मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Wednesday, 08 January, 2025
टेकराज थामी काठमाडाैं
२o८१ पौष २४ बुधबार o८:५८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘फास्ट ट्रयाक’मा कारबाही हुनुपर्ने बलात्कार मुद्दा डेढ वर्षदेखि अदालतमा विचाराधीन 

मध्यपहाडी लोकमार्गका तत्कालीन प्रमुख हरिकुमार पोखरेलको मुद्दामा अस्वाभाविक चलखेल 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार o८:५८:oo

कानुनले बलात्कारसँग सम्बन्धित मुद्दा फैसला ‘फास्ट ट्रयाक’मा गर्नुपर्ने भनेको छ । तर, मध्यपहाडी लोकमार्ग बबरमहलका तत्कालीन प्रमुख हरिकुमार पोखरेल संलग्न बलात्कार मुद्दा डेढ वर्षदेखि अदालतमा विचाराधीन छ । 

काठमाडौं जिल्ला अदालतमा ५ भदौ ०८० मै पोखरेलविरुद्ध बलात्कार मुद्दा दर्ता भएको थियो । यसबिचमा मुद्दाको पेसी ३८ पटक चढिसकेको छ, तर फैसला अझै हुन सकेको छैन । मुद्दाको पछिल्लो पेसी गत २ पुसमा अदालतका न्यायाधीश कमला पौडेलको इजलासमा तोकिएको थियो, तर मुद्दाको फैसला हुन सकेन ।

रामु शर्मा, स्रेस्तेदार, जिल्ला अदालत काठमाडौं
बलात्कारजस्ता गम्भीर अपराधको मुद्दा ‘फास्ट ट्रयाक’ मा हेरिनुपर्ने कानुनी अवस्था हो । यो मुद्दा के कारणले ढिला हुन पुग्यो, यस सम्बन्धमा मुद्दाको विस्तृत विवरण हेरे मात्रै प्रतिक्रिया दिन सकिएला ।

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले मुद्दाको विवरण हेरेर मात्रै यस विषयमा प्रतिक्रिया दिन सकिने बताए । ‘बलात्कारजस्ता गम्भीर अपराधको मुद्दा ‘फास्ट ट्रयाक’मा हेरिनुपर्ने कानुनी अवस्था हो । तपाईंले भनेको मुद्दा के कारणले ढिला हुन पुग्यो, यस सम्बन्धमा मुद्दाको विस्तृत विवरण हेरे मात्रै प्रतिक्रिया दिन सकिएला,’ उनले भने ।

मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को दफा ९६ मा जबर्जस्ती करणीसम्बन्धी मुद्दाको कारबाही लगातार गरिनुपर्ने व्यवस्था छ । नियमावलीको उपनियम १ मा भनिएको छ, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि अनुसूची ३० मा उल्लिखित भएका नेपाल सरकार वादी भई चलेका फौजदारी मुद्दाको हकमा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाइ किनार गरिनेछ ।’ उपनियम १ को अनुसूची ३० मा लगातार कारबाही र सुनुवाइ गरिनुपर्ने मुद्दा भनी जबर्जस्ती करणीसम्बन्धी कसुरलाई पहिलो नम्बरमा राखिएको छ । त्यसपछि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर, गर्भ संरक्षणविरुद्धको कसुर, व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुर, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर र सर्वोच्च अदालतले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कसुरलाई लगातार कारबाही र सुनुवाइ गरिनुपर्ने मुद्दा भनी परिभाषित गरेको छ । 

तर, पोखरेल संलग्न रहेको जबर्जस्ती करणीसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको १७ महिना बितिसक्दा पनि किनारा लाग्न सकेको छैन । पोखरेल अहिले पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । पोखरेलबाट जबर्जस्ती करणीमा परेको भन्दै २६–परिसरले ५ साउन ०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका थिए । 

जाहेरवाला २६–परिसर पोखरेलको घरमा काम गर्ने घरेलु मजदुर हुन् । २७ फागुन ०७९ बाट काठमाडौं महानगरपालिका– ९ सिनामंगलस्थित पोखरेलको घरमा घरेलु मजदुरका रूपमा काम गर्दै आएकी थिइन् । सोही क्रममा पोखरेलले २६–परिसरलाई १० वैशाख ०८० जबर्जस्ती करणी गरेका थिए । यसअघि पनि पोखरेलले उनलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । घटना सम्बन्धमा उनले पोखरेलकी श्रीमतीलाई समेत जानकारी गराएकी थिइन् । तर, उनकी श्रीमतीले ‘नचाहिने कुरो’ भन्दै २६–परिसरलाई उल्टै हप्काएकी थिइन् । ८ असार ०८० मा पोखरेलले पुनः जबर्जस्ती करणी गर्न खोजेपछि भने २६–परिसरले मोबाइलबाट भिडियो खिचेकी थिइन् । 

उक्त भिडियो पोखरेलकी श्रीमतीलाई देखाएपछि मात्रै पोखरेल परिवार झस्किएको थियो । त्यसलगत्तै २६–परिसरलाई पोखरेलकी श्रीमतीले घटना मिलाउन १० देखि १२ लाख रुपैयाँको अफर गरेकी थिइन् । तर, २६–परिसर जाहेरी लिएर प्रहरी वृत्त गौशला पुगेकी थिइन् । प्रहरीले त्यसवेला उनको जाहेरी दर्ता गरेको थिएन । 

पीडितले आफ्नो पीडा सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि मात्रै जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेको थियो । मुद्दा मिलाउन भन्दै पोखरेलले आर्थिक प्रलोभनदेखि ज्यान मार्ने धम्की दिन विभिन्न व्यक्ति परिचालन गरेको पीडितको भनाइ छ । जसमध्ये पर्साको वीरगन्ज महानगरपालिका– १२ का ३६ वर्षीय रञ्जितकुमार जैसवाल, दैलेख डुंगेश्वरका २८ वर्षीय रामजी भनिने चेतन न्यौपाने, खोटाङ बतासेका ५५ वर्षीय भोजराज रेग्मी र काभ्रेको रोशी गाउँपालिका– ११ का ४१ वर्षीय अमन लामा भनिने अमन तामाङलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।