काठमाडौंबाट भारतको नयाँदिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आइसी ८१४ विमान अपहरण भएको २५ वर्ष पुगेको छ । त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार प्रणालीमा धेरै सुधार भए पनि त्यो अझै पर्याप्त नभएको सुरक्षाविद्हरूले बताएका छन् ।
९ पुस २०५६ ( २४ डिसेम्बर १९९९) मा काठमाडौंबाट दिल्लीका लागि उडेको विमान आतंकवादी समूहले अपहरण गरेका थिए । सो घटनापछि नेपालको समग्र सुरक्षामाथि नै अन्तर्राष्ट्रियस्तरबाट प्रश्न उठ्ने मात्र होइन, भारतले त आफ्नो देश जाने यात्रुमाथि छुट्टै जाँचसमेत गर्दै आएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय छविमै धक्का लागेको थियो । विमान अपहरण घटनापछि विमानस्थलको सुरक्षा प्रणालीमा धेरै सुधार भइसकेको प्रहरी अधिकारीहरू बताउँछन् । तर, विमानस्थलमा बारम्बार सुरक्षा चुकका घटना भने दोहोरिरहेका छन् । सरकारका अध्ययन प्रतिवेदनमा पनि विमानस्थलको सुरक्षामा अझै सुधार आवश्यक रहेको भनी उल्लेख छ ।
नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी बमबहादुर भण्डारी दक्षिण एसियामा आतंकवादी समूहहरूको गतिविधि रहेकाले चनाखो हुनुपर्ने बताउँछन् । पहिलेको तुलनामा हाम्रो विमानस्थलको सुरक्षामा धेरै नै सुधार भएको छ,’ उनले भने, ‘तर, दक्षिण एसिया आतकंवादी समूहहरू सक्रिय भएकाले अन्तर्राष्ट्रिय सहकार्य गरी शंकास्पद व्यक्तिमाथि निरन्तर निगरानीको संयन्त्र बलियो बनाउनुपर्छ ।’ विमानस्थलमा अत्याधुनिक प्रविधिको प्रयोगसँगै कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ । हवाई सुरक्षाविद् भरत ढकाल पनि सो अपहरण घटनापछि नेपालको विमानस्थलको सुरक्षामा धेरै सुधार भइरहेको बताउँछन् । ‘शतप्रतिशत राम्रो छ भनेर कतै पनि भन्न सकिन्न । जोखिम सधैँ भइ नै रहन्छ । त्यसकारण हामी अझै चनाखो भइरहनुपर्छ । सुरक्षामा राज्यले लगानी बढाउनुपर्छ,’ उनले भने ।
विमानस्थलमा कार्यरत कर्मचारीहरू आपराधिक समूहसँग मिल्ने गरेकाले यो सुरक्षा प्रणालीको मुख्य चुनौती देखिएको राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारी बताउँछन् । सुन तस्करीलगायत घटना प्रहरी, भन्सारका कर्मचारी तथा विमानस्थलका अन्य कर्मचारीको पनि बारम्बार मिलेमतो देखिएको छ । आपराधिक समूहले त्यस्ता कर्मचारीलाई प्रभावमा पारी गलत काम गर्न सक्ने भएकाले विमानस्थलभित्रको आन्तरिक नियमन र नियन्त्रण प्रणालीमा पनि सुधार आवश्यक रहेको भनेर विभिन्न छानबिन समितिले समेत औँल्याएको छ ।
बारम्बार त्रुटि, छानबिन प्रतिवेदनहरू अलपत्र
डेढ वर्षअघि विमानस्थलबाट बाहिरिएको करिब ६१ केजी सुन बरामद भएपछि सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्यो । तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा गठित कार्यदलले एक वर्ष भदौमै प्रतिवेदन बुझाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । प्रतिवेदनमा विमानस्थलमा अन्तरसमन्वय बढाउने र प्रविधिमार्फत सुरक्षा मजबुत गराउने मुख्य विषय समावेश छन् ।
