बागमती प्रदेश सभाको शुक्रबार बस्ने बैठकमा विधेयक पेस नहुने भएको छ। ४ महिनापछि बस्ने तय भएको प्रदेश सभाको १५औँ अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश मात्र दिने कार्यसूची निर्धारण गरिएको हो।
बिहीबार साँझ बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बिहान ११ बजे बस्ने संसद्को कार्यसूचीमा दलीय रूपमा शुभकामना सन्देश दिने कार्यसूची तयार गरेको हो। प्रदेश सभा सचिवालयका अनुसार सदनमा दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण भएको सभामुख भुवनकुमार पाठकले बताए।
उनका अनुसार शुक्रबार नै संसद्को स्थापना दिवस रहेकाले मन्तव्यको कार्यसूचीपछि बैठक स्थगित गरिनेछ। सोपश्चात् हाउसका गतिविधि र कार्यसूचीका विषयमा सत्तापक्ष र प्रतिपक्षको छलफलपछि निर्णय हुने उनले बताए।
सत्तापक्ष दल नेपाली कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक गोविन्द लम्सालले शुक्रबार संसद् खुलाएर मन्तव्यको कार्यसूची तय गरिएको बताए। सोपश्चात् सत्तापक्षले छलफल प्रारम्भ गरी प्रतिपक्षको मागका सन्दर्भमा सम्बोधन गरेर अघि बढ्ने उनले बताए। १८ गते हाउस रोकिएपछि दलहरूबिच छलफल गरेर २३ माघबाट नियमित रूपमा सञ्चालनको वातावरण तयार गरिने उनको भनाइ छ।
सहमति कार्यान्वयनविना थप कार्यक्रम अघि बढ्दैन
प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारको बैठकमा शुभकामना मन्तव्यबाहेकका कार्यसूची अघि बढ्न नसक्ने जनाएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा हाउसमा विधेयक पेस गर्ने र छलफल गर्ने प्रस्ताव आए पनि उक्त विषय अघि बढाउन नसकिने तर्क माओवादीसहितका विपक्षी दलहरूले गरेका थिए।
माओवादी बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसद्को स्थापना दिवस भएकाले शुभकामना मन्तव्यबाहेकका कार्ययोजना अघि नबढ्ने बताए। कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयक पेस तथा अन्य प्रस्तावहरू पनि आएको उनले बताए। तर, सरकारले प्रतिपक्षसँगको सहमति कार्यान्वयनको वातावरण नबनाएकाले संसदमा विधेयक पेस गर्ने तथा अन्य गतिविधि अघि नबढ्ने उनको भनाइ छ।
दलगत रूपमा नेताहरूले मन्तव्य राखेपछि संसद्को थप कारबाही रोकिने उनले बताए। प्रतिपक्ष दलहरूसँगको सहमति र कार्यदलको प्रतिवेदनको कार्यान्वयनको वातावरण नबनेसम्म संसद्को गतिविधि अघि बढ्न नसक्ने उनले बताए।