सौर्य भू–इन्जिनियरिङले विश्वका ठुला उत्सर्जकलाई आफ्नो जीवाश्म इन्धनको प्रयोग अन्त्य नगर्ने बहाना प्रदान गर्ने सम्भावना धेरै छ
हामी यस्तो विश्वमा हुर्किरहेका छौँ, जहाँ जलवायु परिवर्तन हरेक ठाउँमा स्पष्ट रूपमा देख्न सकिन्छ । हामी यसलाई आँधीबेहरी आइरहेको र बाढीले हाम्रो समुदायलाई डुबाउँदै गरेको अवस्थाका रूपमा देख्छौँ । हामीले जलवायु परिवर्तनलाई प्रदूषित हावामा महसुस गरिरहेका छौँ, जसले हाम्रो घाँटी र फोक्सो अँठ्याउँछ । हामी अहिले त्यस्तो चर्को गर्मीको लहरमा सडकमा हिँडिरहेका छौँ, जसले हाम्रो छाला डढाइरहेको छ । विश्वका नेता हरेक वर्ष निर्णय, सम्झौता, सन्धि र प्रतिबद्धता गर्न जुट्छन्, तर प्रायः जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र बढ्दो रूपमा यससँग अनुकूलनका लागि आवश्यक कदम चाल्न पर्याप्त पहलकदमी लिन असफल देखिन्छन् । यस अर्थमा यो वर्षको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २९) पनि अपवाद रहेन ।
जलवायु परिवर्तनको यी संकटले केहीलाई हानिकारक हरितगृह ग्यास उत्सर्जन अन्त्य गर्ने, महत्वपूर्ण पारिस्थितिक प्रणाली संरक्षण गर्ने र आर्थिक वृद्धि एवं विकासलाई पुनर्विचार गर्ने कामका लागि उपाय खोज्न प्रेरित गरेको छ । प्रस्तावित एउटा ‘समाधान’का रूपमा सौर्य भू–इन्जिनियरिङलाई लिइएको छ, जसलाई वर्चस्वशाली एवं धनी विश्व राष्ट्र अर्थात् उत्तरी गोलार्धको एक सानो तप्काले बढाइचढाइसाथ जोड दिइरहेको छ । सौर्य भू–इन्जिनियरिङमा पृथ्वीको वायुमण्डललाई परिमार्जन गरी सूर्यको विकिरणविरुद्ध प्रतिबिम्बित अवरोध सिर्जना गर्नु पर्छ । तर, आजका युवा र भविष्यका पुस्ताका लागि यस्ता हस्तक्षेपले जलवायु परिवर्तनजत्तिकै विनाशकारी खतरा उत्पन्न गर्न सक्छ ।
वास्तवमा सौर्य भू–इन्जिनियरिङले पृथ्वीको वायुमण्डललाई परिवर्तन गर्ने काम गर्छ, जसमा पृथ्वीको ‘स्ट्राटोस्फियर’ तहमा सल्फर कणको घुलन गराउने वा समुद्री बादलमा नुनका छिटा छर्कने काम पर्छन्, जसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्छ । तर, यसले जलवायु संकटका मूल कारणको समाधान गर्दैन र अपरीक्षित एवं दीर्घकालीन जोखिम निम्त्याउन सक्छ । यस्तो इन्जिनियरिङले मौसमको ढाँचा बिथोल्न सक्छ, जसले गम्भीर खडेरी, आँधीबेहरी र अन्य चरम मौसमी घटना निम्त्याउन सक्छ, जसका प्रभाव अनिश्चित र असमान हुनेछन् भनेर विज्ञहरूले चेतावनी दिएका छन् ।
वास्तवमा सौर्य भू–इन्जिनियरिङले विद्यमान विश्वव्यापी शक्ति असन्तुलनलाई झनै बढाउनेछ । विशेषतः यसको प्रयोगबारे निर्णय मुख्यतया तिनै उत्तरी गोलार्धका धनी देशले गर्नेछन्, जसले जलवायु संकट सिर्जना गरेका छन् । यी देशले एक घातक समस्या जन्माएका छन्, जसको भार असुरक्षित समुदायले असमान रूपमा व्यहोरिरहेका छन् । र, अब यिनै मुलुकले एक अत्यन्त जोखिमपूर्ण रणनीति प्रस्ताव गरिरहेका छन्, जसले सबैभन्दा सहज परिस्थितिमा पनि समस्या समाधान गर्न सक्दैन । सौर्य भू–इन्जिनियरिङविरुद्ध तमाम आपत्तिका बाबजुद प्रविधि र वित्त क्षेत्रका अर्बपतिबाट यी पहलमा लाखौँ डलर लगानी हुनबाट रोकिएको छैन । यस्ता योजनाका समर्थकका अनुसार यस्ता पहल अस्थायी उपाय हुन्, जसले न्यूनीकरण र अनुकूलनका लागि समय किन्ने अवसर दिन्छ । तर, हाम्रा लागि यी यस्ता बयान खतरनाक दिवास्वप्नजस्तै लाग्छन्, अर्थात् आकर्षक तर भ्रामक लाग्छन् ।
