युवा समूहहरूको भिडमा जय महाँकाल युवा समूहको पहिचान धेरै फरक छ । समूहका अध्यक्ष लीलानाथ भण्डारी र महासचिवमा मनीष विश्वकर्मा छन् । ३३ जिल्लामा शाखा विस्तार गरेको समूहसँग अहिले आठ हजार युवा आबद्ध छन् । जो अनवरत समाज सेवामा जोडिएका छन् ।
दिनको ठिक ११:३० र साँझ ५:३० बजे पशुपतिनाथ मन्दिर परिसरस्थित वनकाली चौर पुग्नु, भेला भएका सयभन्दा धेरैलाई नि:शुल्क खाना वितरण गर्नु सुनसरी धरान उपमहानगरपालिका– १७ का २७ वर्षीय मनीषको दैनिकी हो । वनकालीमा मात्रै होइन, उनले नयाँ बसपार्कस्थित मुक्तेश्वर मन्दिरपरिसरसहित मुलुकका विभिन्न सात ठाउँबाट प्रत्येक दिन बिहान–साँझ नि:शुल्क खाना बाँड्छन् ।
उनले खाना बाँड्ने समय र स्थान सडकका बेवारिसे र बटुवालाई कण्ठ छ । दिउँसोभर आ–आफ्नो काममा लाग्छन् । उनीहरू बिहान–बेलुका निर्धारित ठाउँमै पुग्छन् । टन्न खान्छन् । र, पुनः आफ्नो धन्दामा फर्कन्छन् । यसरी उनीकहाँ दैनिक नि:शुल्क खाना खानेको संख्या ३५० भन्दा धेरै छ ।
‘पशुपतिनाथ मन्दिरसहित अहिले हामी मुलुकका विभिन्न सात ठाउँबाट नि:शुल्क खाना बाँड्छौँ । प्रत्येक दिन हामीकहाँ खाना खानेको संख्या ३५० भन्दा धेरै हुन्छ,’ मनीषले भने ।
मनीषले सडकका भोका र बेवारिसे नागरिकलाई नि:शुल्क खाना बाँडेको एक हजार ६९९ दिन भइसकेको छ । ‘हामीले खाना बाँडेको आज एक हजार ६९९ दिन भयो । यस अवधिमा कतिलाई नि:शुल्क खाना बाँडियो, यकिन भएन । तर, लकडाउनमा प्रत्येक दिन तीन हजारसम्मलाई नि:शुल्क खाना बाँडेको याद छ । अहिले दैनिक ३५० भन्दा धेरैलाई खाना बाँडिरहेका छौँ,’ उनी भन्छन् ।
११ चैत ०७६ को ‘लकडाउन’ले मुलुक ठप्प बन्यो । कलेज पढ्दै गेस्टहाउस चलाउने मनीषलाई सडकमा बेवारिसे अवस्थाका दीनदुःखीको पीडाले तान्यो । जसको जीवन दानकै भरमा चल्ने गर्थ्यो । ‘लकडाउन’सँगै सडक सुनसान बने । सँगै दीनदुःखीका दान पनि बन्द भए ।
भोक र प्यासले व्याकुल दीनदुःखीका दुःख उनले देख्न सकेनन् । मन मिल्ने अग्रज र हितैषीलाई पीडा सुनाए, सँगै नि:शुल्क खाना उपलब्ध गराउने पनि । टोलकै अग्रज लीलानाथलाई मनीषको योजनाले छोयो । तत्काल ७५ रुपैयाँ खल्तीबाट झिके । र, भने, ‘यो मेरोतर्फबाट सहयोग । अरूसँग पनि धेरथोर उठाऊँ र बेवारिसेलाई खाना खुवाऊँ ।’
त्यस दिन छलफलमा १७ युवा सहभागी थिए । मनीषको योजनामा सबै सहमत भए । लकडाउनको ११औँ दिन अर्थात् २२ चैत ०७६ देखि नयाँ बसपार्कबाट नि:शुल्क खाना वितरण यात्रा सुरु भयो । सुरुवाती चरणमा नि:शुल्क खानामा खल्तीकै लगानी भयो । पछि भने दाताबाट बिस्तारै सहयोग जुट्न थाल्यो । र, उनीहरूले पुरानो बसपार्कपछि पशुपतिनाथ मन्दिर, नयाँ बसपार्क, कलंकी र थापाथलीबाट दैनिक नि:शुल्क खाना वितरण गर्न थाले ।
