मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २१ आइतबार o६:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज एमाले र माओवादीको केन्द्रीय समिति बैठक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार o६:४३:oo

सरकारको नेतृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्ष दल माओवादीको केन्द्रीय समिति बैठक आइतबार सुरु हुँदै छ । एमाले बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे र माओवादीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

एमाले बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । राजनीतिक प्रतिवेदन नै बैठकको मूल विषय रहेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । देशको समसामयिक परिस्थिति, सरकारका उपलब्धि, सरकारले तत्काल गर्नुपर्ने काम, संगठनको तीनमहिने अभियानलगायत विषय कार्यसूचीमा रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

प्रतिवेदनमाथि आइतबार नै छलफल सुरु हुनेछ । ‘पार्टी अध्यक्षद्वारा देशको समसामयिक परिस्थिति, सरकारका उपलब्धि, सरकारले तत्काल गर्नुपर्ने काम, संगठनको तीनमहिने अभियानलगायत मुद्दाबारे राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ । र, आइतबार नै छलफल प्रारम्भ हुन्छ,’ गौतमले भने । 

राजनीतिक प्रतिवेदनमा राष्ट्रिय राजनीति, वर्तमान सरकारको आवश्यकता, औचित्यता आदि समावेश छन् । देशको स्थिति सुधारउन्मुख भएको विषय प्रतिवेदनमा छ । बिआरआईलगायतका विषय पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा समग्र रूपमा संविधान संशोधनको विषय आए पनि कुन–कुन विषयमा भन्ने ठोस विषय नआउने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाबारे कार्यसूची छ । संगठन विभागको कार्यशालाले निकालेका निष्कर्षका आधारमा संगठनात्मक अवस्थाबारेको प्रतिवेदन पनि प्रस्तुत हुनेछ । बदलिँदो समसामयिक परिस्थिति र विविध विषय कार्यसूचीमा छन् । 

यस्तै, माओवादी बैठकमा सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गर्ने कार्यसूची छ । त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । प्रदेश अध्यक्षहरूको रिपोर्टिङपछि प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प ः आजको आवश्यकता’ राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिकलगायत विषय समावेश हुनेछन् ।

‘श्रद्धाञ्जली, अध्यक्षको प्रस्ताव, रिपोर्टिङ, राजनीतिक, सांगठनिक योजनाका प्रस्ताव हुन्छन्,’ उपमहासचिव गिरीराजमणि पोखरेलले भने । केन्द्रीय समिति बैठकअघि आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्ने उनले बताए । उक्त बैठकले केन्द्रीय समिति बैठकको एजेन्डाको अन्तिम रूप दिने नेताहरूले बताएका छन् । यसअघि शनिबार बस्ने तय भएको स्थायी समिति बैठक शीर्ष नेताहरूको कार्यव्यवस्ताका कारण आइतबार बिहानसम्मका लागि स्थगित गरिएको छ ।

बैठकमा आगामी कार्ययोजना पनि प्रस्तुत हुनेछ । कार्ययोजनामा संगठनात्मक प्रस्ताव र अन्य विविध प्रस्ताव हुनेछन् । मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गकेन्द्रित ६ महिने दुई अभियान सञ्चालनको निर्णय पनि बैठकले गर्नेछ । बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुनेछ । माओवादीले तत्काल संविधान संशोधनभन्दा प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउँदै आएको छ । संविधान संशोधन गर्नैपरे शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नुपर्ने प्रस्ताव माओवादीको छ । 

माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छ । शासकीय स्वरूप र निर्वाचन प्रणाली हेर्दा मुलुकमा स्थिरताका साथै सुशासन पनि कायम हुने माओवादीको दाबी छ ।