कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा माघ मेला सुरु भएको छ । पश्चिम नेपालका थारू समुदायको लोकसंस्कृति संरक्षणका लागि कञ्चनपुरको बेलौरीमा माघ मेला सुरु भएको हो । आधुनिकतासँगै लोप भइरहेको संस्कृति संरक्षण प्रवर्द्धन, जगेर्ना गर्नका लागि मञ्चमार्फत नयाँ पुस्तालाई जानकारी गराउन बेलौरी नगर भलमन्सा समितिको आयोजनामा शुक्रबारदेखि माघ मेला सुरु भएको हो ।
मेलाको पूर्वखानेपानीमन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले उद्घाटन गर्दै थारू समुदाय सुदूरपश्चिम प्रदेशका संस्कृतिका गहना भएको बताउँदै, थारू समुदायको संस्कृति नेपालकै पहिचान भएकाले संरक्षणमा जोड दिइन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह विष्टले पनि थारू समुदायको कला–संस्कृति संरक्षण अपरिहार्य रहेको बताए । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले थारू समुदायको माघी पर्व संरक्षणका लागि स्थानीय सरकारले ऐन नै पारित गरेको बताए ।
संस्कृति पुस्तान्तरण गर्नका लागि नगर भलमन्सा समितिले बेलौरी नगरपालिकाको प्रवर्द्धनमा आउँदो शुक्रबारदेखि खुला मञ्चमा माघ मेला सञ्चालन गर्न लागेको जनाएको छ । तराईसहित देशका २२ जिल्लामा बसोबास गर्दै थारू समुदायको लोकसंस्कृति, परम्परा लोप भइरहेको अवस्थामा संस्कृति संरक्षणका लागि तीनदिने मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
बेलौरी नगर भलमन्सा समितिका सचिव एवं मेला आयोजक समितिका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्बा (चौधरी)ले आउँदै लागेको माघ महिना १ गतेदेखि थारू समुदायको माघी कार्यक्रमपूर्व माघ मेला सुरु गरेको बताए ।
०७८ सालमा बेलौरी नगरपालिकाले भलमन्सा ऐन पारित गरेको उत्सवमा थारू समुदायको लोकसंस्कृति, परम्परा संरक्षण प्रवर्द्धन एवं पहिचानका लागि मेला सञ्चालन गर्न लागेको बताए । उनका अनुसार ३० स्टल रहने मेलामा थारू समुदायकै लोकपरम्परागत खाने परिकार, कला, धर्म, संस्कृति, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् ।
थारू समुदायको लोकपरम्परागत खाने परिवारदेखिका सांस्कृतिक कार्यक्रमले पनि नयाँ पुस्तामा सञ्चारीकरण हुनेछ । उद्घाटनकै दिन बेलौरी नगरका प्राध्यापक, डाक्टर, ०७४ देखि ०७९ सम्म निर्वाचित आदिवासी जनजाति थारू समुदायका जनप्रतिनिधिलाई सम्मान, रक्तदान, नगरका सबै राष्ट्रिय खेलाडीलाई सम्मानसहितका विविध सामाजिक कार्यक्रमसमेत गरिएको छ । सांस्कृतिक कार्यक्रममा विभिन्न गाउँबस्तीका थारू समुदायको लोकसंस्कृति झल्किने नृत्य, स्थानीय एवं राष्ट्रिय कलाकारबाट थारू समुदायको सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।
‘दशक अघिदेखि हामीले बेलौरी खुला मञ्चमा घरमा सीमित रहेको हाम्रो कला–संस्कृति मञ्चमा ल्याएर प्रस्तुत गर्न लागेका छौँ,’ उनले भने, ‘अहिलेसम्म भएका सांस्कृतिक कार्यक्रमले समेत पुस्ता हस्तान्तरण गरेको पाइन्छ ।’ उनका अनुसार ०६८ सालमा थारू ओरल्ड अराउन्ड, ०७१ सालमा मोहराइन, ०७३ देखि थारू कल्याणकारिणी सभा र अहिले भलमन्सा ऐन पारित भएर कार्यान्वयनको अवस्थामा भलमन्सा समितिले नै मेला आयोजना गर्न लागेको छ ।
मेला सम्पन्न गर्नका लागि बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमरसिंह चौधरीको संयोजकत्वमा मूल समिति एवं उपसमितिहरू गठन गरिएको थियो । बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक अमरसिंह रानाले पछिल्ला वर्षहरूमा आधुनिकतासँगै थारू समुदायको लोकपरम्परा, कला–संस्कृति, प्रवर्द्धनका लागि मेला आयोजना गरिएको बताए । ‘बेलौरी नगरपालिका स्थानीय सरकारले समेत हामी थारू समुदायको भलमन्सालाई ऐन नै पारित गरेर कार्यान्वयन गरेको छ,’ उनले भने, ‘यो निकै स्वागतयोग्य कदम पनि हो, यसमा हामीले गर्व गरेका छौँ ।’
उनले देशका विभिन्न थारू बाहुल्य जिल्ला एवं पालिका सरकारले ऐन नै नबनाएको, बनाएको ऐन पनि कार्यान्वयन नगरेको अवस्थामा बेलौरी स्थानीय सरकारले आफूहरूलाई दिएको राजनीतिक हक–अधिकारको सदुपयोग गर्दै सामाजिक एकताका लागि समेत मेला मियो बन्ने बताए । उनले ०७८ सालमा स्थानीय सरकारले भलमन्सा ऐन ल्याएसँगै गाउँगाउँमा रहेका थारू समुदाय उत्साहित भएको बताए ।
मेला मूल आयोजक समितिका सचिवालय संयोजक लालबहादुर चौधरीले पछिल्ला वर्षहरूमा विदेशी संस्कृतिले नेपाली समाजमा जरा गाडिरहेको थारू समुदायको माघ मेलाले चिर्ने बताए । उनले सामूहिक रूपमा विभिन्न गाउँबस्तीबाट आउने सांस्कृतिक झाँकी कार्यक्रमले समेत विदेशी संस्कृति चिर्ने बताए । माघ मेलामा हजाराैँ नयाँ पुस्ताले अवलोकन गर्ने मेला थारू समुदायको लोक–संस्कृति संरक्षणमा कार्यक्रमले प्रवर्द्धन गर्ने आयोजकको अपेक्षा छ । तीन दिनसम्म सञ्चालन हुने मेला अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको छ ।