मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ १० बिहीबार o७:o८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकामा टिकटकको संकट टरेको हो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार o७:o८:oo

गत आइतबार संयुक्तराज्य अमेरिकामा टिकटक बन्द भयो । टिकटकको माउ कम्पनी बाइटडान्सलाई यसको स्वामित्व त्याग्न वा सञ्चालन बन्द गर्न दिइएको समयसीमा आइतबार समाप्त भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अप्रिलमा ‘फरेन एडभाइसरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट(पिएएफएसिए)’नामक कानुनमा हस्ताक्षर गरेर बेइजिङमा मुख्यालय रहेको यस कम्पनीलाई यो समयसीमा दिइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि १७ करोड अमेरिकी नागरिकले चलाउने यो एप पुनः सञ्चालनमा आयो । 

ट्रम्पले सत्ता सम्हालेपछि एपलाई थप ७५ दिन प्रतिबन्ध नगर्न सम्बन्धित निकायलाई आदेश दिने गरी कार्यकारी आदेश(एक्जिक्युटिभ अर्डर) जारी गरेका छन् । ट्रम्पको कदमले केही समयका लागि राहत दिए पनि अमेरिकामा टिकटकको समस्या अझ यथावत् छ । ७५ दिनसम्म अमेरिकी नागरिकलाई नबेचिए पुनः यो प्रतिबन्धित हुन सक्छ । 

अलग रूपमा, सर्वोच्च अदालतमा एपविरुद्ध कानुनी मुद्दा पनि चलिरहेको छ, जहाँ टिकटकको अमेरिकी शाखाले एप प्रतिबन्ध भएमा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन हुने भन्दै मुद्दा दायर गरेको छ । टिकटक प्रतिबन्धले एकातर्फ लाखौँ प्रयोगकर्ता प्रभावित हुने कुरा त छँदै छ साथमा यसले अमेरिकामा लोकप्रिय रहेका अन्य चिनियाँ एपहरू ‘क्याप–कट’, ‘सियाओ–होङ्सु’, ‘लेमन८’, ‘अलिपे’ र ‘विच्याट’विरुद्ध अमेरिकाले कस्तो व्यवहार गर्नेछ भन्ने नजिर स्थापित गर्न सक्छ ।

अमेरिकी सांसद टिकटकप्रति यसकारण छन् चिन्तित
अमेरिकी अधिकारीहरूले टिकटक एपलाई राष्ट्रिय सुरक्षा जोखिम मान्न थालेका छन् । यसको माउ कम्पनीको मुख्यालय चीनमा भएकाले बेइजिङले एपमार्फत करोडौँ अमेरिकी नागरिकहरूको जासुसी गर्ने र सजिलै दुष्प्रचार फैलाउन सक्ने चिन्ता अमेरिकी नीति–निर्मातामाझ व्याप्त छ । टिकटकको माउ कम्पनी बाइटडान्स एक निजी कम्पनी हो । तर, चिनियाँ सरकारले आफ्नो घरेलु प्रविधि उद्योगमा केही हदसम्म प्रभाव पार्ने गरेको विगतको दृष्टान्त देखिन्छ । 

अमेरिकी सांसदहरूले प्रश्न उठाउन थालेपछि बाइटडान्सले सन् २०२२ मा अमेरिकी प्रविधि कम्पनी ओरेकलसँग साझेदारी गरेको थियो । साझेदारीअनुरूप अमेरिकी नागरिकका डेटा अमेरिकाभित्रैका सर्भरमा भण्डारण हुने व्यवस्था बन्यो । तर, यतिले मात्र अमेरिकी कांग्रेस आश्वस्त हुन सकेन । त्यसैले संसद्मा नमिल्ने दुई प्रमुख दलका सांसदहरूले एक स्वरमा प्रतिबन्ध पक्षमा उभिए ।

वासिङ्टन, डिसीस्थित जेन्समा आबद्ध वरिष्ठ चिनियाँ विश्लेषक क्लेयर चुका अनुसार चीनलगायतका विश्वका कैयौँ देशका सरकारहरू स्वदेश र विदेशमा रहेका जनताको भावना बुझ्न सामाजिक सञ्जालमा भरपर्ने कुरा स्थापित नै छ । प्रतिबन्ध रोक्न टिकटकले दायर गरेको मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले जनवरी १० मा सुनुवाइ राखेको थियो । अदालतले अझै आफ्नो फैसला जारी गरिसकेको छैन । तर, सुनुवाइका क्रममा टिकटकले पेस गरेको तर्कप्रति अधिकाशं न्यायाधीश विश्वस्त हुन सकेनन् ।

मुख्यतः प्रतिबन्धले अमेरिकीहरूको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हुने टिकटकको तर्कमा उनीहरूको ‘रिजरभेसन’ छ । तथापि, ‘इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसन(इएफएफ)’जस्ता अधिकारवादी समूहहरूले टिकटकमाथिको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने बताउँछन् । यस्ता प्रकरणले अमेरिकी नागरिकको व्यक्तिगत डेटा सुरक्षित गर्र्न आवश्यक कानुनको निर्माणका लागि गर्नुपर्ने बहस अन्यत्र मोड्ने इएफएफका अधिकार बताउँछन् ।

इएफएफका नागरिक स्वतन्त्रता निर्देशक डेभिड ग्रिनका अनुसार विदेशी प्रतिद्वन्द्वीहरूले चाहे भने डेटा ब्रोकरसँग खुला बजारबाटै अमेरिकी नागरिकको तथ्यांक खरिद गर्न सक्ने अवस्था छ । ‘उपभोक्ताहरूको बृहत्तर गोपनीयतासम्बन्धी कानुन लागू गर्न कांग्रेसले देखाएको असफलताको कारण, विश्वभरका निगम अमेरिकीहरूको डेटा संकलन गर्न, तिनको भण्डारण गर्न र त्यसको निरन्तर प्रयोग र बिक्रीमार्फत मुनाफा कमाउन स्वतन्त्र छन्,’ ग्रिनले अल जजिरालाई भने, ‘कुनै एउटा देशको सामाजिक सञ्जाल एपको प्रतिबन्ध वा जबर्जस्ती बिक्रीले मात्र अमेरिकीहरूको तथ्यांक सुरक्षित गराउन सक्दैन ।’

– अल जजिराका लागि एरिन हेलको आलेख