मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार १८:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद

बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १८:२५:oo

२५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो ।

एनआरटीले १०औँ संस्करण र २४औँ संस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो । उपाधिसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गर्दा उपबिजेता भएको चर्च ब्वाइजले नगद पाँच लाख पुरस्कार जितेको छ । प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको २४औँ मिनेटमा रोहन कार्कीको फ्रिकिकलाई कप्तान अनन्त तामाङले हेड गोल गरेका थिए ।

गोल खाएको तीन मिनेट नबित्दै एनआरटीले बराबरी गर्‍यो। खेलको २७औँ मिनेटमा एनआरटीको रोबर्टले प्रहार गरेको कर्नरमा चर्च ब्वाइजका गोल किपर क्रिसल मोक्तानले पञ्च गर्न नसक्दा डिबक्सभित्र रुमल्लिएको बललाई हेनरी पोकोले जाली चुमाएका थिए । उनै हेनरीले नै एनआरटीका लागि दोस्रो गोल गरे । खेलको ५८औँ मिनेटमा चर्च ब्वाइजका डिफेन्स डिका सेर्गेबाट बल खोस्दै उनले उत्कृष्ट गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधि तेस्रोपटक जित्दा चर्च ब्वाइज भने पहिलोपटक बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको थियो । उपाधि बिजेता टिमको सूचीमा नाम लेखाउने सपना चर्च ब्वाइजले पूरा गर्न सकेन ।

यो सिजनमा एनआरटी र चर्च ब्वाइज चारवटा प्रतियोगितामा आमनेसामने हँुदा तीन वटाको फाइनलमा दुई टोली उपाधिका लागि खेलेका छन् । बुढासुब्बा गोल्डकप र इलाम गोल्डकपको उपाधि भिडन्तमा एनआरटीले चर्च ब्वाइज पराजित गर्‍यो भने चर्च ब्वाइजले झापा कपको उपाधि भिडन्तमा एनआरटीलाई पराजित गरेको थियो।

शिशिर लेखी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी
व्यक्तिगत विधातर्फ पनि एनआरटीले वर्चस्व कायम रह्यो। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए। उनलाई नगद एक लाख पुरस्कार प्रदान गरिएको थियो।

हाई स्कोर चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोंग घोषित भए। उनीहरूले समान तीन गोल गरेका थिए। उनीहरूलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो।

यस्तै, प्रतियोगिताको बेस्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेस्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेस्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, बेस्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेस्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५  हजार पुरस्कारस्वरूप प्रदान गरिएको थियो।