प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) सकिएको महिना दिन बितेको छ । तर, यसको चर्चा अझै सेलाएको छैन । एनपिएललाई मुख्य प्रायोजन गरिरहँदाको अनुभव कस्तो रह्यो ?
नेपालको खेलकुद क्षेत्रको विकास र विस्तारमा सिद्धार्थ बैंक हिजोका दिनमा पनि प्रत्यक्ष—परोक्ष जोडिँदै आएको सर्वविदितै छ । यसै क्रममा हामीले नेपालमा नेपाल क्रिकेट एसोसिएसन (क्यान)को आयोजनामा एनपिएलको फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना हुने जानकारी पायौँ, हामीलाई लाग्यो यदि यो प्रतियोगिताको सफल आयोजना हुन सक्यो भने नेपालको क्रिकेटको विकास र विस्तारमा कोसेढुंगा बन्न सक्छ । यसै सन्दर्भमा क्यानका पदाधिकारीसँगको छलफलमा एनपिएललाई भारतमा सञ्चालन हुने इन्डियन प्रिमियर लिग (आइपिएल) र हाम्रा अन्य छिमेकी मुलुक पाकिस्तान, बंगलादेश र श्रीलंकामा आयोजना हुने लिगसरह सञ्चालन गर्ने उहाँहरूको कुरा सुन्यौँ । त्यसपछि यस प्रतियोगिताको सफल आयोजनाका लागि सिद्धार्थ बैंकले हातेमालो गर्न उपयुक्त हुन्छ भन्ने लाग्यो । यसरी हामी एनपिएलको मुख्य प्रायोजकका रूपमा जोडिन पुग्यौँ र परिणामस्वरुप ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’को नामबाट यस प्रतियोगिताको प्रथम संस्करण अपार सफलताका साथ सम्पन्न भयो । यति ठूलो र सफल लिगको मुख्य प्रायोजक बन्न पाउँदा हामी खुसी छौँ ।
एनपिएलले नेपालको क्रिकेटको विकास र विस्तारमा कसरी सहयोग पुर्याउन सक्छ ?
यो प्रतियोगिता फ्रेन्चाइजी प्रतियोगिता हो । हामीले हेरिहाल्यौँ, प्रतियोगिताको प्रथम संस्करणमा देशका विभिन्न प्रदेश र सहरका नामबाट आठवटा टोलीको निर्माण गरिएको थियो । हरेक टोलीमा बढीमा चारजना विदेशी खेलाडी र बाँकी अन्य स्वदेशी खेलाडी रहनुपर्ने प्रतियोगिताको अवधारणाअनुरूप हरेक फ्रेन्चाइजीले आफ्नो टिमलाई सशक्त बनाउन प्रख्यात विदेशी खेलाडीलाई टिममा समावेश गरेका थिए । भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गप्टिल, जेम्स निसम, बेलायतका रवि बोपारा र पाकिस्तानका सोयल तन्विरजस्ता नाम कहलिएका खेलाडीको उपस्थितिले यस प्रतियोगितामा थप रौनकता प्रदान गर्यो । यस्ता नाम कहलिएका खेलाडीसँग डे«सिङ रुम सेयर गर्ने र उनीहरूसँगको अनुभव एवं कौशल साटासाटबाट नेपाली खेलाडीले आफ्नो खेल कौशलताको विकास गर्ने अवसर प्राप्त गरेका छन् ।
यसैगरी, स्पोर्टिङ करिअर तुलनात्मक रूपमा छोटो हुने र खेलेर जीविकोपार्जन गर्न कठिन हुने बुझाइका साथ कतिपय खेलाडीले खेल जीवनलाई निरन्तरता नदिएको र नयाँ पिँढी पनि उचित अर्थोपार्जन नहुने देखेर खेलप्रति कमै आकर्षित भएको देखिएको छ । यो अवस्थालाई पनि यस प्रतियोगिताले केही हदसम्म चिर्न सफल भएको छ । प्रतियोगितामा सहभागी प्रत्येक नेपाली खेलाडीले न्यूनतम दुई लाखदेखि आठजना मार्की खेलाडीले जनही २० लाख रुपैयाँसम्मको पारिश्रमिक पाउनु आफैँमा राम्रो पक्ष मान्न सकिन्छ । यसबाहेक प्रतियोगिताको प्रत्यक्ष प्रसारण भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्टस्बाट भएकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई विभिन्न देशका फ्रेन्चाइजी टोलीहरूले भित्र्याउने सम्भावनाको ढोकासमेत खोलिदिएको छ ।
एनपिएलसँग मुख्य प्रायोजकका रूपमा जोडिन के–कति मूल्यमा सम्झौता भयो भन्ने जनचासो पनि छ । यसलाई स्पष्ट पार्दिनुस् न !
लिग समाप्तसम्म पुग्दा–नपुग्दै यसले यति लोकप्रियता हासिल गर्यो कि, बहुसंख्यक मानिसले यसलाई प्रतियोगिताभन्दा पनि पर्वको उपमा दिन थाले । सिद्धार्थ बैंकले यस प्रतियोगितालाई पाँच वर्ष अवधिका लागि प्रचलित भ्याटबाहेक औसत वार्षिक तीन करोड ३० लाखमा मुख्य प्रायोजन सम्झौता गरेको हो । साथै, प्रतियोगितामा सिद्धार्थ बैंक एसोसिएट (आबद्ध) कम्पनीहरूलाई समेत सहभागी गराउने उद्देश्यका साथ सिद्धार्थ क्यापिटल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई समेत बैंकलाई प्राप्त हुने ब्रान्ड प्रवद्र्धन राइट्स सेयर गरी संलग्न गराइएको थियो । फलस्वरूप, उल्लिखित सम्झौता रकमको वार्षिक एक करोडबराबर एसोसिएट कम्पनीहरूले सेयर गरेका कारण बैंकको वास्तविक प्रवद्र्धन खर्च दुई करोड ३० लाख रुपैयाँ हुन आउँछ ।
नेपालको सन्दर्भमा उक्त सम्झौता रकम केही ठूलो देखिए पनि मित्र राष्ट्र भारतमा आयोजना हुने यस्तै प्रतियोगिता आइपिएलको ख्याति र उक्त प्रतियोगिताको प्रायोजन रकमको तुलनामा एनपिएलको मुख्य प्रायोजन रकमलाई समुचित मान्न सकिन्छ । जुन प्रकारले प्रथम संस्करणमै यस प्रतियोगिताले सफलता प्राप्त गर्न सक्यो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ संस्करणसम्म पुग्दा यस प्रतियोगिताले अझ बढी लोकप्रियता हासिल गर्न सफल हुने विश्वास लिएका छौँ ।
‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’जस्ता प्रतियोगिताको आयोजनाबाट नेपालको अर्थतन्त्रमा के–कस्तो सकारात्मक प्रभाव पार्न सक्ने देख्नुहुन्छ ?
