राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन : चालू आवको पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान, निर्माण क्षेत्रको वृद्धिदर अझै ऋणात्मक, व्यापारले गति लिनै सकेन
सरकारले अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा सरकारी तथ्यांकले नै त्यसको खण्डन गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक आर्थिक वृद्धिदर चार वर्षयताकै न्यून भएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ ।
कार्यालयले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा नेपालको आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेको छ । यो वृद्धिदर पछिल्ला चार आर्थिक वर्षको सोही अवधिको तुलनामा सबैभन्दा न्यून हो । चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।
अघिल्लो आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत थियो । त्यस्तै, आव ०७९/८० को पहिलो त्रैमासमा ४.६ प्रतिशत र त्यसअघि आव ०७८/७९ को पहिलो त्रैमासमा ३.८ प्रतिशतको आर्थिक वृद्धिदर रहेको कार्यालयको तथ्यांक छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्र अझै सुस्त रहेको देखाएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । ‘निर्माणका गतिविधि भएकै छैनन्, निर्माण व्यवसायीको भुक्तानी पनि दिइएको छैन, माग नहुँदा व्यापार अझै बढ्न सकेको छैन,’ उनले भने, ‘उद्योगको वृद्धिदर पनि अविश्वसनीय देखिन्छ, त्यति धेरै वृद्धिदर भएको जस्तो लाग्दैन ।’
कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले पहिलो त्रैमासमा अर्थतन्त्रको वृद्धि सामान्य देखिएको बताए । यद्यपि, समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख भएको उनको भनाइ छ । ‘कुल १८ वटा क्षेत्रमध्ये १७ क्षेत्रको वृद्धिदर धनात्मक छ, कृषि, विद्युत्, उद्योग, पर्यटनलगायत अधिकांश क्षेत्रको वृद्धिदर राम्रो छ, निर्माणमा झिनो संकुचन छ, व्यापार पनि सामान्य वृद्धि छ,’ उनले भने, ‘समग्रमा अर्थतन्त्र सकारात्मक वृद्धितर्फ अघि बढेको देखिन्छ ।’
निर्माणकार्य सुस्त, व्यापारले अझै गति लिएन
नेपालमा सार्वजनिक तथा निजी क्षेत्रबाट हुने निर्माणकार्य घटेको पाइएको छ । निर्माणका गतिविधि सुस्त हुँदा विगत तीन त्रैमासयता यस क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको हो । कार्यालयका अनुसार अर्थतन्त्रका १८ क्षेत्रमध्ये ११ क्षेत्रको वृद्धिदर ५ प्रतिशतभन्दा न्यून हुने देखिएको छ । १० प्रतिशतभन्दा बढी वृद्धिदर भएको क्षेत्र एउटा मात्रै छ । कार्यालयले निर्माण क्षेत्रको वृद्धिदर अझै ऋणात्मक र थोक तथा खुद्रा व्यापार, शिक्षा र खानी तथा खनिज क्षेत्रको वृद्धिदर झिनो हुने अनुमान गरेको छ ।
सरकारले पुँजीगत खर्च बढाउन नसक्दा तथा निजी क्षेत्रले समेत निर्माण कार्य नबढाउँदा निर्माण क्षेत्र निरन्तर ऋणात्मक देखिँदै आएको छ । पहिलो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर ०.३ प्रतिशतले ऋणात्मक हुने कार्यालयको अनुमान छ । निर्माणका गतिविधि सुस्त भएको तथा निर्माणजन्य सामग्रीको आयातमा गिरावट आएका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचित हुन पुगेको कार्यालयका रेग्मीले बताए ।
अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापारको वृद्धिदरसमेत न्यून देखिएको छ । चालू आवको पहिलो त्रैमासमा थोेक तथा खुद्रा व्यापारको वृद्धिदर ०.५ प्रतिशतले मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । आयातमा सामान्य सुधार आएका कारण झिनो अंकको वृद्धि देखिएको जानकारहरू बताउँछन् । तर, व्यापारले अझै गति लिन नसकेको उनीहरूको भनाइ छ ।
अघिल्लो आव ०८०/८१ को पहिलो त्रैमासको तुलनामा कुल १८ वटा क्षेत्रमध्ये १७ क्षेत्रको वृद्धिदर धनात्मक रहेको छ । जसमध्ये विद्युत् तथा ग्यासको वृद्धिदर सबैभन्दा धेरै २१.४ प्रतिशत रहेको अनुमान छ । त्यस्तै, यातायात तथा गोदाम क्षेत्रको वृद्धिदर ६.७ प्रतिशत, आवास तथा भोजन सेवा क्षेत्रको ६.३ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रको ५.७ प्रतिशत, प्रशासनिक सहयोगी सेवा क्षेत्रको ५.४ प्रतिशत र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । त्यसैगरी, यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, शिक्षाको ०.४ प्रतिशत, स्वास्थ्यको ४.१ प्रतिशत, घरजग्गा कारोबारको ३.१ प्रतिशत र खानी तथा उत्खननको ०.४ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।
अर्थतन्त्रको वृद्धि सामान्य, तर सकारात्मकउन्मुख
पहिलो त्रैमासमा अर्थतन्त्रको वृद्धि सामान्य देखिएको कार्यालयले औँल्याएको छ । खासगरी उक्त अवधिमा भएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्र ऋणात्मक भएका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको कार्यालयले उल्लेख गरेको छ । ‘यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि तथा विद्युत् उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धि प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त यातायात, स्वास्थ्य तथा सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो,’ कार्यालयले उल्लेख गरेको छ, ‘खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ ।’ यद्यपि, समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख भएको कार्यालयको दाबी छ । ‘नेपालको आर्थिक वृद्धिदर विगतमा कहिले बढ्ने, कहिले घट्ने गरेको भए तापनि आर्थिक वर्ष ०७९/८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिन्छ,’ कार्यालयले उल्लेख गरेको छ ।
मौसमी प्रभावका आधारमा आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा तल
मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा भने पहिलो त्रैमासमा आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा पनि न्यून हुने कार्यालयको अनुमान छ । ‘आर्थिक वर्ष ०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ,’ कार्यालयले उल्लेख गरेको छ, ‘कुल १८ वटा क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिका कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्रै वृद्धि हुने अनुमान गरिएको हो ।’ यद्यपि, विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।