सौर्य भू–इन्जिनियरिङले विश्वका ठुला उत्सर्जकलाई आफ्नो जीवाश्म इन्धनको प्रयोग अन्त्य नगर्ने बहाना प्रदान गर्ने सम्भावना धेरै छ । यसले ‘समाप्ति झट्का’को खतरा झनै बढाउँछ, अर्थात् यदि सौर्य भू–इन्जिनियरिङका प्रयास अचानक रोकिए भने तीव्र तापमान वृद्धि हुनेछ । यसकारण भविष्यका पुस्ता (जसमा आजका युवा पनि पर्छन्) तापक्रमको खतरनाक वृद्धिको चपेटामा पर्नेछन् । र, यसले हामीले अहिले सामना गरिरहेकोभन्दा गम्भीर संकट निम्त्याउनेछ । कमसेकम जलवायु परिवर्तनले माग गरेको आर्थिक र सामाजिक रूपान्तरणको मूल्य हामीले नै चुकाउनुपर्नेछ, किनभने यस्तो रूपान्तरणमा आज पर्याप्त लगानी भइरहेको छैन । सौर्य भू–इन्जिनियरिङका समर्थकले यसलाई ‘सस्तो’ समाधानका रूपमा प्रस्तुत गर्ने प्रयास गर्छन् । तर, पृथ्वीको स्वास्थ्यको सुरक्षा गर्ने र प्रमाणित रूपमा काम गर्ने पहलबाट स्रोतको प्रयोग गर्नु सस्तो आर्थिक व्यवस्थापन मान्न सकिँदैन । यसको सट्टा यसले कार्बन ऋण समाधान गर्ने जिम्मेवारी हाम्रो पुस्ता र त्यसपछि आउने पुस्तामा स्थानान्तरण गर्ने काम मात्र गर्छ ।
तसर्थ हामी सौर्य भू–इन्जिनियरिङमा पूर्ण प्रतिबन्धको पक्षमा छौँ । र, हामी यसमा एक्ला छैनौँ । फ्राइडेज फर फ्युचरसहित दुई हजारभन्दा बढी नागरिक समाज संगठन र पाँच सय ४० भन्दा बढी प्राज्ञले सौर्य भू–इन्जिनियरिङको अन्तर्राष्ट्रिय अप्रयोग सम्झौताको आह्वान गरेका छन् । जलवायु संकटको अग्रपंक्तिमा रहेका देश, अर्थात् भानुआटुजस्ता देशले पनि यस्ता प्रविधि प्रयोगको विरोध गरेका छन् । केही प्रख्यात र निःसन्देह धनाढ्य मतले हामीजस्ता विरोधीलाई संकीर्ण सोच भएको आरोप लगाउँदै सौर्य भू–इन्जिनियरिङमा संवाद गर्न तयार हुनुपर्ने सुझाव दिन सक्छन् । तर, यो विधि पर्याप्त अनुसन्धानद्वारा समर्थित योजनालाई अस्वीकार गर्न ल्याइएको एउटा चाल हो । सौर्य भू–इन्जिनियरिङ अनुसन्धानको पैरवी गर्ने केही वित्तपोषित युवा प्रायः यी विवादास्पद प्रविधिलाई प्रवद्र्धन गर्ने संगठनसँग जोडिएका छन् । यसले यी योजनालाई युवाको समर्थन देखाउन सहकार्य गरिएको भन्ने शंका उत्पन्न गराएको छ । युवाका लागि एक नयाँ संकटको जिम्मेवारी बोझ बोकाउनुभन्दा खराब कुरा अरू के नै हुन सक्छ ? र, सौर्य भू–इन्जिनियरिङले यही बोझ निर्माण गर्ने काम गर्छ । यसलाई अघि बढाउनु भनेको हाम्रो आगामी पुस्तालाई गम्भीर संकटको गर्तमा धकेल्नुसरह हो ।
(सबै लेखक विभिन्न मुलुकका युवा जलवायु अभियन्ता हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट