असोज दोस्रो साताको बाढीबाट क्षतिग्रस्त च्यासल रंगशाला तथा फुटबल मैदान प्रयोगविहीन भएको छ । सरकारले वैकल्पिक रंगशालाको रूपमा निर्माण गरेको रंगशाला बेहाल अवस्थामा रहे पनि मर्मतसम्भारको काम अगाडि बढेको छैन । मैदान क्षतविक्षत भएपछि गतिविधि रोकिएका छन् ।
बाढीका कारण सबैजसो संरचना अस्तव्यस्त छन् । रंगशालाको भुइँ तहको सबै सजावट बाढीले तहसनहस पारेको छ । करोडौँ खर्चिएर निर्माण गरेको रंगशालाको प्यारापिटमा समेत क्षति पुगेको छ । बाढीका कारण रंगशालाको मैदानभरि ढुंगा–माटोसहितको फोहोर थुप्रिएको छ । रंगशालामा रहेको टेक्निकल सेन्टरसमेत भताभुंग अवस्थामा छ ।
भ्याटबाहेक २८ करोड खर्चिएर निर्माण भएको रंगशालामा बाढी छेक्ने पर्खाल नलगाएका कारण ठुलो क्षति पुगेको थियो । रंगशालाको पश्चिमतर्फबाट हरेक वर्षजसो बागमती तथा मनोहराको बाढी पस्ने गरेको छ । पछिल्लोपटक असोज दोस्रो साताको बाढीले ठुलो क्षति पुर्याए पनि मर्मतसम्भारको काम सुरु भएको छैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईका अनुसार बाढीका कारण मैदान क्षतविक्षत हुँदा फुटबलसम्बन्धी गतिविधि गर्न कठिन भएको छ । ‘मैदान बनेपछि एक वर्षअघि ए डिभिजन लिगका खेल यहीँ भएका थिए । तर, पछिल्लो समय बाढीले तहसनहस बनायो,’ उनले भने, ‘मैदानमा क्षति पुगेपछि अरूका ग्राउन्ड मागेर खेलकुदका गतिविधि गरिरहेका छौँ ।’ उनका अनुसार यहाँ विदेशीले तालिम गर्ने गर्थे र नेपाली खेलाडीका लागि पनि अभ्यास गर्न सहज थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ फागुन ०७९ मा रंगशालाको उद्घाटन गरेका थिए । रंगशाला निर्माणपछि सहिद स्मारक ए डिभिजन लिगको खेल यहीँ आयोजना भएको थियो । ०७५ देखि राष्ट्रिय खेलकुल परिषद्ले निर्माण थालेको रंगशाला निर्माणको काम पाँच वर्षपछि सकिएको थियो । ०७२ को भूकम्पका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा क्षति पुगेपछि वैकल्पिक रूपमा च्यासल रंगशालालाई निर्माण गर्ने योजना सरकारले बनाएको थियो ।
रंगशाला निर्माण गर्दा १५ हजार दर्शक अटाउने स्टिमेट तयार गरिए पनि आठ हजार दर्शक मात्रै अटाउने गरी निर्माण गरिएको छ । रंगशालाको मर्मतसम्भार तथा भोगचलन अधिकार एन्फालाई छ । करिब ४८ रोपनी क्षेत्रफलको यो रंगशाला ०५९ अघिदेखि एन्फाले प्रयोग गर्दै आइरहेको छ ।
च्यासल रंगशाला निर्माण गर्दा र सञ्चालन गर्दा स्थानीय सरकारसँग समन्वय तथा सहकार्य भएको छैन । पछिल्लोपटक ललितपुर महानगरपालिका– ९ का वडाध्यक्ष राजु महर्जनको टोलीले रंगशालामा थुप्रिएको फोहोर हटाउन र सञ्चालन गर्न एन्फाको ध्यानाकर्षण गराएको छ । ‘रंगशाला निर्माण गर्दा हामीले निकै चासो राखेका थियौँ, वडाले पनि यसमा सहयोग गर्न चाहन्थ्यो, तर वडालाई जानकारी नै दिइएन,’ उनले भने, ‘अहिले रंगशाला जीर्ण छ, मर्मत गर्न एन्फालाई ध्यानाकर्षणसमेत गराएका छौँ ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बाढीले क्षति गरे पनि त्यसको विवरण यकिन गरेर मर्मत गर्ने योजना अघि सारेको बताए । ‘रंगशाला राम्रोसँग चलेको थियो । तर, एक्कासि बाढीले क्षति पुर्यायो, हामीले क्षतिको विवरण यकिन गरेका छौँ,’ उनले भने, ‘अब मर्मतसम्भारको काम सुरु हुन्छ ।’
बाढीको सधैँ जोखिम
रंगशाला खोलाकिनार क्षेत्रमा रहेको छ । नजिकै मनोहरा खोला र बागमतीको संगमस्थल छ । रंगशालाको उचाइ कम भएपछि हरेक वर्षजसो बाढी पस्ने गरेको छ । राखेपका अनुसार रंगशालाको मुख्य चुनौती डुबान समस्या हो । रंगशाला चारपटक डुबानमा परिसकेको छ । ०७८ भदौ, ०७९ भदौ, ०७९ साउन र ०८१ को असोज दोस्रो साता रंगशालामा बाढी पसेको थियो ।