मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा डा. सुवासश्री पोखरेल नियुक्त भएका छन्। कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले डा. पोखरेललाई चारवर्षे दोस्रो कार्यकालका लागि बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन्।
नव नियुक्त उपकुलपति पोखरेललाई बुधबार नै कुलपति तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। सोही क्रममा उनले दोस्रो कार्यकालका लागि नियुक्त भएका भिसी पोखरेललाई पहिलो कार्यकालभन्दा अझै राम्रो काम गरेर विश्वविद्यालयलाई गति दिलाउन सफल हुने विश्वास गरे।
शपथग्रहणपछि नवनियुक्त उपकुलपति डा. सुवासश्री पोखरेलले बिहीबार नै विश्वविद्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणका क्रममा उनले आफनै नेतृत्वमा जग हालेको कोशी प्रदेश सरकारको विश्वविद्यालयलाई आगामी चार वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता जनाए।
दोस्रो कार्यकालका लागि नियुक्त भएका उपकुलपति पोखरेलले विश्वविद्यालयको मिसन २०८५ सफल बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। उनकै नेतृत्वमा निर्माण भएको मनमोहनको मिसन, २०८५ रणनीतिमा १८ वटा मुख्य कार्यभार सम्पन्न गर्नुपर्ने रहेका छन्। जसका लागि २० अर्बभन्दा बढी रकम खर्च हुनेछ।
जसमा विभिन्न आधुनिक ल्याबको स्थापना भवनको निर्माण, एक दर्जन निर्देशिका र नियमावली निर्माण, आफ्नै शिक्षण अस्पताल निर्माणदेखि स्नातक र स्नातकोत्तरदेखि पिएचडीसम्मको शैक्षिक कार्यक्रम सञ्चालनलगायत रहेका छन्।