नेपाल सरकारले विभिन्न ३ खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार एक करोड एक लाख ४० हजार नगद पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को अनुसूची– ४ को बुँदा नम्बर १४ मा व्यवस्था भएको पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा महिला फुटबलबिच भलिबल र कराँतेका खेलाडी पुरस्कृत भएका हुन् ।
असोजमा चीनको हाङझावमा भएको २०औँ एसियाली सिनियर कराँते च्याम्पियनसिपका पदक विजेता समान एक खेलाडी र प्रशिक्षकलाई कुल सात लाख ८० हजार प्रदान गरियो । महिला ६८ केजीमाथि ऐतिहासिक रजत जितेकी एरिका गुरुङलाई ६ लाख तथा प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाख ८० हजार नगदद्वारा पुरस्कृत गरियो ।
गत साउनमा भुटानको थिम्पुमा भएको काभाबिच पुरुष तथा महिला भलिबल प्रतियोगिताका पदक विजेता चारजना खेलाडी र एक प्रशिक्षक गरी पाँचजनालाई जम्मा १९ लाख नगद पुरस्कार वितरण गरियो । स्वर्ण विजेता महिला टोलीका कमला पुन र मनीषाकुमारी चौधरीले जनही पाँच लाख नगद पुरस्कार प्राप्त गरे । रजत विजेता पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान ३–३ लाख नगद पुरस्कार हात पारे । दुवै टोलीका मुख्य प्रशिक्षक रूपेशकुमार विष्टले तीन लाख नगद पुरस्कार प्राप्त गरे ।
फुटबल खेलाडीलाई ७४ लाख ६० हजार पुरस्कार
कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपको रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीलाई ७४ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार दिइयो । टोलीमा कप्तान अञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृत जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता रानामगर, अमिशा कार्की, उषानाथ, विमला विक, समीक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडल, अनिता केसी, विमला चौधरी, अञ्जना रानामगर, निशा थोकर, सजनी ठोकर, दीपा शाही र सावित्रा भण्डारीले जनही ३ लाख नगद पुरस्कार पाए । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २ लाख, सहायक प्रशिक्षक भगवती थापा र सहायक प्रशिक्षक (गोलकिपिङ) विनोद महर्जनले समान ६०–६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिस्ट नविना श्रेष्ठले समान एक लाख २० हजार १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे ।