सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग रातो बलमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडी ६ वर्षपछि दुईदिवसीय फर्म्याटमा फर्कँदै
क्रिकेट खेलको मजा नै रातो बलमा प्रतिस्पर्धा गर्नु हो । लामो इनिङ्सको फर्म्याटमा रातो बल प्रयोग हुने गर्छ । लगातार दुईदेखि पाँच दिनसम्म चल्ने क्रिकेटमा यही बल प्रयोग हुन्छ । सेतो रंगको बलभन्दा रातोको तौल बढी हुन्छ । जसका कारण पिचमास्विङ निरन्तरता भइरहन्छ । डे क्रिकेटमा खेलाडीहरूले सामान्य एकदिवसीय वा टी–२० मा भन्दा बढी नै मिहिनेत गर्नुपर्छ । दुई वा तीनदिवसीय क्रिकेटमा बलर तथा ब्याट्सम्यानले घन्टौँ धैर्यता देखाउन सक्नुपर्छ । जसले लङ इनिङ्ससम्म खेल्न सक्छन्, ती बलर वा ब्याट्सम्यानले सबै फर्म्याटमा फिट हुन्छन् ।
यही विविधताले भरिएको रातो बलबाट खेलिने जय ट्रफी क्रिकेट प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगन्जमा सुरु हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले लामो समयपछि दुईदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । गत फेब्रुअरीमा प्रधानमन्त्री कपमा शीर्ष चार स्थानमा रहेका नेपाल पुलिस, त्रिभुवन आर्मी, बागमती तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । यी चारै टोलीमा आबद्ध धेरैजसो खेलाडीलाई डे क्रिकेट नौलो लाग्न सक्छ ।
अहिले सबैजसो नेपाली क्रिकेटर ५० ओभर र टी–२० फर्म्याटमा अभ्यस्त छन् । गत ६ पुसमा त्रिवि क्रिकेट मैदानमा भव्यताका साथ सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । अब एनपिएलमा प्रतिस्पर्धा गरेका खेलाडीहरू ६० ओभरको प्रतिस्पर्धामा आफूलाई कति फिट राख्न सक्छन् भन्ने प्रश्न छ । एकदिवसीय र टी–२० खेलमा कलरफुल जर्सी हुन्छ । तर, डे क्रिकेटमा भने दुवै टोलीका खेलाडीले सेतो रंगको जर्सी लगाउनुपर्छ । यस अर्थमा नेपालमा लामो समयपछि रातो बल र सेतो पोसाकको क्रिकेटको पुनरागमन भएको छ ।
नेपालले अन्तिमपटक सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग रातो बलको क्रिकेट खेलेको थियो । ६ वर्षपछि नेपाली क्रिकेटरले पुनः एकपटक रातो बललाई छक्का वा चौका प्रहार गर्ने मौका पाएका छन् । जनकपुर र वीरगन्जका पिचमा बलरले रातो बलमा धेरै स्विङ गरी विकेट लिने र ब्याट्सम्यानले पनि लामो इनिङ्स खेल्न कोसिस गर्नेछन् । जय ट्रफीलाई घरेलु खेलाडीले अवसरका रूपमा लिएका छन् । बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले डे क्रिकेटले युवा खेलाडीलाई मात्र आफूलाई समेत अवसरका रूपमा रहेको बताएका छन् ।