दक्षिण एसियाका भारतलगायत अधिकांश मित्र राष्ट्रमा क्रिकेट लोकप्रिय छ । भारतमा क्रिकेटलाई एक धर्म र चर्चित खेलाडीलाई भगवान्का रूपमा हेरेको देखिन्छ । यस्ता क्रिकेटिङ जाइन्ट मुलुकहरूका बिचमा रहेर पनि नेपालले क्रिकेट खेलमा अपेक्षित फड्को मार्न नसकेको तथ्य कटुसत्य हो । विगतका कैयौँ वर्षदेखि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि आजका दिनसम्म पनि देशमा एउटा सुविधासम्पन्न स्टेडियम बन्न सकेको छैन । तथापि, नेपाली क्रिकेटले विगत एक दशकमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा देखाएको उपस्थिति र बलिया क्रिकेटिङ राष्ट्रहरूसमक्ष पेस गरेका चुनौतीपूर्ण खेलले नेपालको सफल भविष्यलाई प्रतिबिम्बित गरेको छ ।
राज्यले पूर्वाधारको विकास र नेपाल क्रिकेट एसोसिएसनले विभिन्न संरचनात्मक क्रिकेटको आयोजनालाई निरन्तरता दिन सक्ने हो भने भोलिका दिनहरूमा नेपाललाई स्पोर्टिङ टुरिजम सेन्टरका रूपमा विकास गर्ने सम्भावना देखिन्छ । राम्रो भौतिक संरचनाको विकास गरी भारत र पाकिस्तानजस्ता देशहरूको क्रिकेट टुर्नामेन्ट आयोजनाका लागि न्युट्रल भेन्युका रूपमा नेपाललाई प्रोजेक्ट गर्न सकियो भने नेपालको हस्पिटालिटी र टुरिजम व्यवसायलाई ठुलो सहयोग पुग्ने देखिन्छ ।
प्रतियोगिताको आयोजनाका क्रममा वेस्ट इन्डिजका सर्वकालीन महान् खेलाडी ब्रायन चाल्स लाराको नेपाल भ्रमण तथा ब्रायन लारा र शिखर धवनजस्ता हस्ती खेलाडीबाट एभरेस्ट बेसक्याम्पको अवलोकन र उहाँहरूबाट नेपालको प्राकृतिक सुन्दरता र नेपालीबाट प्राप्त आतिथ्यताको विभिन्न सामाजिक सञ्जालमा मुक्तकण्ठले गर्नुभएको प्रशंसाबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पहिलो संस्करणमै एनपिएलले झन्डै एक अर्बको कारोबार गर्न सफल भएको विभिन्न सञ्चारमाध्यमबाट सुन्नमा आएको छ र यो आफैँमा सुखद पक्ष हो । यस प्रतियोगिताको आयोजनाबाट होटेल, यातायात तथा साना तथा मझौला व्यवसायीहरूको व्यवसाय प्रवद्र्धनमा सहयोग पुगेको देखिन्छ ।
एनपिएलको मुख्य प्रायोजन गरेर सिद्धार्थ बैंकलाई के–कस्तो लाभ भयो ?
आफ्नो ब्रान्ड प्रमोसनमा ध्यान दिनुपर्ने तथ्यलाई मध्यनजर गर्दै हामी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजन गर्ने निर्णयमा पुगेका हौँ । हाम्रो यस निर्णयका मुख्य आधार भनेको नेपाली क्रिकेटले विगत एक दशकमा प्राप्त गरेको उल्लेख्य प्रगति, क्रिकेटको बढ्दो लोकप्रियता, नेपाली क्रिकेटले आगामी दिनहरूमा प्राप्त गर्न सक्ने थप उचाइ, आइपिएलजस्ता फ्रेन्चाइज लिगको बढ्दो लोकप्रियता र बढ्दो फ्यान फलोइङ नै हो । त्यस्तै, यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस् च्यानलबाट गरिनुले पनि सिद्धार्थ बैंकको ब्रान्ड भिजिबिलिटी देश–विदेशमा समेत बढाउने अवसर प्राप्त हुने भएकाले पनि हामीले मुख्य प्रयोजन गरेका हौँ ।
क्रिकेटबाहेक अरू खेलकुदका क्षेत्रमा पनि जोडिने योजना छ कि ?
देशको समग्र खेलकुदको विकास र विस्तारको क्षेत्रमा जोडिन सिद्धार्थ बैंक सधैँ सकारात्मक छ । क्रिकेटजस्तै फुटबल, भलिबल र कबड्डी पनि नेपालमा त्यतिकै लोकप्रिय खेल रहेका छन् । आशा गरौँ, सिद्धार्थ बैंकको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सफल प्रायोजनपश्चात् अन्य बैंक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट हाउस पनि यसैगरी विभिन्न खेल प्रतियोगितासँग जोडिँदै जानुपर्छ ।