शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०८१ साल मंसिर १९ गते सम्पन्न सोह्रौँ वार्षिक साधारणसभाको क्रममा आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । यस नयाँ समितिमा डा. हिमाल भट्टराईसहित अन्य पाँचजना सदस्यहरू निर्वाचित भएका छन् । डा. हिमाल भट्टराईलाई पहिलोपटक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा मनोनयन गरेको हो ।
डा. भट्टराईले संस्थागत सुशासनको क्षेत्रमा उच्च शिक्षा (विद्यावारिधि) हासिल गरेका छन् । निजले नेपाल र भारतका बैंकहरूको संस्थागत सुशासनले बैंकको वित्तीय क्षमतामा पार्ने प्रभावको तुलनात्मक अध्ययन गरी विद्यावारिधि हासिल गरेका छन् । उनले भारतको बेंग्लाेरस्थित रेवा विश्वविद्यालयबाट विद्यावारिधि तथा जैन विश्वविद्यालयबाट एमबिएको उपाधि प्राप्त गरेका छन् ।
डा. भट्टराईले लामो समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कर्जा जोखिम व्यवस्थापन र अन्य व्यवस्थापकीय भूमिका निर्वाह गरी अनुभव हासिल गरेका छन् । डा. भट्टराईको शाइन रेसुंगामा नयाँ भूमिकासँगै बैंकले संस्थागत सुशासनलाई थप मजबुत बनाउने योजना बनाएको छ ।
उनको दिगो विकासको दखल, व्यवस्थापनमा दक्षता र बैंक तथा वित्तीय क्षेत्रकाे लामो समयको कार्यानुभवले बैंकलाई आगामी दिनमा थप उचाइमा पुग्ने विश्वास गरिएको छ । बैंकको दीर्घकालीन रणनीतिमा संस्थागत सुशासनमा सुधार गर्दै बैंकिङ प्रक्रियाहरूलाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउन डा. भट्टराईको योगदान महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । यसका साथै बैंकको नीतिहरूलाई अर्थतन्त्र, समाज र वातावरणमैत्री बनाउँदै दीर्घकालीन फाइदाका लागि नवीन दृष्टिकोण प्रस्तुत गर्दै जाने विश्वास डा. भट्टराईले व्यक्त गरेका छन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले उहाँको अनुभवका आधारमा नवीन व्यवस्थापकीय रणनीतिहरू अपनाउँदै आगामी यात्रालाई नयाँ उचाइमा पुर्याउने बैंकलाई प्रतिस्पर्धात्मक वातावरणमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।
उनको नेतृत्वले संस्थागत सुदृढीकरणसँगै यस बैंकप्रति ग्राहकहरूको विश्वासलाई थप मजबुत बनाउनेछ । यसबाहेक डा. भट्टराईले पछिल्लो समयमा विभिन्न कम्पनीहरूसँग सहकार्य गर्दै लगानीका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
विशिष्टीकृत लगानी कोष, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललगायत उद्योग तथा सेवा क्षेत्रका विभिन्न कम्पनीहरूमा सञ्चालक तथा लगानीकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएका डा. भट्टराईको उत्कृष्ट व्यवस्थापकीय क्षमता र परिणाममुखी नेतृत्वले विभिन्न क्षेत्रमा अतुलनीय सफलता प्रदर्शन गरेको छ ।