चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चालू आर्थिक वर्षमा २५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजनाअनुसार अहिले काम सुरु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले रु. ३७ लाख ५० हजार खर्चमा घाँसेमैदान व्यवस्थापन सुरु गरिएको बताउँदै कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढीराप्तीलगायत क्षेत्रमा बिस्तारै काम गरिने जानकारी दिए । उनले भने, ‘वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।’
घाँसेमैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरणसँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । अहिले कसरा क्षेत्रमा घाँसेमैदान व्यवस्थापन भइरहेको भन्दै हालसम्म ६० हेक्टर क्षेत्रफलमा काम सकिएको उनले जानकारी दिए ।
निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये आठ हजार ९५५.२ हेक्टर क्षेत्रफल घाँसेमैदानका लागि उपयुक्त मानिन्छ । गत वर्ष रु. ४० लाख ७० हजार खर्च गरेर ३७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गरिएको थियो । कोभिड अघिसम्म घाँसेमैदान व्यवस्थापनमा धेरै बजेट विनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून बजेटमा काम हुने गरेको थापामगरले बताए ।