सय वर्षअगाडिका राणाहरूले झैँ अहिलेका शासकले पनि शिक्षाको विकासमा अरुचि देखाउँछन् र कतिपय ठाउँमा त व्यवधान नै गर्छन्
विन्सटन चर्चिलको इतिहासबारे शासकहरूलाई एउटा सल्लाह छ– इतिहास पढ, इतिहासमा शासन गर्ने कला लुकेको छ । आजको यो लेख नेपालमा विश्वविद्यालयको इतिहासबाट नेपालका समकालीन शासकले के सिके भन्नेमा केन्द्रित छ ।
सन् १९५० मा नेपालमा निम्न माध्यमिक तहका स्कुल ३१०, माध्यमिक तहका ११ र क्याम्पस एउटा मात्र थियो । त्यसको दश वर्षपछि २५ सय प्राथमिक, ३३ सय निम्न माध्यमिक, ११० उच्च माध्यमिक, २५ वटा कलेज र एक विश्वविद्यालय स्थापना भए (फाइनान्सिङ प्राइमरी इजुकेसन इन नेपाल, त्रैलोक्यनाथ उप्रेती) । यति धेरै शैक्षिक संस्था स्थापना हुनुमा नेपालमा ती संस्थाको अभाव थियो । राणाले सत्ता छाड्दा नेपालको साक्षरता दर दुई प्रतिशतभन्दा कम थियो ।
हिन्दु र बौद्ध शिक्षा गुम्बा र मठहरूमा पढाइने भए पनि आधुनिक शिक्षाको जग भने जंगबहादुरले खोलेको स्कुलले सुरु गरेको हो, जसको आजको स्वरूप दरबार हाइस्कुल हो । त्यो स्कुल जंगबहादुरको शिक्षाप्रतिको मोहबाट सुरु भएको थियो । तर, उनको त्यो मोह आफ्ना सन्तान र भाइहरूका लागि मात्र थियो, आमजनताका लागि थिएन । उनी स्कुल खोल्न यति उत्साहित थिए कि परम्परागत शिक्षाको चलनचल्तीविपरीत उनले भारतबाट दुईजना अंग्रेज शिक्षक भिœयाएर आफ्नो दरबारभित्रको कोठामा स्कुल स्थापना गरे (डा. राजेश गौतम राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू) । त्यति मात्र होइन, जंगबहादुरले त आफ्ना सन्तानलाई बेलायत पढ्न पठाउने प्रयाससमेत गरेका थिए (फाइन्यासिंग इलेमेन्ट्री एजुकेसन इन नेपाल) । १८५३ अक्टोबरमा स्थापना भएको त्यो स्कुलले राणाहरूलाई अन्तर्राष्ट्रियस्तरका नागरिक बनायो । उनका छोरा र भाइहरूलाई अंग्रेजी बोल्न सक्ने शासक बनायो । तर, शिक्षित भए पनि राणाहरूले त्यो विद्यालयका एउटै पाठ्यक्रमबाट विपरीत शिक्षा लिए ।
आमजनताका लागि दरबार हाईस्कुलको ढोका खोलेका वीरशमशेरपछि बनेका प्रधानमन्त्री देवशमशेरको शिक्षामा नागरिकको पहुँचबारे स्पष्ट दृष्टिकोण थियो । शिक्षाबाट देवशमशेरले जंगबहादुरको स्कुलमा पढेर देशभर स्कुल खोल्नुपर्छ भन्ने ज्ञान लिए । कुनै पनि समुदायले पचास विद्यार्थी भेला पार्न सके उनीहरूलाई एकजना शिक्षक उपलब्ध गराइने उनले घोषणा गरेका थिए । तर, उनको उदारवादी नीति राणाशासनका लागि खतरा भएको अर्का शिक्षित चन्द्रशमशेरले बुझेका थिए । उनको त्यो शिक्षा नेपालका जनताका हितमा भन्दा राणा शासनको आयु लम्ब्याउन काम आयो । चन्द्रशमशेरले अंग्रेजी र अरू विषय कलकत्ताबाट पढेका थिए । सरदार भीमबहादुर पाँडेका अनुसार उनी इन्ट्रास म्याट्रिक पास गर्ने पहिलो राणा प्रधानमन्त्री थिए । सन् १९०१ मा उनले देवशमशेरले चार महिनाको अवधिमा खोलेका झन्डै तीन सय स्कुल बन्द गरिदिए (जोन वेल्पटन) ।