मनीषका अनुसार रोगले भन्दा पनि भोकले कोही नमरून् भन्ने उद्देश्यले नि:शुल्क खाना वितरण अभियान सुरु भएको थियो । तर, पछि राज्य संयन्त्रबाटै अवरोध हुन थाल्यो । ‘प्रहरी–प्रशासन संस्थाको नाम सोध्थे । तर, संस्था थिएन । दाताबाट सहयोग लिन पनि संस्था नै चाहिने भयो । त्यही मेसोमा जन्मियो जय महाँकाल युवा समूह,’ मनीष सुनाउँछन् ।
७५ रुपैयाँमा अभियान सुरु गरेका उनीहरू अहिले खानामा मात्रै प्रत्येक दिन ४० देखि ५० हजार रुपैयाँ खर्च गर्छन् । ‘सबै दाताकै देन हो । अहिले हामीसँग यस्तो ‘डेडिकेटेड’ टिम छ जो जुनसुकै वेला अभियानमा दौडन सक्छ । सबै काम उनीहरू नि:शुल्क गरिरहेका छन्,’ उनले भने ।
नि:शुल्क खाना खाने बेवारिसेलाई मनीषको टिमले परिवारसँग पुनर्मिलन पनि गराइदिन्छ । परिवारसँग जोडिन नचाहनेलाई कृषि कर्ममा पनि सहभागी गराउँछ । यसका निम्ति उनीहरूले नागरिकबाट खेर गएको बाँझो जमिन नि:शुल्क लिन्छन् । नि:शुल्क खाना खाने हट्टाकट्टाहरूलाई सँगै लैजान्छन् । खनजोत गरी बाली लगाउन लगाउँछन् । र, बालीको आम्दानी जमिनका मालिक र उनीहरूलाई लिन भन्छन् ।
उनीहरूसँग अहिले एक सयभन्दा धेरै बेवारिसे कृषि कर्ममा आबद्ध छन् । यस प्रयोजनका निम्ति उनीहरूले नुवाकोटमा १५ रोपनी, दाङमा ६५ बिघा, मेचीमा पाँच बिघा, कञ्चनपुरमा २० बिघा र टोखामा सात रोपनी जमिन लिएका छन् ।
‘सडकमा नि:शुल्क खाना खानेहरूलाई पुनः श्रमबजारमा फर्काउनु हाम्रो अर्को प्रयास हो । जसलाई हामीले ‘कृषिक्रान्ति’ अभियान भनेका छौँ,’ मनीष भन्छन्, ‘विभिन्न ठाउँमा खेर गएका जमिन लिएका छौँ । उत्पादनपछिको आम्दानी जग्गाका मालिक र कृषिमा संलग्न हुनेलाई नै लिन भनेका छौँ । अभियानअन्तर्गत अहिले एक सयभन्दा धेरै कृषि कर्ममा छन् ।’
भक्तपुर मध्यपुर ठिमी नगरपालिका– ४ शिवाटोलका २८ वर्षीय सुजिन्द्र श्रेष्ठ बालबालिकाको क्षेत्रमा समाजसेवामा सहभागी अर्का अब्बल उदाहरण हुन् । हिमाली नवीन समाजका पुनर्मिलन अधिकृत श्रेष्ठ सन् २०१५ देखि स्पाइनल इन्जुरीका बिरामीको उद्धार, जोखिमयुक्त बालबालिकाको हेरचाह र पारिवारिक पुनर्मिलनमा सहभागी छन् । यस अवधिमा उनले एक हजार एक सयभन्दा धेरै जोखिममा परेका बालबालिकालाई पारिवारिक पुनर्मिलन गराइसकेका छन् ।
