नारदमुनि थुलुङ स्मृति गोल्डकपमा सलहेश क्लब सिराहा सेमिफाइनलमा प्रवेश गरेको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहाको नारदमुनि थुलुङ स्मृति रंगशालामा जारी दसौँ संस्करणको प्रतियोगितामा एलएक्स सिटी फुटबल क्लब मोरङलाई २–१ गोल अन्तरले हराउँदै सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।
बिहीबार खेलको पहिलो हाफको २३औँ मिनेटमा सलहेश युवा क्लबका जर्सी नम्बर ७ का श्याम मुर्मुले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, पहिलो हाफकै ४०औँ मिनेटमा एलएक्स सिटी फुटबल क्लब मोरङ जर्सी नम्बर १२ का रोहन कार्कीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याएका थिए।
खेलको दोस्रो हाफको ६०औँ मिनेटमा सलहेश युवा क्लब जर्सी नम्बर १७ का मिलन राईले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका थिए। आजको खेलमा सलहेश युवा क्लबका मिलन राई म्यान अफ द म्याच भएका थिए।
भोलि शुक्रबारको खेल न्यू त्रियुगा स्पोर्टस् क्लब सप्तरी र एभरेस्ट फुटबल क्लबबिच खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल २२ माघमा हुनेछ। विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख २५ हजार पाउँदा म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईले बताए। यसैगरी, प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही पाँच हजार नगदसहित कप र मेडल प्रदान गरिनेछ।