मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ११ बिहीबार o८:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारलाई गति दिन तीनवटा कार्यदल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o८:४३:oo

कांग्रेस–एमालेले सरकारले सोचेअनुसार गति लिन नसकेको निष्कर्षसहित तीनवटा कार्यदल गठन गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको उच्चस्तरीय कार्यदल बैठकमा तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो । जसअनुसार संविधान संशोधन, संसद्मा विचाराधीन विधेयकलाई अघि बढाउन र सरकारको सेवाप्रवाहसँग सम्बन्धित रहेर सुझाव पेस गर्ने गरी छुट्टाछुट्टै कार्यदल बनाइएको हो ।

रमेश लेखक, गृहमन्त्री
संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ, बनेको छैन । संसद्का विधेयक अघि बढाउन नयाँ संयन्त्र बनाइएको होइन, दुईदलीय संयन्त्र सक्रिय बनाएको मात्र हो । सुशासन र सेवाप्रवाह सुधार, आर्थिक गतिविधि बढाउन आवश्यक कानुनलाई परिमार्जन गर्ने गरी अर्को संयन्त्र बनाइएको हो । 

विधेयकमा सहमति जुटाएर आगामी संसद्को अधिवेशनमा पेस गर्न सुझाव दिन गठित कार्यदलमा संसदीय विभागका प्रमुखहरू, प्रमुख सचेतक र सचेतकहरू सदस्य छन् । सरकारको सेवा प्रवाह र सुशासनसँग सम्बन्धित कार्यदलमा कांग्रेसबाट सेमन्त दाहाल, अरुण पौडेल र प्रताप पौडेल सदस्य छन् । एमालेबाट पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, केदार कोइराला र राजेन्द्र घिमिरे सदस्य छन् । संयन्त्रले मन्त्रालयको कामकारबाहीको समेत ब्रिफिङ लिनेछ ।

गृहमन्त्री रमेश लेखकले सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउन दुई दलबिच समन्वयका लागि कार्यदल गठन गरेको बताए । ‘संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको छ, बनेको छैन । संसद्का विधेयक अघि बढाउन नयाँ संयन्त्र बनाइएको होइन, दुईदलीय संयन्त्र सक्रिय बनाएको मात्र हो । सुशासन र सेवाप्रवाह सुधार, आर्थिक गतिविधि बढाउन आवश्यक कानुनलाई परिमार्जन गर्ने गरी अर्को संयन्त्र बनाइएको हो । समग्रमा सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउन आवश्यक काममा दुई दलबिच समन्वयका लागि कार्यदल बनाइएको हो,’ उनले भने ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने विधेयकका विषयमा दुई दलबिच प्रभावकारी समन्वयका लागि शीर्ष नेतृत्वले निर्देशन मात्र दिएको जिकिर गरे । ‘संसदीय कामकारबाहीलाई नियन्त्रण गर्ने गरी हामीले छुट्टै कार्यदल बनाएका होइनौँ । संसद्भित्रको परिभाषित काम र जिम्मेवारीका लागि छुट्टै कार्यदल आवश्यक छैन । नेतृत्वले प्रमुख दुई दलबिच आवश्यक समन्वय गर्ने गरी प्रभावकारी रूपमा परिचालित हुने भनेको हो,’ उनले भने ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यदल गठन भएको जानकारी दिँदै सबै दलसँगको छलफलबाट संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताएका छन् । बुधबार रुपन्देहीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताए ।