राष्ट्रपति जिमी कार्टरको विनम्रता, नैतिकता एवं आदर्शवादले आज पनि अमेरिकी सोच र जीवनमा प्रभाव पारिरहेको छ
विनम्रता र आदर्शवादका लागि चिनिने अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा निधन भएको छ । सन् १९३० को दशकमा महामन्दीको समयमा जर्जियाको प्लेन्समा जन्मिएका कार्टरको साधारण बाल्यकालले उनको जीवनलाई गहिरो रूपमा प्रभाव पारेको थियो । बाल्यकालको कठोर अनुभवले सन् १९७७ देखि १९८१ सम्मको उनको ३९औँ राष्ट्रपतिकाललाई उल्लेखनीय रूपमा प्रभावित पारेको थियो ।
किसान, नौसैनिक अधिकारी, राज्यपाल र एक स्वाभिमानी इसाई कार्टर अमेरिकी इतिहासको अशान्त समयमा राष्ट्रपति बनेका थिए । तीन ठुला संकटले सामान्य किसानलाई राष्ट्रपति बनाउन मात्र सहयोग गरेनन्, यिनले अमेरिकी शक्ति र राजनीतिप्रति दशकौँसम्मको धारणालाई पनि प्रभावित गरे । मार्च १९७३ मा भियतनामबाट अमेरिकी फौजको अपमानजनक फिर्ती देशभरको टेलिभिजनमा प्रसारण हुँदा पहिलो संकट आएको थियो । यसले अमेरिकी शक्तिको सीमालाई उजागर गरेको थियो । दोस्रो संकट अक्टोबर सन् १९७३ मा सुरु भएको थियो, जब ओपेकले अमेरिकामाथि तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धले तेलको मूल्य चार गुणाले बढायो । अर्थतन्त्रमा २.५ प्रतिशतको गिरावट आयो र बेरोजगारी तथा मुद्रास्फीतिमा पनि तीव्र वृद्धि भयो । तेस्रो र सबैभन्दा चर्चित संकट वाटरगेट प्रकरण थियो, जसले राष्ट्रपति निक्सनलाई पदको दुरुपयोग गर्दै अपराध गरेको प्रमाण भेटिएपछि पदबाट राजीनामा दिन बाध्य बनाएको थियो । निक्सनका उत्तराधिकारी जेराल्ड फोर्ड, जो सन् १९७६ को राष्ट्रपतीय चुनावमा कार्टरका रिपब्लिकन प्रतिस्पर्धी थिए, तिनले निक्सनलाई पदमा हुँदा गरेको अपराधका लागि माफ गरेका थिए ।
कार्टरको विनम्रता, आदर्शवाद र तीन ठुला अमेरिकी संकटबिच आइओवामा अप्रत्यासित विजयले चर्चामा नआएका जर्जियाका राज्यपाललाई सन् १९७६ को चुनाव जित्न सहयोग पु¥यायो । उनले ह्वाइट हाउस र अमेरिकी विदेशी नीतिमा नैतिकता पुनस्र्थापना गर्ने र अमेरिकी जनतासँग कहिल्यै झुट नबोल्ने प्रतिबद्धता व्यक्त गरेका थिए, जुन धेरै अमेरिकीका लागि अशान्त समयपछि आवश्यक पनि थियो ।
कार्टर पुराना संकटमाझ राष्ट्रपति बनेका थिए र उनको कार्यकालमा पनि विभिन्न संकट थपिएका थिए । केही इतिहासकारले कार्टर ती समस्याका लागि खासै जिम्मेवार नभएको दाबी गरे पनि उनलाई अमेरिकी जनताले रुचाएको देखिएन । २० जनवरी १९७७ मा आफ्नो उद्घाटन भाषणमा कार्टरले पूर्वराष्ट्रपति फोर्डलाई ‘मुलुकलाई निको पार्न गरेका सबै काम’का लागि धन्यवाद दिए । तर, उनले निक्सनलाई माफी दिएकामा कडा आलोचना गरेका थिए । उनले ‘हाम्रा हालका गल्ती’लाई लिएर ‘यदि हामी आफ्नै सरकारको घृणा गर्छौं भने हाम्रो भविष्य उज्ज्वल छैन’ भन्ने धारणा राखेका थिए । र, अमेरिकी जनतालाई ‘फेरि आफ्नै सरकारमाथि गर्व गर्ने’ अवस्था ल्याउने आशा जगाएका थिए । दुई वर्षपछि, तेलको अर्को संकट, उच्च मुद्रास्फीति र मन्दीबिच कार्टरले प्रसिद्ध भाषण दिएका