सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा रु. २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।
गत आवको ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा कार्यालयको राजस्व संकलनमा रु. एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालू आवको साउन महिनामा रु. तीन अर्ब ७५ करोड २२ लाख राजस्व संकलन गर्याे । त्यस्तै, भदौ महिनामा रु. चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु. चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु. तीन अर्ब ७९ करोड २९ लाख राजस्व संकलन गरेको थियो ।
त्यस्तै, मंसिर महिनामा रु. तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु. तीन अर्ब ५६ करोड २१ लाख राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवको ६ महिनाको अवधिमा भने रु. २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व संकलन गरेको थियो ।