विधानअनुसार कांग्रेसको नियमित महाधिवेशन ०८२ मंसिरमा गर्नुपर्ने हुन्छ । अब एक वर्षभन्दा कम समय बाँकी छ । तोकिएको अवधिमै कांग्रेसको १५औँ महाधिवेशन हुने सम्भावना छैन । पार्टीलाई चलायमान बनाउने विभाग गठनको विषय पनि महाधिवेशनको चर्चासँगै ओझेलमा पर्न थालेको छ । कांग्रेस विधानले महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, १४औँ महाधिवेशन सकिएको तीन वर्ष बितिसक्दा पनि कांग्रेसका १४ विभाग अझै बनेका छैनन् ।
कांग्रेसमा विभाग प्रमुख मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ । पटक–पटक गरी हालसम्म ५५ विभाग गठन भए पनि धेरैले पूर्णता पाएका छैनन् । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव छिट्टै सबै विभागले पूर्णता पाउने दाबी गर्छन् । यस विषयमा सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरिरहेको र सबैलाई समेट्ने गरी विभाग गठन गर्दा विधानको समय अपुग भएको उनको भनाइ छ ।
‘सभापतिज्यूले विधानको समय मात्रलाई भन्दा पनि पार्टीको हितलाई हेरेर विभाग गठन गर्नुभएको छ । बनाउनुपर्ने सबै विभाग छिट्टै बन्छन्,’ उनले भने, ‘विधानको व्यवस्था पनि पार्टी हितकै लागि हो । तर, विधानको समय मात्रले पार्टीमा सबैलाई सहमत गराएर विभाग बन्ने अवस्था रहेन । विभाग गठनका विषयमा गृहकार्य भइरहेको छ । सभापतिज्यूले सबैलाई समेटेर सहमतिमा ल्याएर बाँकी विभाग गठन गर्नुहुनेछ ।’
विधानमा विभागको नेतृत्व केन्द्रीय सदस्यले गर्ने र ५१ जनासम्म सदस्य रहने व्यवस्था छ । पार्टीको मेरुदण्ड मानिने विभाग गठन र पूर्णता नपाउँदा नेता व्यवस्थापन र पार्टीलाई क्रियाशील बनाउन पार्टी चुकेको कांग्रेस नेताहरू बताउँछन् । इतर समूहका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेतृत्व तहमा रहेकाहरूले विभागको महत्वलाई कम आँक्दा ढिलाइ भएको र बनेका विभाग पनि अव्यवस्थित भएको बताए । ‘विभाग चलाउन सही व्यक्तिले सही जिम्मेवारी पाउनुपर्ने हो । विभाग त चुस्त–दुरुस्त हुनुपर्ने हो । धेरै संख्या हुँदैमा काम हुने हो र ? संख्या र समय मात्रै बढाएर अर्थ रहँदैन । तर, नेतृत्वमा रहेकाहरूले यसमा ध्यान दिन सकेका छैनन् । सही रूपमा व्यवस्थापन नहुँदा विभागहरूबाट हुनुपर्ने काम हुन नसक्नुु कांग्रेसका लागि दुर्भाग्य हो,’ उनले भने ।
कांग्रेसले महाधिवेशनपछि समयानुकूल विभाग बनाउन संख्यामा हेरफेर र कार्यक्षेत्र मिलान गरी ७० विभाग बनाउने निर्णय गरेको थियो । १४औँ महाधिवेशनपछि १२ जेठ ०८० मा पहिलो विभागका रूपमा प्रचार विभाग गठन गरिएको थियो । लामो समयसम्म विभाग नबनेपछि गत वर्ष २ देखि १० साउनसम्म बसेको केन्द्रीय समिति बैठकले १५ भदौभित्र ४८ बाट बढाएर ७० विभाग बनाउने निर्णय गरेको थियो । अन्तिम अवस्थामा ६९ विभाग बनेका छन् । महामन्त्री गगन थापाले केन्द्रीय समितिमा कार्यतालिका नै बनाएर १५ भदौ ०८० भित्र नयाँ विभाग गठन र पुरानालाई नेतृत्व दिने प्रस्ताव गरेका थिए । तर, १५ भदौमा अन्तिम समयमा १५ मात्र विभागको नेतृत्व तोकिएको थियो । त्यसयपछि १ मंसिर ०८० मा सहकारी विभाग, १७ जेठ ०८१ मा जनसम्पर्क समिति समन्वय विभाग र २१ साउनमा ३७ विभाग गठन भएका थिए । बाँकीको अझै टुंगो छैन ।
