मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
प्रेम गौतम काठमाडाैं
२o८१ पौष २३ मंगलबार o९:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी अध्यक्षलाई पनि श्रम र उत्पादनमा जोड्न माग

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार o९:१७:oo

माओवादीका केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्ने सुझाव दिएका छन् । राजधानीमा जारी आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सदस्यहरूले अध्यक्षसहित सबै नेता–कार्यकर्ता श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका हुन् ।

अग्नि सापकोटा, उपाध्यक्ष एवं प्रवक्ता, माओवादी
अध्यक्षसहित सबै नेता–कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तीमा महिनामा तीनपल्ट अध्यक्ष पनि जोडिनुपर्छ । माओवादीलाई ऐतिहासिक अवसर प्राप्त भएको छ । यसलाई गुम्न दिनुहुँदैन । त्यसका लागि सबैभन्दा मुख्य सर्त पार्टी एकताबद्ध हुनुपर्छ भन्ने सबैको जोड छ ।

‘अध्यक्षसहित सबै नेता–कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तीमा महिनामा तीनपल्ट अध्यक्ष पनि जोडिनुपर्छ,’ केन्द्रीय सदस्यहरूको भनाइ उद्धृत गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । नेता–कार्यकर्तालाई उत्पादनसँग जोड्दै आम्दानीसमेत पारदर्शी गर्ने प्रस्ताव प्रचण्डले गरेका थिए । नेता–कार्यकर्ताको सम्पत्ति विवरण मात्रै नभएर परिवारको पनि पेसा स्पष्ट खुलाउनुपर्ने प्रस्ताव प्रस्तुत भएको थियो । नेता रणेन्द्र बराइलीले ‘पैतृक सम्पत्ति पनि नभएका, कुनै जागिर वा पेसा व्यवसाय पनि नभएका नेताहरूले महल कसरी ठड्याए ? यसको पनि छानबिन हुनुपर्छ’ भन्ने प्रश्न उठाएका छन् । 

नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा सदस्यहरू विभाजित भएका छन् । एक केन्द्रीय सदस्यका अनुसार सोमबार बोल्ने ८० मध्ये ५३ सदस्यले महाधिवेशनबारे मौैनता साधेका छन् भने १८ जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । नौजनाले मात्रै नियमित महाधिवेशनको पक्षमा धारणा राखेका छन् । विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशनमा भन्ने विषयमा प्रचण्डले राय मागेका थिए । ओनसरी घर्ती, झक्कु सुवेदी, सुदन किराँती, हिमाल शर्मा, इन्द्र आङवोहाङ, सचिन रोका, कुमारी राई, महेन्द्र पासवान, सरिता महर्जन, सुरेशकुमार राईलगायत १८ जनाले विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् । तत्काल महाधिवेशनको मिति तोकेर जानुपर्नेमा उनीहरूको जोड छ ।

विशेष महाधिवेशन नभई नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्नेहरूमा राजन दाहाल, चित्रबहादुर श्रेष्ठ, शैलेन्द्र घिमिरे, विमल अधिकारी, शंकर अधिकारीलगायत नौजना छन् । उनीहरूले नियमित महाधिवेशनबाटै अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । पार्टीले तोकेका विभिन्न अभियान सकिएपछि महाधिवेशनको मिति तोकेर जानुपर्ने उनीहरूको तर्क छ । महाधिवेशनबारे केही नबोल्नेको संख्या भने उल्लेख्य छ । ५३ जना नेताले महाविधेशनबारे केही नबोलेको एक केन्द्रीय सदस्यले बताए ।

उपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा आउनुहुन्न भन्नेमा सुदन किराँतीसहित तीनजना र आउनुपर्छ भन्नेमा देवेन्द्र पौडेलसहित दुईजना सदस्य देखिएका छन् । ‘उपपराष्ट्रपतिजस्तो सम्मानित पदमा बसिसकेको नेतालाई सक्रिय राजनीतिमा ल्याउने काम नगरौँ । पदीय गरिमा घटाउने काम नगरौँ,’ किराँतीको भनाइ उद्धृत गर्दै एक नेताले भने । पौडेललगायतले भने संविधान र कानुनले राजनीतिमा आउने बाटो नछेकोको भन्दै उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन सक्ने बताएका छन् । ‘कानुनले छेकेको छैन । सक्रिय राजनीति गर्ने इच्छा हुँदा रोक्ने कुरा हुँदैन । उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन सक्नुहुन्छ,’ पौडेलको भनाइ उद्धृत गर्दै अर्का नेताले भने । 

अधिकांशले नेताको जीवनशैली खुला किताबको पानाजस्तो पारदर्शी हुनुपर्ने, उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड दिएका छन् । दण्डहीनताको अन्त्य गरिनुपर्नेमा पनि सदस्यहरूले जोड दिएका छन् । काँठक्षेत्रका सदस्यले काँठक्षेत्रमा पनि अभियान चलाउनुपर्ने सुझाव दिएका छन् । १ फागुनदेखि एक महिना हुलाकी राजमार्गलाई आधार बनाएर तराई–मधेश जागरण अभियान र अर्को एक महिना पूर्व–पश्चिम राजमार्गलाई आधार बनाएर अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो । सदन र सडक दुवै मोर्चालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि सदस्यहरूले औँल्याएका छन् ।