माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने, बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्।
‘हामी आदर्शका कुरा त धेरैले गर्छौँ, तर व्यवहारमा कसले के गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्त्वपूर्ण हुने रहेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘के हामी भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो त्यसरी गएका छौँ त ? नेपाली समाजले राजनीतिक दलहरू र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’
आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमानदारीका साथ काम गरेको स्मरण गराउँदै उनले भने–, ‘मैले सरकारमा रहँदा जे बोल्थेँ र गर्थेँ, अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन् ।’
जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमानदारी जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु । मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ ।’
नेपालमा राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए । ‘हिजोदेखि आजसम्म नेपाली पत्रकारिता क्षेत्रले सकारात्मक सूचना प्रवाहमा भूमिका निर्वाह गरेको छ, यो स्मरणीय छ । हिजो युद्ध, शान्ति र संविधान निर्माणको प्रक्रियामा यस क्षेत्रले खेलेको भूमिका अवस्मरणीय ठान्छु,’ अध्यक्ष प्रचण्डले भने, ‘यो इतिहासमा राम्रैसँग दर्ज पनि भएको छ ।’
अहिलेको युगलाई नै सूचनाको युग भन्ने गरिएको उल्लेख गर्दै उनले डिजिटलाइजेसनले यो क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको बताए । उनले विश्वव्यापी रूपमा गलत र भ्रामक सूचनाको सञ्जाल विस्तार भइरहेको वेलामा यसले सिर्जना गर्ने चुनौती सामना गर्ने दायित्व पत्रकार महासंघको काँधमा रहेको उनको भनाइ थियो ।
पत्रकारितामा पनि एकनासको अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘श्रमिक पत्रकारका समस्या एकातिर छन् भने अर्कोतिर ठुला मिडिया हाउसहरूले कसलाई बदनाम गर्नुछ योजना नै बनाएर उद्देश्यमूलक रूपमा मेनोबोरिङ गर्ने गरेका छन् । यस्ता बदनियतपूर्ण प्रचारले पत्रकारितालाई बलियो नबनाउने भएकाले पत्रकार महासंघले यस्ता प्रवृत्तिविरुद्ध पनि खबरदारी गर्नुपर्छ ।’