इतर समूहले पनि यस विषयमा कुनै आवाज उठाएको छैन । बनेका विभागका विषयमा भने कांग्रेसमा विवाद छैन । बाँकी विभाग गठन नभएको विषयलाई पनि इतर समूहले समेत कुनै एजेन्डा बनाएको छैन । इतर समूहमा पछिल्लो समय महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबिच दरार देखिएको छ । कोइराला आगामी महाधिवेशनको तयारीमा छन् । जसकारण यो विषय ओझेलमा परेको छ ।
यी हुन् बन्न बाँकी विभाग
१. संगठन विभाग
२. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
३. तरुण विभाग
४. वन विभाग
५. पार्टी सम्पर्क विभाग
६. भ्रातृ संघ समन्वय विभाग
७. गैरआवासीय नेपाली समन्वय विभाग
८. पूर्वराष्ट्रसेवक कर्मचारी समन्वय विभाग
९. विकास तथा पूर्वाधार विभाग
१०. सुशासन तथा अनुगमन विभाग
११. विपत् व्यवस्थापन विभाग
१२. भूपू प्रहरी विभाग
१३. मुक्त समुदाय पुनस्र्थापना समन्वय विभाग
१४. तथ्यांक अध्ययन तथा विश्लेषण विभाग
क्रियाशील सदस्यता नवीकरण चैतभित्र टुंग्याउने तयारी
कांग्रेसले आगामी चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको टुंगो लगाउने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले यस्तो तयारी थालेको हो । समिति सदस्य योगेन्द्र चौधरीका अनुसार चैतभित्रै नवीकरण टुंगो लगाउनेगरी सबै जिल्लालाई परिपत्र गरी मिति तोकेर टुंगो लगाउन निर्देशन दिइएको हो । समितिले सदस्यता वितरणको वस्तुगत स्थितिलाई समेत अध्ययन गर्ने भएको छ ।
‘चैतभित्रै नवीकरण टुंगो लगाउन परिपत्र गर्दै छौँ । चैतको कुनै मिति तोकेर पठाँउछौँ,’ उनले भने, ‘क्रियाशीलको बारेका वडा तहसम्म जातीय, लैंगिकलगायत जनसंख्याको अनुपात र क्रियाशील सदस्यता वितरणको अनुपातबारे वस्तुगत स्थिति अध्ययन गर्ने र जनसंख्याको अनुपातमा समेट्न लागेका छौँ ।’ समितिले डोल्पामा लामो समयदेखि सभापति सम्पर्कविहीन रहेकाले कार्यवाहक सभापतिलाई क्रियाशील सदस्यता नवीकरणको जिम्मा दिने निर्णय गरेको छ । जनसम्पर्क समितिका सदस्यताको विषयमा भने आगामी बैठकमा निर्णय हुने समितिले जनाएको छ ।
कांग्रेसको तथ्यांकअनुसार १४औँ महाधिवेशनमा आठ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य छन् । गत १६ भदौमा सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता वितरणलाई सहज बनाउन नियमावलीका तीन बुँदामा संशोधनसमेत गरेको थियो । संशोधित व्यवस्थाले सदस्यता वितरणमा तल्लो तहबाट ढिलाइ भएमा केन्द्रमा रहेका सदस्यता व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रीय कार्यालयले सदस्यता प्रक्रिया सहज र छिटो छरितो बनाउन सक्ने व्यवस्था गरिएको छ । यही व्यवस्थालाई टेकेर फास्ट ट्रयाकमा सदस्यताको टुंगो लगाउन लागिएको हो ।
सदस्यताको विषय टुंगो लगाउन २ साउन ०७९ मा महामन्त्री गगन थापालाई संयोजकको जिम्मेवारी दिइएको थियो । तर, लामो समिति सदस्यहरू मनोनीत नहुँदा अपूर्ण समितिले सोचेअनुसार गतिविधि बढाउन सकेन । गत १४ कात्तिकमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य मनोनीत भएका थिए । यससँगै समितिले सक्रियता बढाएको छ । समितिका अनुसार डोल्पा, बारा र मुस्ताङबाहेकका जिल्लामा क्रियाशील सदस्यता वितरण अघि बढे पनि अपेक्षाकृत रूपमा काम हुन सकेको छैन ।