विमानस्थलको सुरक्षा त्रुटिकै फाइदा उठाएर बारम्बार सुन तस्करी भइरहेको छ । २१ मंसिर ०८० मा बरामद १४ केसी सुन बरामदको अनुसन्धानले घटनाले पनि यसलाई पुष्टि गरेको छ । जसमा नागरिक उड्डयन प्राधिकरणकै कर्मचारीहरूसमेत पक्राउ परे । उनीहरूले महिनौदेखि विमानस्थलबाट सुन पास गराउँदै आएको खुल्यो ।
सवारीसाधनका पार्टपुर्जा तथा विद्युतीय सामानभित्र लुकाएर चिनियाँ समूहले सयौँ केजी सुन तस्करी गरेको बाहिरिएसँगै विमानस्थलको सुरक्षा जाँचपास प्रणालीमा गम्भीर प्रश्न उठेको थियो । २ साउन ०८० मा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले भन्सारबाट बाहिरिएको करिब ६१ किलो सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले एक वर्षदेखि त्यसरी सुन तस्करी गर्दै आएका थिए । सो घटनाले विमानस्थलभित्रको सुरक्षा प्रणाली उदांगिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बारम्बार सुरक्षा त्रुटि हुँदै आए पनि सुधारको पहल भएको छैन । विगतमा पनि विभिन्न अध्ययन समिति बनेका थिए । ९ फागुन ०७९ मा एक युवक तारबारबाट छिरेर विमानसम्म पुगेको घटनामा पनि छानबिन समिति बनेको थियो । अध्यागमन विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद भट्टराई नेतृत्वको समितिले सुरक्षा व्यवस्थापन सुधारका साथै भौतिक संरचनामा पनि सुदृढ बनाउनुपर्ने सिफारिस गरेको थियो । त्यो प्रतिवेदन पनि गृहमै अलपत्र छ ।
विमानस्थलभित्र विभिन्न निकाय भएकाले उनीहरूमाथि नियमन गर्ने संयन्त्र बन्न सकेको छैन । सरकारी, अर्धसरकारी र निजी संघसंस्था गरी विमानस्थलभित्र एक सय ६८ वटा निकाय छन् । अन्तरनिकाय समन्वय र प्रविधिमा कमजोर हुँदा विमानस्थलको सुरक्षामा जोखिम रहेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । भूमिका र जिम्मेवारीको विषयमा प्रस्ट तोकी पासमा कडाइ गर्नुपर्नेमा सिफारिस भट्टराई नेतृत्वको समितिले गरेको थियो । तर, गत वर्षको १४ केजी सुन तस्करीको घटनामा पनि पास दुरुपयोग भएको खुलेको थियो ।
सो समूहले विगतमा पनि पटक–पटक सुन तस्करी गरिसकेको अनुसन्धानमा पुष्टि भयो । विदेशबाट सुन लिएर आउनेले विमानस्थलस्थित शौचालयको डस्टबिनमा सुन राख्ने र त्यहाँका कर्मचारीले पास गराउने गरेको अनुसन्धानमा खुलेको छ । विगतमा गोरे समूहले प्रहरी तथा एयरलाइन्सका कर्मचारीलाई यसैगरी प्रयोग गरी वर्षाैँसम्म सुन तस्करी गराएको पत्ता लागेको थियो । त्यसपछि पनि विमानस्थलको सुरक्षामा सुधार हुन सकेन । विमानस्थलको सुरक्षामा लापरबाही र यस्तो उदासीनताले कुनै दिन गम्भीर किसिमका घटना हुन सक्ने सुरक्षा अधिकारीको चिन्ता छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोगले पनि गत चैतमै सरकारलाई प्रतिवेदन दिएकोमा त्यो प्रतिवेदनमा पनि विमानस्थलभित्र सुधारका विषय औँल्याइएका छन् । इन्डियन एयरलाइन्सको आइसी ८१४ विमान अपहरणपछि भारतले नेपालमा हुने सबै उडान रोकेको थियो । हवाई सेवा सञ्चालनका लागि नेपाल सरकारले गरेको आग्रहमा भारतले यात्रुहरूमाथि छुट्टै सुरक्षा जाँच गर्न पाउनुपर्ने सर्त राखेको थियो । त्यसलाई नेपाल सरकारले स्वीकार गर्यो । जुन प्रक्रिया अहिलेसम्म निरन्तर छ ।
कसरी भएको थियो अपहरण ?