‘म पाँच वर्षदेखि हिमाली नवीन समाजमा पुनर्मिलन अधिकृतका रूपमा कार्यरत छु । यस अवधिमा हामीले ११ सयभन्दा धेरै बालबालिकालाई परिवारिक पुनर्मिलन गरायौँ । यसअघि म स्वावलम्बन जीवन पद्धति नामको संस्थामा स्वयंसेवकका रूपमा कार्यरत थिएँ,’ उनले भने, ‘जसले स्पाइनल इन्जुरीका बिरामीलाई नयाँ तरिकाले जीवन जिउन प्रेरित गर्ने गर्थ्यो । मैले तीन वर्ष त्यस्ता बिरामीसँग बिताएँ । जुन क्षण अझै पनि अविष्मरणीय लाग्छ ।’
०७८ को तथ्यांकअनुसार मुलुकभर १८ वर्षभन्दा कम उमेरका बालबालिका ९८ लाख ६९ हजार ५८३ रहेका छन् । जसमध्ये ३१ हजार ५१२ बालबालिकाका अभिभावक छैनन् । युनिसेफअन्तर्गतको सेन्टर फर चाइल्ड वेलफेयर बोर्ड, सेभ द चिल्ड्रेनलगायतका संस्थाले प्रकाशन गरेको ‘पोलिसी डायलग अन अल्टरनेटिभ केयर अफ चिल्ड्रेन’ नामको रिपोर्टअनुसार नेपालका ८७.६४ प्रतिशत बालबालिका अभिभावकसँग बस्छन् ।
६.७४ प्रतिशत बालबालिकाको अभिभावक आमा वा बुबा मात्रै छन् । त्यस्तै, ०.२४ प्रतिशत बालबालिका आफन्तकहाँ बस्ने गर्छन् भने ०.६५ प्रतिशत रोजगारदातासँग बस्ने गर्छन् । बाँकी २.४७ बालबालिकाको बस्ने स्थान अज्ञात छ ।
मुलुकभर रहेका ७५४ बालगृहमा आउने भनेका अधिकांश सोही पृष्ठभूमिका बालबालिका हुन् । केहीबाहेक अधिकांश बालगृह मापदण्डविपरीत छन् । शारीरिक यातना, यौनशोषण, यौनहिंसालगायतका अपराध हुने सोही किसिमका बालगृहमा हो । हिमाली समाजले सोही किसिमका बालबालिकाको उद्धार गर्ने हो । जसमा अधिकृत श्रेष्ठ छन् ।
उनीहरूले त्यस्ता बालबालिका उद्धारका लागि ‘ट्रान्जिट होम केयर’ नै खोलेका छन् । ‘जोखिममा परेका बालबालिकाको उद्धारपछि पारिवारिक पुनर्मिलनका काम हामी गर्छौँ । यसका लागि हाम्रो काठमाडौंमा ‘ट्रान्जिट होम केयर’ नै छ,’ उनी भन्छन्, ‘जहाँ उद्धार गरिएका बालबालिकालाई केही समय राख्छौँ । परिवारको खोजी गर्छौँ र पुनर्मिलनमा पठाउँछौँ ।’
बाँके नेपालगन्ज उपमहानगरपालिका– १८ की नीलिशा गिरी २० वर्षकी मात्रै भइन् । तर, समाजसेवामा उनको सक्रियता लोभलाग्दो छ । बिबिए छैटौँ सेमेस्टरकी विद्यार्थी उनी अहिले माइती नेपाल र सिविन नेपालमा आबद्ध छिन् । अध्ययनबाहेक उनी बालबालिकालाई यौन तथा प्रजनन स्वास्थ अधिकारबारे सचेतना दिलाउन सक्रिय रहन्छिन् ।
यस अवधिमा उनले प्लान इन्टरनेसनल नेपालबाट ‘लाउडेस्ट गर्ल अवार्ड’ र ‘हर टर्न लिडरसिप अवार्ड’समेत प्राप्त गरिसकेकी छिन् । ‘म सोसियल वर्कमा सहभागी भएको ६ वर्ष भयो । वडा चाइल्ड क्लबदेखि नै सोसियल वर्कमा जोडिँदै आएकी हुँ,’ उनले भनिन् । उनका अनुसार यस अवधिमा उनीहरूको समूहले १० हजारभन्दा धेरैमा सचेतना बाँडेको छ । जसमध्ये कतिपय प्रजनन स्वास्थ्यसँग सम्बन्धित छ भने कतिपय मानव बेचबिखनसँग सम्बन्धित छन् ।