थिए, जसमा उनले ‘आत्मविश्वासको संकट’ र आम जनताले ‘जीवनका अर्थबारे शंका र निराशा’ व्यक्त गरेको भन्दै आलोचना गरेका थिए । यो भाषणलाई कार्टर प्रशासनको एक मोडका रूपमा हेरिन्छ, जहाँबाट कार्टर प्रशासन अघि बढ्न सकेन । निक्सन र फोर्ड प्रशासनको तीव्र आलोचनाले गर्दा सुरुमा कार्टरलाई एक सक्रिय नेताका रूपमा हेरिएको थियो । तर, जब उनी दुई वर्षभन्दा बढी समयसम्म कार्यालयमा रहे, तब ती आलोचनाले आकर्षण गुमाए । र, केहीले यसलाई जिम्मेवारीबाट भाग्ने बहानाका रूपमा बुझे ।
म्यासाचुसेट्सका डेमोक्रेटिक सिनेटर टेड केनेडीले कार्टरको भाषणको आलोचना गर्दै अमेरिकी जनतालाई राष्ट्रिय समस्याका लागि दोषी ठह¥याएको भनेका थिए । चार महिनापछि अर्को संकट उत्पन्न भयो, जब इरानी नेता आयतुल्लाह खोमेनीका समर्थकले ५२ अमेरिकी कूटनीतिज्ञलाई इरानमा बन्धक बनाए । यी कूटनीतिज्ञलाई कार्टरको कार्यकालको बाँकी समयसम्म बन्धक बनाइयो र अप्रिल १९८० मा भएको असफल उद्धार कारबाहीले परिस्थितिलाई झनै जटिल बनायो ।
कार्टरले चीनसँगको सम्बन्ध सामान्यीकरण र इजरायल एवं इजिप्ट सरकारबिच ऐतिहासिक शान्ति सम्झौता क्याम्प डेविड एकर्ड गराएकाले विदेश नीतिमा सफलता हासिल गरेका थिए । तर, अलोकप्रियताका कारण टेड केनेडीले सन् १९८० को पार्टीको (डेमोक्रेटिक) राष्ट्रपति उम्मेदवारका लागि कार्टरलाई चुनौती दिने निर्णय गरे । कार्टरले उम्मेदवारी नगुमाए पनि उनको कार्यकालको असफलताको क्षतिले रोनाल्ड रिगनलाई सन् १९८० को चुनावमा विशाल विजय दिलायो ।
दोस्रो कार्यकाल गुमाएका कार्टरले कैयौँ ढंगले पूर्वराष्ट्रपतिको उदाहरणीय भूमिका निर्वाह गरे । यसमा कूटनीतिक र मानवतावादी प्रयास पर्छन्, जसले उनलाई सन् २००२ को नोबेल शान्ति पुरस्कार जितायो । यति मात्र नभई उनी आफ्ना उत्तराधिकारी (राष्ट्रपति) का प्रखर आलोचक पनि बने । विदेशमा मानव अधिकार प्रवद्र्धन गर्नदेखि लिएर ह्याबिटाट फर ह्युम्यानिटीसँग मिलेर घर बनाउनेजस्ता प्रतिबद्धतालाई प्रेरित गर्ने उनको धार्मिक आदर्शवादले उनको जीवनलाई निरन्तर परिभाषित ग¥यो । यसैगरी कार्टर पहिलो अमेरिकी राष्ट्रपति थिए, जसले मानव अधिकारलाई अमेरिकी विदेशी नीतिको केन्द्रीय अंशका रूपमा प्रस्तुत गरेका थिए । र, मानव अधिकार प्रवद्र्धन उनका उत्तराधिकारीका नीतिमा प्रमुखतासाथ देखिन पनि थाल्यो । उदाहरणका लागि रोनाल्ड रिगनले सन् १९८० को राष्ट्रपति चुनावी अभियानमा कार्टरको मानव अधिकारप्रतिको प्रतिबद्धताको आलोचना गरेका थिए । तर, पछि सोभियत संघको मानव अधिकार उल्लंघनविरुद्ध कडा अडान लिएका थिए ।
अहिलेका अधिकांश अमेरिकी कार्टरको कार्यकाल अन्त्य हुँदा जन्मिएका पनि थिएनन् । नतिजा पूर्वराष्ट्रपति सम्भवतः आफ्नो राष्ट्रपति कार्यकालपश्चात्को जीवनका लागि बढी परिचित छन् । र, कार्टरको सादगी र शासन गर्ने विनम्रता, नैतिकता एवं आदर्शवादले आज पनि अमेरिकी सोच र जीवनमा प्रभाव पारिरहेको छ ।
(मोन्डस्किन सिड्नी विश्वविद्यालयको अमेरिकी अध्ययन केन्द्रका शोध निर्देशक हुन्)
द कन्भर्सेसनबाट