तर, त्यसको १७ वर्षपछि सन् १९१८ मा चन्द्रशमशेरले नेपालमा पहिलो कलेज स्थापना गरे, जसको नाम राखियो त्रिभुवन–चन्द्र इन्टरमिडियट कलेज । सरदार भीमबहादुर पाँडेका अनुसार चन्द्रशमशेरको पालामा दरबार स्कुलबाहेक अन्त माध्यमिक स्कुल थिएन । पाटन र भक्तपुरमा एक–एक निम्न माध्यमिक स्कुल भने खुलेका थिए । एकसाथ तीन सय स्कुल बन्द गर्ने चन्द्रशमशेरले नेपालको पहिलो क्याम्पस खोल्नुपर्ने कारणबारे विभिन्न अध्येताले फरक–फरक तथ्य दिएका छन् र ती सबै रोचक छन् । सरदार पाँडेले त्यो कलेज अंग्रेजलाई देखाउन खोलेको दाबी गरेका छन् । कतिपय शिक्षाविद्ले त्रिचन्द्र क्याम्पस अंग्रेजको दबाबमा खोलेको दाबी पनि गरेका छन् । जस्तो, गुणदेव भट्टराईलाई उद्धृत गर्दै राजेश गौतम लेख्छन्– इसं १९१८ मा भारतका तत्कालीन गभर्नर जनरलले साधारण लेख्न र पढ्न नजान्ने कुनै पनि गोरखालीलाई रिकुटेका रूपमा स्वीकार नगर्ने निर्णय गरेका थिए, किनभने अशिक्षित रिकुटेलाई तालिम दिन कठिनपर्थ्यो ।
नेपालमा शिक्षक राखेर पढेका हुनेखानेका परिवारका सदस्यहरू भारत गएर अध्ययन गर्थे । इतिहासविद् वेल्पटनका अनुसार कलेज खोल्नुको वास्तविक कारण नेपालबाट भारत पढ्न जाने युवालाई रोक्नु थियो । वेल्पटनका अनुसार चन्द्रशमशेरले राजा जर्ज पाँचौँलाई बेलायतले भारतीयलाई शिक्षित बनाएको गल्तीले भारतमा स्वतन्त्रता आन्दोलनको चुनौती देखिएको बताएका थिए (अ हिस्ट्री अफ नेपाल)। चन्द्रशमशेरले माध्यमिक तहका स्कुलहरू नै नभएको नेपालमा त्यही गल्ती नदोहोर्याउन त्रिचन्द्र क्याम्पस स्थापना गरेका थिए । तथ्यहरूले चन्द्रशमशेरले त्यो क्याम्पस बाध्यतामै खोलेको देखाउँछन् । क्याम्पसको भौतिक संरचनाबारे पाँडे लेख्छन्– बिर्ता र गुठीबाहेक अरू सबै रैकर जमिनको एक पैसा पनि मुआब्जा जमिनधनीलाई नतिरी तिरोको लागतसम्म कट्टा गरी जति पनि जमिन सरकारले अधिग्रहण गर्न सक्ने त्यो राणाकालमा ब्रिटेनको अक्सफोर्ड र क्याम्ब्रिजजस्ता फराकिला क्याम्पस देखेका चन्द्रशमशेरले घण्टाघर र वीर लाइब्रेरीसँग जोडेर दुइटा मस्जिदबिच अटाई–नअटाई पाँच रोपनी माटोको डिलमा त्यो त्रिचन्द्र कलेज निर्माण गर्नुपरेको कारण जानिनसक्नु छ । लक्ष्मीनिवास र हरिहर भवनभन्दा पनि बढी जमिन ओगटेर त्रिचन्द्र क्याम्पस सजिलै बन्न सक्थ्यो ।
गणतन्त्रमा शिक्षा : राणाहरूले नेपालको शासन छोड्दा यहाँको साक्षरता दर दुई प्रतिशत मात्रै थियो, जब कि उपनिवेशको नियन्त्रणमा रहेको भारतमा समग्रमा १८ दशमलव ३३ प्रतिशत जनता साक्षर थिए । जसमा पुरुषको संख्या २७ दशमलव १६ र महिलाको ८ दशमलव ८६ प्रतिशत थियो ।
अहिले नेपालमा गणतन्त्र छ । आममानिसबाट राष्ट्रपति बनेका छन्, प्रधानमन्त्री र मन्त्री छन् । उनीहरूको विगत राणाहरूको जस्तो सत्ताका लागि मात्रै मारकाट गरेर आएको विगत छैन, बरु जनताका लागि ज्यान दाउमा राखेको विगत छ । तर, सय वर्षअगाडिका राणाको झैँ अहिलेका शासकले नेपालको शिक्षा विकासमा किन अरुचि देखाउँछन् र कतिपय ठाउँमा त व्यवधान नै गर्छन् ? विश्वविद्यालयका पदाधिकारीदेखि क्याम्पस प्रमुखसम्म दलले बाँडेर लिन्छन् र तिनले त्यहाँको शैक्षिक गुणस्तर बदल्नुबाहेक सबै काम गर्छन् ।
त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा विश्वविद्यालयमा भागबन्डाको राजनीति ०४६ को आन्दोलनलगत्तै सुरु भएको सम्झन्छन् । माथेमा उपकुलपति भएर जाँदा वाममोर्चा र कांग्रेस मिलेर पद बाँडफाँड भइसकेको रहेछ । उनको कार्यकालमा पदमा नियुक्ति दिने समय आउँदा वाममोर्चानिकट प्राध्यापकहरू आएर आफ्नो भागबारे सोधखोज गर्न थाले । म पार्टी हरेर नियुक्त गर्ने पक्षमा थिइनँ । मैले नमानेपछि उहाँहरू आफैँले राजीनामा दिनुभयो । अनि मैले आफ्नो निर्णय लिएँ र विनाभेदभाव नियुक्त गरेँ,’ उनले सम्झिए । तर, पछि एमालेको सरकार बनेपछि उनको कार्यकाल नसकिए पनि उनी आफैँले राजीनामा दिनुपर्यो, विश्वविद्यालयमा राजनीति हुँदा ।
त्यसको तीस वर्षपछि यो अवस्था झन् भयावह हुँदै गएको देखिन्छ । अहिलेकी शिक्षामन्त्री विद्या भट्टराईले शिक्षालाई राजनीतिक दलले महŒव नै नदिएको गुनासो एक पत्रिकाको अन्तर्वार्तामा गरेकी छिन् । उनको भनाइलाई राज्यका तथ्यहरूले बलियोसँग साथ दिन्छन् । भन्नका लागि नेपालको हालको साक्षरता दर ७७ प्रतिशत हाराहारीमा छ । तर, त्यो रोजगारी सिर्जनामा उत्तिकै कमजोर छ । नेपालको बेरोजगारी झन्डै १३ प्रतिशत छ, हरेक दिन १५ सयको हाराहारीमा बिदेसिने युवाको संख्याका बाबजुद पनि ।
प्रधानमन्त्रीले भर्खरै नेतृत्व गरेको दीक्षान्त समारोहका दीक्षित विद्यार्थीले बजारमा कसरी आफ्नो भविष्य भेट्छन् भन्नेबारे राज्यको कुनै भूमिका र चासो छैन । आफ्ना लागि देशमा आफैँ रोजगारी सिर्जना गर्नु वा बिदेसिनु उनीहरूका अगाडिका विकल्प हुन् । त्यसका लडाइँ र झन्झट त छँदै छन् । तर, त्यसअघि विश्वविद्यालयबाट दीक्षित हुनुसम्ममा अर्काे ठुलो लडाइँ छ । त्यो लडाइँ राज्य आफैँले सिर्जना गरेको हो र त्यसको रेखदेख गर्ने दल छन् । संसारभर राजनीतिक क्रान्ति भएका छन् । त्यसमा नेतृत्व गर्ने कतिले सत्ता हातमा आउँदा आममानिसका लागि काम गरेका छन्, कतिले आफ्नो परिवारका लागि मात्रै । नेपालको सन्दर्भमा पछिल्लो दृष्टान्त लागू हुनु अहिलेको पुस्ताको दुर्भाग्य त हो नै, इतिहासको पनि दुर्भाग्य हो । माथेमा हाम्रा नेताका छोराछोरी नपढ्ने भएकाले राज्यका शिक्षण संस्था धराशयी भएको मान्छन् । त्यसमा सत्यता भएको तथ्यलाई कसैले चुनौती दिन सक्दैन ।
सन् १८७७ मा छापिएको हिस्ट्री अफ नेपालमा डेनियल वेट लेख्छन्– जंगबहादुर र केही धनी वर्गसँग आफ्ना बच्चालाई पढाउन कि अंग्रेज वा बंगाली बाबु छन् । त्यहाँ सार्वजनिक रूपमा कुनै शिक्षाको व्यवस्था छैन । हरेक अभिभावकले आफ्नो बच्चा व्यक्तिगत रूपमा पढाउँछ या पण्डितलाई जिम्मा दिन्छ । तल्लो तहकाहरू पूर्णतया शिक्षाबाट वञ्चित छन् ।
अहिलेका शासकसँग आफ्ना छोराछोरीका लागि देश–विदेशमा पढाउन निजी शैक्षिक संस्था उपलब्ध छन् । शिक्षाको स्तर जनताका लागि बदल्नुपर्ने दायित्व कुनै नेताले लिन आवश्यक ठान्दैनन् । राज्यको बेथितिले रुमल्लिएका जनतासँग त्यसको प्रश्न सोध्ने फुर्सद पनि खासै छैन । समकालीन शिक्षाका विषयमा लेखिनुपर्ने कम र राज्यले पढ्नुपर्ने तथ्य धेरै छन् । शिक्षा नीति कार्यान्वयन गर्नुपर्ने विषयमा हाम्रा शासक आफैँलाई राम्रो ज्ञान छ , जंगबहादुर र चन्द्रशमशेरलाई ज्ञान भएझैँ । हरेकजसो सरकारले शिक्षामा आमूल परिवर्तन ल्याउने नाममा विभिन्न समिति खडा गर्छन्, तिनले प्रतिवेदन पनि दिन्छन् । तर, कार्यान्वयन गर्नेवेला हाम्रा शासकमा अचानक चन्द्रशमशेर र जंगबहादुर जाग्छन् । नेपालमा शिक्षाको राजनीतीकरणविरुद्ध लडिरहेका माथेमा अब हैरान भएको सुनाउन थालेका छन् ।
इतिहासबारे चर्चिलकै भनाइ हामीकहाँ लागू हुन्छ– जसले इतिहासबाट सिक्दैनन्, तिनले त्यसलाई दोहोर्याउँछन् । हामीहरू दोहोरिएका राणाबाट शासित छौँ ।