धेरै पहिलेको कुरा हो, एक चर्चित गुरु आफ्नो आश्रममा शिष्यहरूलाई शिक्षा दिने कार्यमा लागेका थिए । तर, यहाँ शिक्षा दिने तरिका अन्यत्रभन्दा निकै भिन्न थियो । मौन बसेर नै ज्ञान आर्जन गर्न सकिन्छ भन्नेमा गुरुको विश्वास थियो । उनले त्यसलाई कडाइसाथ पालना गर्दै आएका पनि थिए । त्यसैले, त्यस आश्रममा सबैले मौन रहनुपर्ने नियम थियो । तर, १० वर्ष पूरा भएपछि भने कसैलाई बोल्न आवश्यक परेमा उसले मात्र दुई शब्द बोल्न पाउँथ्यो ।
पहिलो १० वर्ष पूरा गरिसकेपछि एक शिष्य गुरु भएको स्थानमा पुगे । उनको आज १० वर्ष पूरा भयो भन्नेबारे गुरु पनि जानकार थिए । गुरुले शिष्यलाई दुईवटा औँला देखाएर आफ्ना दुई शब्द बोल्न इसारा गरे । शिष्यले भने– खाना नमिठो । गुरुले ‘हो’ भन्ने इसारा गर्दैै शिर हल्लाए ।
त्यसपछि यसैगरी १० वर्ष बित्यो । यसपटक पनि तिनै शिष्य आफ्नो गुनासो लिएर गुरुसमक्ष पुगे । गुरुबाट संकेत पाएपछि उनले भने– ओछ्यान कडा । यसपटक पनि गुरुले ‘हो’ भन्ने संकेत गर्दै शिर हल्लाए । यसै गर्दागर्दै पुनः थप १० वर्ष बिते । यसपटकचाहिँ ती शिष्य आश्रम छाडेर जाने अनुमति लिनका लागि गुरुसमक्ष उपस्थित भए । उनले गुरुलाई भने– मबाट हुँदैन । ‘म जान्दथेँ,’ गुरुले भने र उनले आश्रम छाडेर जान सक्ने संकेत गरे । शिष्यले आश्रम छाडेपछि गुरुले मनमनै सोचे– जसले सानो मौका पाउनासाथ गुनासो मात्र गर्छ, उसले ज्ञान कहाँबाट र कसरी प्राप्त गर्ला ?