आर्थिक शिथिलताबिच चालू आर्थिक वर्ष ०८१/८२ को मंसिर महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४२ अर्ब दुई करोड रुपैयाँले बढको छ । मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४७ खर्ब २१ अर्ब ९३ करोड पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । गत असार मसान्तसम्म कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो । यो अवधिमा एक खर्ब ५१ अर्ब दुई करोड कर्जा बढेको छ ।
चालू आवको पाँच महिनामा भएको कर्जा प्रवाह वृद्धिदर गत आवको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । गत आवको पाँच महिनामा एक खर्ब दुई अर्ब कर्जा बढेको थियो । गत आवको पाँच महिनासम्म ४४ खर्ब २० अर्ब कर्जा प्रवाह भएको थियो ।
तथ्यांकअनुसार मंसिरको १–७ गतेसम्ममा ६ अर्ब ४७ करोड रुपैयाँ, ८–१४ गतेसम्ममा १३ अर्ब ८४ करोड रुपैयाँ, १५–२१ गतेसम्ममा १० अर्ब चार करोड रुपैयाँ र २२–३० गतेसम्ममा ११ अर्ब ६७ करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ ।
हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । उनीहरूले असुल गर्नुपर्ने कुल कर्जा अर्थात् आउटस्ट्यान्डिङ (बक्यौता)का आधारमा यस्तो देखिएको हो । नयाँ कर्जा प्रवाहको मात्रै तथ्यांक भने तयार गरिएको छैन । मंसिरमा जलविद्युत् परियोजना, निर्माण क्षेत्र, सिमेन्ट उद्योगबाट कर्जा माग भएको बैंकरहरू बताउँछन् । सेयर कर्जा पनि सामान्य बढेको छ ।
मंसिर महिनामा भएको कर्जा प्रवाहलाई बैंकहरूले सकारात्मक रूपमा लिएका छन् । कात्तिकमा कर्जा प्रवाहमा गिरावट नै आएको थियो । तर, कर्जा प्रवाह सन्तोषजनक अवस्थामा पुगिनसकेको नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउँछन् । ‘गएको वर्षको तुलनामा कर्जा प्रवाह केही बढेको छ । तर, सन्तोषजनक अवस्थामा भने अझै पुगेको छैन । अहिले अर्थतन्त्रको चक्र नै प्रभावित भइरहेको छ । त्यसमा सुधार नआएसम्म कर्जाको माग आवश्यकताअनुरूप बढ्दैन,’ उनले भने, ‘सरकारले आवश्यकताअनुरूप पुँजीगत खर्च गर्न नसक्दा पनि अर्थतन्त्र चलायमान हुन सकेको छैन । सरकारले पुँजीगत खर्च बढाउने र निर्माण व्यवसायीको भुक्तानी पनि गरेमा धेरै समस्या समाधान हुने थियो ।’
नेपाल राष्ट्र बैंकले यो वर्ष निजी क्षेत्रतर्फ जाने कर्जा प्रवाह १२.५ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । चालू आवमा ६ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्ने राष्ट्र बैंकको लक्ष्य छ । वाणिज्य बैंकसहित विकास बैंक र वित्त कम्पनीलगायतका वित्तीय संस्थाबाट सोबराबरको कर्जा प्रवाह गर्ने लक्ष्य राष्ट्र बैंकको छ । त्यसमा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा भने वाणिज्य बैंकहरूबाट मात्रै एक खर्ब ५१ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो । मंसिर मसान्तसम्म आउँदा त्यो बढेर ४७ खर्ब २१ अर्ब ९३ करोड पुगेको छ ।
समीक्षा अवधिमा साउनमा दुई अर्ब रुपैयाँ, भदौमा ५३ अर्ब रुपैयाँ र असोजमा ५६ अर्ब रुपैयाँले कर्जा प्रवाह भएको थियो । कात्तिकमा दुई अर्ब रुपैयाँले घटेको कर्जा प्रवाह मंसिरमा ४२ अर्ब रुपैयाँले बढेको छ ।
मंसिरमा ३३.४२ अर्बले बढ्यो निक्षेप
मंसिर महिनामा वाणिज्य बैंकहरूमा भएको निक्षेप ३३ अर्ब ४२ करोड बढेको छ । गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकको निक्षेप ५९ खर्ब तीन अर्ब ५७ करोड रुपैयाँ थियो । मंसिर मसान्तसम्म आउँदा त्यो ५९ खर्ब ३६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
चालू आवको पाँच महिनामा भने निक्षेप एक खर्ब ८२ अर्ब रुपैयाँले बढेको छ । गत असारसम्म यस्तो निक्षेप ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो । त्यसपछि त्यो ३९ अर्ब रुपैयाँले घटे पनि भदौमा ७३ अर्ब रुपैयाँ र असोजमा एक खर्ब ३३ अर्ब रुपैयाँले बढेको थियो । त्यसपछि कात्तिकमा १९ अर्ब रुपैयाँले घटेको निक्षेप मंसिरमा ३३ अर्ब ४२ करोड रुपैयाँले बढेको देखिन्छ ।
ऋण दिन मिल्ने रकम ६ खर्ब ८६ अर्ब
अझै वाणिज्य बैंकहरूमा ऋण दिन मिल्ने रकम भने ६ खर्ब ५६ अर्ब रुपैयाँ देखिएको छ । मंसिर मसान्तसम्म बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.९५ प्रतिशत छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म हुने गरी ऋण दिन पाउँछन् । त्यसअनुसार अझै निक्षेपको ११.०५ प्रतिशतबराबरको रकम बैंकहरूले ऋण दिन पाउँछन् । अहिले वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब ३६ अर्ब ९९ करोड रुपैयाँ छ । त्यसको ११.०५ प्रतिशत रकम ६ खर्ब ५६ अर्ब रुपैयाँ हुनेछ ।