छिमेकी भारतको उत्तरप्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा किचिएर ३० जना तीर्थयात्रीको मृत्यु भएको पुष्टि भएको छ । बुधबार बिहान १ देखि २ बजेको बिचमा अखाडा मार्गमा रहेको ब्यारिकेड भत्किएपछि तीर्थयात्री उग्रभिडतर्फ जाने क्रममा घटना भएको हो । घटनामा ३० जनाको मृत्यु भएको प्रहरीले बुधबार साँझ पुष्टि गरेको छ ।
६ हप्ता लामो धार्मिक पर्वको सबैभन्दा शुभ स्नान दिनमध्ये एक बुधबार ‘मौनी अमावस्या’ थियो । यस अवसरमा ‘अमृत स्नान’का लागि लाखौँ हिन्दु भक्तजन घाटहरूमा भेला हुँदा घटना भएको भारतीय प्रहरीले जनाएको छ ।
‘महाकुम्भमा बिहान सबेरै भएको भागदौडले बुधबार एक पवित्र जमघटलाई विनाशको दृश्यमा परिणत गर्यो, जसमा कम्तीमा ३० जनाको मृत्यु भयो र ६० जना घाइते भए’ कुम्भ मेलामा खटिएका भारतीय प्रहरीका डिआइजी वैभव कृष्णलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ ।
बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा डिआइजी वैभव कृष्णले भने, ‘ठुलो भिडका कारण ब्यारिकेडहरू भत्किए, जसको परिणामस्वरूप भागदौड मच्चियो । ब्रह्म मुहूर्तको पर्खाइमा रहेका भक्तहरूलाई भिडले कुल्चिन थाल्यो । प्रशासनले तुरुन्तै उद्धार कार्य थाल्यो र एम्बुलेन्सहरूका लागि ग्रिन करिडोर सञ्चालन गरेर ९० घाइतेहरूलाई अस्पताल पुर्यायो । दुर्भाग्यवश, तीमध्ये ३० जना भक्तहरूको मृत्यु भएको छ ।’
घटनामा नेपाली नागरिक परेको जानकारी नआएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘अहिलेसम्म नेपाली नागरिक परेको विषयमा हामीलाई जानकारी छैन,’ नेपाली राजदूतावासका काउन्सिलर एसएसपी सञ्जीव शर्मा दासले नयाँ पत्रिकासँग भने ।
उत्तरप्रदेश प्रशासनले बुधबार १० करोडभन्दा बढी भक्तजनको उपस्थिति अनुमान गरेर सुरक्षा व्यवस्था बढाएको थियो । ‘अखाडा मार्गमा रहेको ब्यारिकेड भत्केपछि भिडले बिहान १ देखि २ बजेको बिचमा अर्कोतर्फ लाग्ने क्रममा दुःखद घटना भयो,’ डिआइजी कृष्णले भने ।
घटनाको छानबिनका लागि उत्तरप्रदेश सरकारले न्यायाधीश हर्ष कुमार, पूर्वडिजी बिके गुप्ता र सेवानिवृत्त आइएएस डिके सिंह सम्मिलित तीनसदस्यीय न्यायिक आयोग गठन गरेको छ । भारतका विपक्षी दलहरूले भाजपा नेतृत्वको सरकारको अव्यवस्थाका कारण घटना भएको भन्दै आलोचना गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् ।