जंगली हात्तीले दुःख दिन थालेपछि झापा शिवसताक्षी– ८ का युवाहरू रातभर गस्तीमा निस्कने गरेका छन् । वडाको संयोजनमा २५ जनाको समूह बनेको छ । उक्त समूहलाई शिवसताक्षी नगरपालिकाले टिसर्ट, लाइट र हात्ती खेदाउन साइरन दिएको छ । उनीहरू त्यही सामग्री लिएर रातभर हात्ती गाउँ पस्ने गौँडामा पुग्छन् । त्यति मात्र होइन, राति हिँडडुल नगर्न माइकबाट स्थानीयलाई सचेत गराउँछन् । यसरी हात्ती नियन्त्रणमा हिँडेको करिब एक महिना भयो ।
‘जंगली हात्ती गाउँ पसेर आतंक मच्चाएपछि रातभर जाग्राम बसेर हात्ती लखेट्दै आएका छौँ,’ समूहका सदस्य कविराज राईले भने, ‘आगोदेखि डराउँछ भनेर हात्ती प्रवेश गर्ने गौँडामा आगो पनि बाल्छौँ । तर, यसरी मात्र हात्ती नियन्त्रण नहुने रहेछ । खेदाउँदा–खेदाउँदै हाम्रै अगाडि चार–पाँचवटा घर भत्कायो । घरमा रहेको अन्न खायो ।’
कविराजका अनुसार विगतमा राजमार्ग दक्षिणका बस्तीमा हात्ती खासै प्रवेश गर्दैनथे । तर, पछिल्ला केही वर्षयता यो क्षेत्रमा पनि हात्तीले हैरानी दिएको उनी बताउँछन् । सरकारले हात्ती नियन्त्रणका लागि प्रभावकारी काम नगर्दा प्रभावितले पीडा भोग्नुपरेको उनको गुनासो छ ।
जंगली हात्तीले हैरानी दिएपछि हात्तीबाट बच्न रातभर गस्ती गर्नुपरेको शिवसताक्षी आठका खेमराज राईले बताए । ‘हात्तीले आतंक गरेपछि हामी रातभर गस्ती गर्छौँ । गस्तीका लागि साँझ ७ बजेदेखि राति ११ बजेसम्मको समय छुट्याएका छौँ,’ उनले भने, ‘तर, कहिलेकाहीँ त रातभर खेदाउनुपर्छ । गस्ती गरेर फर्किएपछि पनि हात्ती आएको सूचना पाएमा हामी फेरि जान्छौँ ।’
हात्ती खेदाउने क्रममा आतंकित नपारी जंगल नै फर्काउने प्रयास गरिएको शिवसताक्षीका युवा टार्जन लिम्बूले बताए । ‘हात्ती बस्तीमा प्रवेश गरेपछि आतंकित बनाउने हैन । सकेसम्म जंगलबाट आउनै नदिने गरी साइरन बजाएर, गौँडामा आगो बालेर प्रवेश गर्न नदिने गरी हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘हात्तीको संरक्षण पनि गर्नुपर्छ । खेदाउने नाममा उसलाई आतंकित गर्ने गरी ढुंगा हान्ने, पुच्छरमा झुन्डने, पुल्ठो फाल्ने काम गर्नुहुँदैन । हामीले त्यसरी खेदाएका छैनौँ ।’
पछिल्लो समय झापाका विभिन्न बस्तीमा हात्ती प्रवेश गर्ने गरेको छ । खासगरी जंगलसँग जोडिएका स्थानीय तहका बस्तीहरूमा हात्ती प्रवेश गर्ने गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर, हल्दिबारी, भद्रपुर, दमक, कमल, कन्काईलगायतका स्थानीय तह हात्ती प्रभावित क्षेत्र हुन् । विभिन्न जंगलमा करिब ३० रैथाने हात्ती रहेको उनले बताए । यस वर्ष गत वर्षको जस्तो भारतबाट हात्तीको हन्जा (हुल) नेपाल प्रवेश नगरेकाले बस्ती बस्ने हात्ती झापाकै जंगलमा बसोबास गर्ने मात्र रहेको उनी बताउँछन् । ‘जंगलमा घाँसपात हुँदा जंगलमै चर्छन् । बालीनाली फल्ने वेलामा खेतबारीमा जान्छन् । यो सुक्खा सिजनमा चाहिँ घरपसल जाने, भकारीमा आक्रमण गर्नेजस्ता गतिविधि गर्छन्,’ प्रमुख राईले भने, ‘यसपटक बाहिरबाट आएका हात्ती छैनन् । यसका गतिविधि हेर्दा ३० वटा हात्ती छन् । गत वर्षभन्दा यस वर्ष बढेका छैनन् ।’
यस वर्ष झापामा हात्तीले गत वर्षभन्दा कम क्षति गरेको उनले बताए । यद्यपि, स्थानीय तहको सिफारिसमा राहत माग्न दैनिकजसो डिभिजन वनमा पीडितहरू आउने गरेको प्रमुख राईले बताए । अब हात्तीको हन्जा पस्ने सिजन पनि सकिन लागेको उनको भनाइ छ । ‘यसपटक गत वर्षभन्दा क्षति केही कम छ,’ उनले भने । गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट नौजनाको मृत्यु भएको थियो । यो वर्ष पाँच महिनामा तीनजनाको ज्यान लिएको छ ।
प्रमुख राईले हात्तीलाई बस्ती पस्न नदिन डिभिजन वन कार्यालय झापाले वनमा हात्तीलाई मन पर्ने बाँसलगायतका खानेकुरा रोप्ने काम गरिरहेको उनले बताए । ‘हात्ती जंगलमै खेलोस् भनेर केही वनमा पोखरी पनि बनाएका छौँ । बाँस, केरा, इलिफेन्ट एप्पललगायतका खानेकुरा पनि रोपेका छौँ,’ उनले भने, ‘मन्त्रालयमार्फत मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि कार्ययोजना बनाउने काम भइरहेको छ ।’
डिभिजन वनले रेकर्ड राख्न थालेयताको करिब १३ वर्षमा झापामा हात्तीको आक्रमणबाट ७२ जनाको ज्यान गएको छ । यस्तै, रेकर्ड राख्न थालिएको दुई दशकमा २१ हात्ती मारिएका छन् । झापामा कतिपय हात्ती गोली हानेर मारेको अवस्थामा फेला परेका थिए । तर, यो अवधिमा हात्तीको अखेटोपहार ओसारपसारमा संलग्न भएको भन्दै दुईजनालाई मात्र पक्राउ गरिएको छ । उनीहरू पुर्पक्षका लागि जिल्ला कारागार झापामा रहेको प्रमुख राईले बताए । ‘गोली नै हानेर हत्या भएको हात्तीको सन्दर्भमा पनि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हाम्रो समन्वयमा राज्यका अरू निकायले पनि अनुसन्धान गरिरहेका छन् । हामी सिमानामा छौँ । अन्य देशका नागरिकको पनि संलग्नता हुन सक्छ । यस्तो विषयमा अरू निकायको पनि आवश्यकता पर्छ ।’