‘फर्स्ट क्लास क्रिकेट प्रतियोगितामा हामी सबैले अवसरका रूपमा लिनुपर्छ,’ सन्दीपले भने । मधेश प्रदेशका कप्तान हरिशंकर साहले जय ट्रफी सक्दो आफूलाई एक्सपोज गर्ने बताए । यसैगरी, क्यानका प्रवक्ता छुम्बी लामाले जय ट्रफी महत्वपूर्ण प्रतियोगिताका रूपमा लिएका छन् । ‘टेस्ट मान्यता पाउनका लागि एकदिवसीयभन्दा माथिल्लो स्तरमा प्रदर्शन गर्नुपर्छ, यही किसिमको फर्म्याटमा खेलाडीले प्रतिस्पर्धा गर्नुपर्छ,’ लामाले भने, ‘यो दुईदिवसीय प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा राम्रो योगदान दिनेछ ।’ प्रतियोगितामा सहभागी चार टोलीबिच लिग चरणमा एकल राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । शीर्ष दुई टोलीले फाइनल स्थान पक्का गर्नेछ । लिग चरण खेल दुईदिवसीय तथा फाइनल तीनदिवसीय फर्म्याटमा हुनेछ ।
प्रत्येक इनिङ्समा ६० ओभर
जय ट्रफी क्रिकेट प्रतियोगिताको सहभागी टोलीले ६० ओभर ब्याटिङ गर्नुपर्ने हुन्छ । बलिङ गर्ने पक्षले पनि ६० ओभर नै बल फ्याँक्नु पर्नेछ । पहिलो ब्याटिङ गर्ने टोलीले ६० ओभरभित्र कुनै पनि समयमा इनिङ्स समाप्ति गर्न पाउँछ । उसले चाहे पूरै ६० ओभर नै निरन्तर ब्याटिङ गर्न सक्छ । दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले दिनभरि नै खेल्न सक्छ । पहिलो इनिङ्समा एक टोलीले ५० रनको योगफल पार गर्दा एक बोनस अंक प्राप्त गर्नेछ । दोस्रो इनिङ्समा ५० रन बनाउँदा सो टोलीले एक अंक प्राप्त गर्नेछ । प्रत्येक इनिङ्समा एक टोलीले चारपटक मात्र बोनस अंक प्राप्त गर्नेछ । यदि कुनै पनि टोलीले दुई सय रनपछि जति योगफल चढाउँदा पनि उसले केवल चार अंक मात्र हात पार्नेछ । दुवै इनिङ्समा दुई विकेटबराबर एक बोनस अंक हुनेछ । प्रतियोगिताको फर्म्याटअनुसार फाइनलमा तीनदिवसीय खेल हुनेछ । जसमा पहिलो ब्याटिङ गर्नेले ८० ओभर खेल्न पाउँछ । यसमा पनि ब्याटिङ गर्ने टोलीले ८० ओभरअगाडि नै इनिङ्स समाप्त गर्न सक्छ ।
०३७ देखि ०५८ सम्म जय ट्रफी
कुनै समय घरेलु क्रिकेटमा जय ट्रफीलाई मेरुदण्डका रूपमा लिने गरिन्थ्यो । नेपाल क्रिकेट संघ (क्यान) का संस्थापक अध्यक्ष जयकुमारनाथ शाहले आफ्नै नाममा ०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । नेपालको क्रिकेट इतिहासमा राष्ट्रिय प्रतियोगिता नै जय ट्रफी हो । त्रिवि क्रिकेट मैदान निर्माण नहुँदासम्म जय ट्रफी टुँडिखेलको मैदानमा आयोजना हुन्थ्यो । टुँडिखेल मैदानमा स्थायी क्रिकेट पिच नहुँदा प्रतियोगितामा सहभागी टोलीले हरियो म्याटमा प्रतिस्पर्धा गरेका थिए । यो जय ट्रफी ०५८ सालसम्म भएको थियो । ०३७ देखि ०५७ सालसम्म क्यानले राष्ट्रिय प्रतियोगिताको रूपमा जय ट्रफीलाई मानेको थियो । निरन्तर रूपमा आयोजना भएको जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टोलीमा पर्थे । त्यसवेला जिल्ला र अञ्चलमा आयोजना हुने राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको नाम नै जय ट्रफी राखिन्थ्यो । जय ट्रफी सुरुवाती समयमा दुईदिवसीय फम्यार्टमा थियो । नेपालले सन् १९९६ मा पहिलोपटक मलेसियाविरुद्ध एकदिवसीय खेल्दा जय ट्रफीबाट खेलाडी छनोट गरिएको थियो ।