राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका समस्या र सुधारका उपाय अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन भएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकले शिशिर खनालको नेतृत्वमा ‘नेपाल वायुसेवा निगम अध्ययन उपसमिति’ गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यहरूमा छिरिङ ल्हामु लामा तामाङ, योगे गौचन थकाली र सुनिता बराल रहेका छन् । नवगठित उपसमितिलाई एक महिनाभित्र निगममा देखिएका समस्या र सुधारका उपायहरू पहिल्याई सुझावसहितको प्रतिवेदन समितिलाई बुझाउन कार्यादेश दिइएको छ ।
पछिल्लो समय निगम अक्षम र भ्रष्ट व्यवस्थापनका कारण दिनप्रतिदिन धराशायी बन्दै गइरहेको छ । सामान्य सेड्युल मर्मतसम्भारका कामहरू समयमै गर्न नसक्दा निगमका जहाजहरू उड्नेभन्दा ग्राउन्डेड बढी भइरहेका छन् ।
इन्जिन मर्मतमा होस् वा सी–चेकका लागि महिनौँ लगाइदिँदा निगमको आम्दानी गुम्ने मात्र होइन, साख पनि गिर्दै गइरहेको छ । अन्तर्राष्ट्रिय उडान तालिका पनि अस्तव्यस्त हुने गरेको छ ।
निगमका जहाजको इन्जिन मर्मत वा सी–चेकका लागि एमआरओ (मेन्टेनेन्स, ओभरहल, अर्गनाइजेसन) छनोटमा पनि व्यापक चलखेल हुँदै आइरहेको स्रोत बताउँछ ।
समयमै इन्जिन मर्मत गर्न नसक्दा निगमको आन्तरिक उडान ठप्प छ । उडान आवर सकिएर दुईवटै ट्विनअटर विमान ग्राउन्डेड भएका छन् । जसमध्ये एउटा जहाज २३ जेठमै ग्राउन्डेड भएको थियो ।
अन्य छलफल तथा निर्णयहरू
१. संस्कृति, पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउने,
२. विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रहालयहरूको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्द्धमा जोड दिने,
३. मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालित विभिन्न आयोजना एवं निकायहरूको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउने,
४. पुरातात्त्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममूलक बनाई कार्य सम्पादनमा जोड दिने,
५. भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबिच सम्झौता, समन्वय एवं पहलकदमी लिने,
६. नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समय–समयमा समितिमा पेस गर्ने,
७.राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने,
८. पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउने,
९. देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरूको उपयोग योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउने,
१०. नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी १ (एक) महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न शिशिर खनालको संयोजकत्वमा निम्न सदस्य रहने गरी नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने ।