानी दिन बाँकी दायित्वबापत पनि निश्चित रकम प्रोभिजनिङ गरेर राखेका छौँ,’ उनले भने, ‘त्यसले गर्दा यसपालि नाफा प्रभावित भएको छ । यो वर्ष नाफा बढ्ने सम्भावना एकदमै न्यून छ ।’

बाढीका कारण निर्जीवन बिमा कम्पनीहरूमा १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँको दाबी परेको छ । त्यसमा हालसम्म दुई अर्ब ५० करोड २० लाख रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी भुक्तानीबापत कम्पनीहरूले आवश्यक रकम प्रोभिजनिङ गरेर राखेका छन् । प्राविधिकबाट क्षति मूल्यांकन गर्दै दाबी भुक्तानी दिने काम निरन्तर भइरहेको कम्पनीह बताउँछन् ।

नाफा कमाउने मामिलामा पहिलो नम्बरमा राष्ट्रिय बिमा कम्पनी देखिएको छ । यो कम्पनीले यो ६ महिनामा ३४ करोड ६६ लाख ८८ हजार नाफा कमाएको छ । यसैगरी, शिखरले २५ करोड ७३ लाख, सिद्धार्थ प्रिमियरले २२ करोड ५० लाख, हिमालयन एभरेस्टले १५ करोड ९८ लाख, नेकोले १५ करोड ६० लाख, आइजिआई प्रुडेन्सियलले १४ करोड ३० लाख र सानिमा जिआइसीले १२ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यसैगरी, प्रभुले १२ करोड, नेपाल इन्स्योरेन्सले आठ करोड ६० लाख, एनएलजीले सात करोड ४५ लाख, युनाटेड अजोडले ६ करोड ९६ लाख र सगरमाथा लुम्बिनीले ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । 

लघु निर्जीवन बिमा कम्पनीको नाफा ३६.२७ लाख
समीक्षा अवधिमा चार निर्जीवन लुघबिमा कम्पनीको नाफा भने ३६ लाख २७ हजार रुपैयाँ रहेको छ । त्यसमा स्टार माइक्रोले १४ लाख ४५ हजार, ट्रस्ट माइक्रोले १२ लाख पाँच हजार, प्रोटेक्टिभ माइक्रोले सात लाख ३४ हजार र नेपाल माइक्रोले दुई लाख ४३ हजार रुपैयाँ नाफा कमाएका छन् । 

जीवन बिमा कम्पनीको नाफामा भने वृद्धि
समीक्षा अवधिमा जीवन बिमा कम्पनीको नाफामा भने १४.८४ प्रतिशतको वृद्धि देखिएको छ । जीवन बिमातर्फ पनि १४ कम्पनी सञ्चालनमा छन् । त्यसमा गत आवको पहिलो ६ महिनामा उनीहरूले तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालू आवको ६ महिनामा भने तीन अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन् । बिमांकीय मूल्यांकनपछि कम्पनीको नाफा थप बढ्न सक्नेछ । बिमांकीय मूल्यांकनका क्रममा बिमांकीले बिमा कोषमा भएको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सक्नेछन् ।

समीक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै ४६ करोड ८१ लाख नाफा कमाएको छ । यसैगरी, हिमालयन लाइफले ३७ करोड ६२ लाख, रिलायबल नेपाल लाइफले ३५ करोड तीन लाख, सन नेपाल लाइफले २८ करोड २२ लाख, नेसनल लाइफले २७ करोड ९१ लाख, आइएमई लाइफले २६ करोड ७८ लाख, एसियन लाइफले २५ करोड तीन लाख, सानिमा रिलायन्सले २३ करोड १६ लाख र सिटिजन्स लाइफले २३ करोड नौ लााख रुपैयाँ नाफा कमाएका छन् । 

यसैगरी, मेट लाइफले २२ करोड २५ लाख, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख, प्रभु महालक्ष्मीले १८ करोड २५ लाख र एलआइसी नेपालले १४ करोड १८ लाख खुद नाफा कमाएका छन् । यस्तै, राष्ट्रिय जीवन बिमा कम्पनीले ८० लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । 

जीवन लघुबिमा कम्पनीको नाफा २.१४ करोड
समीक्षा अवधिमा जीवन लघुबिमा कम्पनीले भने दुई करोड १४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका छन् । त्यसमा गार्डियन माइक्रो लाइफले एक करोड १५ लाख ८३ हजार, लिबट्री माइक्रो लाइफले ५८ लाख ५२ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४० लाख १७ हजार रुपैयाँ नाफा कमाएका छन् ।