
किर्गिस्तानविरुद्ध घाइते भएकी डिफेन्डर निशा थोकरलाई आराम गर्न चिकित्सकको सल्लाह
नेपाली राष्ट्रिय महिला टोलीकी डिफेन्डर निशा थोकरले फोर नेसन्स कपका बाँकी खेल गुमाउने भएकी छिन् । प्रतियोतिगाको सोमबार नेपालले किर्गिस्तानविरुद्ध १–० को जित निकाल्दा निशा गम्भीर घाइते भएकी थिइन् । उनी इन्जुरी समयमा किर्गिस्तानकी डिफेन्डर नगिमा तुरालेइभासँग ठोक्किन पुगेकी थिइन् । निधारमा चोट लागेपछि उनलाई तत्कालै एम्बुलेन्सको सहायतामा त्रिपुरेश्वरमै रहेको ब्लुक्रस अस्पताल पुर्याएको थियो ।
‘निशाको निधारमा आवश्यक टाँका लगाइएको छ, अहिले चिकित्सकहरूले उनलाई आराम गर्न भनेका छन्,’ एन्फा प्रवक्ता सुरेश शाहले भने । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित सेन्टर ब्याक खेलाडी अमृता जैशीको स्थानमा निशालाई किर्गिस्तानविरुद्ध प्लेइङ ११ मा स्थान दिएका थिए । एन्फाले निशाको टाँका नखोलुन्जेलसम्म आराम दिने जनाएको छ । ‘निशालाई आराम दिनुपर्ने भनी चिकित्सकले जानकारी हामीलाई दिएका छन्,’ शाहले भने, ‘यसैकारण उसले फोर नेसन्स कपका बाँकी खेल गुमाउने सम्भावना छ ।’
घाइते निशा सोमबारै साँझ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी अहिले बेड रेस्टमा छिन् । अस्पतालले उनलाई बुधबारै फलोअपका लागि बोलाएको छ । यसैबिच, मुख्यप्रशिक्षक तामाङले खेलको अवस्थाअनुसार निशालाई खेलाउने वा नखेलाउने टुंगो लाग्ने बताए । नेपालले च्याम्पियनसिपअन्तर्गत बिहीबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । सहभागी टोलीमध्ये माथिल्लो फिफा वरीयतामा रहेको म्यानमारसँग लेबनान ३–१ ले पराजित भएको थियो ।
नेपाली टोलीमा चोटको समस्या
पछिल्लो समयमा महिला राष्ट्रिय टोलीमा खेलाडीहरूको चोट समस्या बन्दै गएको छ । विशेष गरी डिफेन्सका खेलाडी विभिन्न प्रतियोगितामा घाइते भएका छन् । गत कात्तिकमा साफ महिला च्याम्पियनसिपमा हीराकुमारी भुजेल भुटानविरुद्धको खेलमा घाइते भएकी थिइन् । सोही साफ च्याम्पियनसिपमा मिडफिल्डर दीपा शाही पनि घाइते भइन् । यी दुवै खेलाडीका चोट निको भएको छैन । प्रशिक्षक तामाङले फोर नेसन्समा डिफेन्समा राम्रो गर्न सक्ने भनी निशालाई स्थान दिएका थिए । तर, निशा पनि घाइते हुँदा अब डिफेन्स लाइनमा समस्या आउने देखिन्छ ।