Skip This
प्रेरक प्रसंग : सन्तको चिन्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ १७ बिहीबार o५:५७:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सन्तको चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार o५:५७:oo

एक अत्यन्त सम्पन्न तथा मान, सम्मान र प्रतिष्ठा आर्जन गरेका मुखिया थिए । उनकी एक छोरी थिइन् । उनी अत्यन्त धर्मपरायण थिइन् । साथै, उनी वैराग्यपूर्ण भावनाबाट ओतप्रोत थिइन् । छोरीको त्यस्तो विरक्तपूर्ण भाव देखेर मुखियाले उनको विवाह एक अत्यन्त ज्ञानी सन्तसित गरिदिए । उनी छोरीको धर्मपरायण भावमा कुनै ठेस पुर्‍याउन चाहँदैनथे ।

छोरीले आफ्नो इच्छाअनुसार जीवन व्यतीत गर्न सकून् भन्नेमा उनी पूर्णतः सचेत थिए । विवाहपछि महलमा हुर्किएकी मुखियाकी छोरी सन्तको कुटीमा आइपुगिन् । उनी खुसी–खुसी कुटीको सरसफाइमा जुटिन् । सरसफाइका क्रममा उनले कुटीको छानामा दुइटा सुक्खा रोटी घुसारिराखेको देखिन् । अचम्म मान्दै उनले पतिसित त्यसको कारण सोधिन्– यी रोटी हजुरले यहाँ किन राख्नुभएको हो, पतिदेव ? 

सन्तले जवाफ दिए– आज त हामीले तिम्रा मातापिताको घरमै मिठो–मसिनो खाएर आइहाल्यौँ । अब भोलि फेरि कताबाट खानेकुरा जुटाउनु ? त्यसैले, मैले भोलि एउटा–एउटा रोटी खाएर गुजारा गरौँला भनेर त्यसलाई त्यहाँ राखेको हुँ । 

पतिको कुरा सुनेर उनी मुसुक्क मुस्कुराइन् र भनिन्– पिताले त तपाईंलाई निकै ठुला वैरागी तथा अपरिग्रही सन्त ठानेर मेरो विवाह गराइदिनुभएको थियो । तर, तपाईं त भोलिका लागि आजैदेखि चिन्ता गर्नुहुँदो रहेछ । आजैदेखि भोलिको चिन्ता गर्ने मान्छे सच्चा सन्त हुन सक्दैन । भोलिको चिन्ता त घाँस खाने जनावरले समेत गर्दैनन् भने हामी त मान्छे हौँ । केही भेटियो भने खाउँला, नभेटिए भगवान्को नाम लिएर बसौँला । भोलिका लागि बेकारमा आजैदेखि चिन्ता लिएर किन आफैँलाई दुःखी बनाइरहनु ? 

सन्तले आफ्नी पत्नी आफूभन्दा पनि दश कदम अघि रहेको महसुस गरे । उनी मनमनै पत्नीप्रति नतमस्तक भए । प्रकटमा उनले भने– तिमीले मेरा आँखा खोलिदियौ । तिमी धन्य छ्यौ ।