अपहरणको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू तोकिएको समयमा हुन सकेका थिएनन् । इन्डियन एयरलाइन्सको आइसी–८१४ विमानको काठमाडौं–दिल्ली उडान समय दिउँसो २ बजेको तालिका रहेकामा ४ बजे मात्र उडान भयो । १७६ यात्रु बोकेको यो विमान काठमाडौंबाट उडेको केही मिनेटमै ‘हाइज्याकर’को कब्जामा पुग्यो । अपहरण गरिएको जहाजलाई सुरुमा भारतको अमृतसर पुर्याइएको थियो । भारतीय सुरक्षा निकायले त्यहाँ अपहरणमुक्त गराउन सकेन । जहाज त्यहाँबाट लाहोर, दुबई हुँदै अफगानिस्तानको कान्दाहार पुर्याइयो । त्यसक्रममा अपहरणकारीले दुबईमा एक यात्रुलाई चक्कु हानेर हत्या गरेका थिए । तालिबान नियन्त्रित कान्दाहारमा विमान राखेर अपहरणकारीले भारत सरकारसँग ‘बार्गेनिङ’ गरेका थिए । भारतीय जेलमा रहेका आफ्ना नेता मौलाना मसुद अजरसहित तीनजनालाई छुटाएपछि मात्र उनीहरूले विमानका यात्रुलाई मुक्त गरेका थिए ।
२५ वर्षसम्म खुलेन हतियारको रहस्य
विमान अपहरणको घटनाले नेपालको सुरक्षा व्यवस्थाको चर्काे आलोचना पनि भयो । सरकारले विभिन्न छानबिन समिति गठन गर्यो । तर, २५ वर्ष बित्दा पनि अपहरणकारीले कसरी विमान अपहरण गरे भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । घटनापछि सरकारले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको अध्यक्षतामा छानबिन समिति बनाएको थियो । समितिले त्यतिवेला विमानस्थलमा खटिएका प्रहरी, कर्मचारीलगायतसँग सोधपुछ गरेको थियो । ‘तर, विमानसम्म हतियार लैजान अपहरणकारी कसरी सफल भए भन्ने कुरा पत्ता लाग्न सकेन,’ त्यतिवेला नागरिक उड्डयन प्राधिकरणको सुरक्षा महाशाखामा कार्यरत भरत ढकालले भने । विमान अपहरणका लागि हर्कत उल मुजाहिद्दिनले दुई महिनाअघि नै आफ्ना सदस्यहरूलाई काठमाडौं पठाएको थियो । तर, उनीहरूले कसरी विमानसम्म हतियार पुर्याएर अपहरण सफल बनाए भन्ने खुल्न सकेन । छानबिनको क्रममा विमानस्थलमा कार्यरत कुनै कर्मचारी र सुरक्षाकर्मीले उनीहरूलाई सघाएको देखिएन । त्यतिवेला विमानस्थल प्रहरी प्रमुखमा कार्यरत एसपी विनोद सिंह विमान अपहरणमा नेपाली अधिकारीहरूको कुनै गल्ती नभएको दाबी गर्छन् । ‘अपहरणकारीले कसरी हतियार छिराए भन्ने पत्ता लागेन,’ सिंहले भने, ‘विमानमा देखाएको पेस्तोल नक्कली पनि हुन सक्छ, चक्कु भनेर झुक्याएर लगेको पनि हुन सक्छ ।’